स्थानीय सरकारले सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ मंसिर २०८०, शनिबार
1 Min Read
Aa

सल्यान । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा नजिकको सरकारको रुपमा रहेको रहेको स्थानीय सरकारले सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

सल्यानको कपुरकोट गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल सरकारको मुख्य प्राथमिकता सुशासन र सेवा प्रवाहको भएकाले स्थानीय सरकारले सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

सरकारले सुशासन र सेवा प्रवाहमा जोड दिने नीति लिएपछि शैक्षिक सत्र सुरु हुनु अघि नै पाठ्यपुस्तक पुग्न सकेको, मल आपूर्ति सहज भएको, सेवा प्राप्त गर्ने कार्यालयमा लाइन हटेको लगायतका उदाहरण पेश गर्दै उहाँले यसलाई अझै बढाएर लैजानुपर्ने बताउनुभयो ।

स्थानीय सरकारले सुशासन र सेवा प्रवाहलाई मूल मन्त्र बनाउनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले पूर्वाधार निर्माण र विकासका अन्य काम सङ्घीय र प्रदेश सरकारले गर्ने बताउनुभयो । सङ्घीयताले जनताको घर नजिकमा सरकार पुर्याएको उल्लेख गर्दै उहाँले यसबाट जनताले शासन होइन सेवा अनुभूति गर्नुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले राप्ती लोकमार्गको स्तरोन्नति, टेलिफोन सेवा सुधार लगायत विकास निर्माणमा सरकारको प्राथमिकता रहेको स्पष्ट गर्नुभयो ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले गर्नुभएको थियो । गाउँपालिकाका समस्याबारे उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array