अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेको प्रति सरकार गम्भीर : रक्षामन्त्री पूर्णबहादुर खड्का

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ मंसिर २०८०, शुक्रबार
4 Min Read
Aa

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेको प्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ वार्षिकोत्सवको अवसरमा यहाँ आयोजित कार्यक्रममा उपप्रधानमन्त्री खड्काले सर्वसाधारण जनसमुदायलाई कुनै पनि अराजक र उत्तेजक भीडको पछि नलाग्न र सरकारमाथि भरोसा राख्न आग्रह गर्नुभयो ।

“हजारौँ नागरिकको बलिदान र लामो समयको राजनीतिक सङ्घर्षबाट प्राप्त सङ्घीय, लोकतान्त्रिक र गणतन्त्रात्मक शासन व्यवस्थाको अर्को विकल्प छैन, यसमा रहेका कमी कमजोरीलाई सुधार्दै यो व्यवस्थालाई थप सबल, सुदृढ र जनउत्तरदायी बनाउँदै अघि बढ्नु आजको आवश्यकता हो”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो । सरकार अर्थतन्त्रमा देखा परेका समस्या समाधान गर्न पूर्ण प्रतिबद्धताका साथ लागिरहेको बताउनुहुँदै उहाँले चाँडै अर्थतन्त्र सही ट्र्याकमा आउनेमा विश्वास व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री खड्काले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्र र सरोकारवाला सबैसँग रचनात्मक संवाद र सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको उल्लेख गर्नुभयो । “अर्थतन्त्रको समस्यालाई हामीले सामूहिक रूपमा समाधान गर्न सक्छौँ । एकअर्कालाई दोषारोपणभन्दा पनि हामी सबैले आ–आफ्नो ठाउँमा जिम्मेवार भएर दायित्व निर्वाह गर्न सक्यौँ भने अर्थतन्त्र सुधारको लागि महत्त्वपूर्ण सहयोग हुन सक्छ”, उहाँले भन्नुभयो ।

विश्वको अर्थतन्त्र कोरोना महामारी, रुस–युक्रेन युद्ध र इजरायल–प्यालेस्टाइन सङ्घर्षलगायतले विश्व अर्थतन्त्र प्रभावित भइरहेको र नेपाल पनि यसबाट अछुतो नभएको उहाँको भनाइ थियो । यस्तो जटिल र विषम परिस्थितिमा मुलुकमा आर्थिक स्थायित्व कायम गर्दै लगानीको वातावरणमा सुधार गरी आय र रोजगारी बढाउन हामीले हाम्रा सम्पूर्ण प्रयासलाई केन्द्रित गर्नुपर्ने खाँचो रहेको उहाँले बताउनुभयो ।

“बढ्दो आयात र घट्दो निर्यातका कारण हाम्रो अर्थतन्त्र सदैव दबाबमा छ । त्यसमाथि पुँजीगत खर्च अपेक्षाकृत रूपमा हुन नसक्नु र राजस्व परिचालन पनि अपेक्षाकृत रूपमा बढ्न नसक्नुले अर्थतन्त्रलाई लयमा ल्याउन हामीले थप मिहिनेत गर्नुपर्ने स्थिति छ”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “सरकारले लिएको उपयुक्त नीति तथा चालेको सकारात्मक कदमहरूले हालका दिनमा वैदेशिक मुद्रा सञ्चितिमा केही सुधार हुँदै गएको छ ।”

अर्थतन्त्रमा देखिएका सबै समस्या समाधानमा सरकार गम्भीर रहेको उल्लेख गर्नुहुँदै उहाँले सुधारका लागि सरकारले यथासम्भव प्रयास गरिरहेको बताउनुभयो । “सरकारले चालेका कदम र प्रयासका कारण ब्याजदर घट्दो क्रममा छ जसले गर्दा लगानी बढ्ने अपेक्षा गर्न सकिन्छ । घरजग्गा कारोबार र पुँजी बजारमा देखिएको शिथिलता समाधानका लागि सरकारले नीतिगत रूपमै विभिन्न कदमहरू चालेको छ । यसको परिणामस्वरूप यी क्षेत्रमा बिस्तारै सुधारका सङ्केत देखिन पनि थालेका छन्”, उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री खड्काले सरकार लगानीको वातावरणमा सुधार गर्न सुरुदेखि नै कटिबद्ध रहेको बताउनुहुँदै यसका लागि सरकारले निजी क्षेत्र–मैत्री नीति तथा उपायहरू कार्यान्वयनमा ल्याइरहेको बताउनुभयो । “अब निजी क्षेत्रले पनि सरकारले उपलब्ध गराएको लचिलो र अनुकूल नीतिगत संरचना तथा सरकारले तयार गरेका औद्योगिक तथा व्यापार पूर्वाधारहरूको फाइदा उठाउँदै लगानी र रोजगारी वृद्धिमार्फत अर्थतन्त्रको विकासमा थप सहयोग पु¥याउनु पर्दछ भन्ने मलाई लागेको छ । यसका लागि म यसै मञ्चबाट सबैलाई हार्दिक आग्रह गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

उहाँले अर्थतन्त्रमा केही सकारात्मक सङ्केतहरू पनि देखिएको बताउनुभयो । “अर्थतन्त्रमा समस्या मात्र छैन । केही आशा र सुधारका प्रष्ट चित्र पनि देखिएका छन् । पर्यटक आगमन बढ्दो छ, सेवा क्षेत्रमा लगानी बढ्न थालेको छ । विप्रेषण पनि उत्साहजनक छ । सूचना प्रविधि क्षेत्रमार्फत नेपाल भित्रने आम्दानी अर्थतन्त्रको नयाँ आयामको रूपमा देखापरेको छ”, उहाँले भन्नुभयो, “राजस्व बढाउने सन्दर्भमा सरकारले निरन्तर प्रयास गरिरहेको छ । पुँजीगत खर्चलाई उच्च र गुणस्तरीय बनाउन योजनाबद्ध कार्यतालिकामा सरकारले काम गरिरहेको छ ।” सरकारले लगानी बढाउन लगानी सम्मेलनको तयारी गरिरहेको पनि उहाँको भनाइ थियो ।

उपप्रधानमन्त्री खड्काले अर्थतन्त्रमा समस्या देखिएका बेलामा आर्थिक पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । “यस्तो समयमा आर्थिक विषयमा कलम चलाउने तपाईँ पत्रकारहरूको भूमिका अझ निष्पक्ष, वस्तुनिष्ठ र व्यावसायिक हुनुपर्छ भन्ने मलाई लाग्दछ । यहाँहरूले देशको आर्थिक विकासको रथलाई गति दिन आफ्नो ठाउँबाट योगदान गरिरहनु भएकै छ र यसलाई आगामी दिनमा अझै सशक्त बनाउन आग्रह गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

online readio

प्रतिक्रिया दिनुहोस्

Array