संयुक्त राष्टसङ्घसँगको सहकार्यमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध : रक्षामन्त्री खड्का

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० मंसिर २०८०, बुधबार
2 Min Read
Aa

घाना । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्टसङ्घसँगको सहकार्यमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानाको आक्रामा सुरु अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनका क्रममा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो सम्मेलनका अवसरमा आज संयुक्त राष्ट्रसङ्घ मुख्यालय, कार्य सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेले उपप्रधानमन्त्री खड्कासँग शिष्टाचार भेट गर्नुभयो । भेटमा उपमहासचिव खरेले नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि निर्वाह गरेको महत्वपूर्ण योगदानका लागि धन्यवाद दिनुभयो ।

भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको वातावरण नीतिप्रति प्रतिबद्ध रहेको र वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई पहिलो कार्बन तटस्थ प्रशिक्षण केन्द्र बनाउन काम अघि बढाइएको समेत उल्लेख गर्नुभयो । साथै यसका लागि संयुक्त राष्ट्रसङ्घबाट प्राप्त सहयोगका लागि धन्यवाद समेत दिनुभयो । आजै संयुक्त राष्ट्रसङ्घ, शान्ति कार्य विभागका उपमहासचिव जिन पियरर ल्याक्क्रोइक्सले पनि उपप्रधानमन्त्री खड्कासँग भेट गर्नुभयो । त्यस अवसरमा ल्याक्क्रोइक्सले नेपालको योगदानको कदर स्वरूप संयुक्त राष्ट्रसङ्घको मुख्यालय तथा शान्ति मिशनहरुमा समेत नेपाललाई उच्च तहमा थप अवसर प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

भेटमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घका महासचिवको हालै सम्पन्न नेपाल भ्रमणको स्मरण गर्दै महासचिवले ग्लोबल वार्मिङका कारण हिमालमा हिउँ पग्लिँदै गएकाले आगामी दिनमा थपिन सक्ने चुनौती तथा असरबारेमा चिन्तित रहेको र जारी कोप–२८ मा समेत जोडदार रुपमा नेपालले उठाएको स्मरण गराउनुभयो । आजै उपप्रधानमन्त्री खड्कासँग घानाका रक्षामन्त्री मोमिनिक नितिउअलले शिष्टाचार भेट गर्नुभयो । रक्षामन्त्री नितिउअलले नेपालबाट सम्मेलनमा भएको उच्च सहभागिताको प्रशंसा गर्दै नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा खेलेको भूमिकाको सराहना गर्नुभयो । उहाँले कतिपय शान्ति मिशनमा घाना र नेपाली शान्ति सैनिकहरूले मिलेर काम गरेको उल्लेख गर्दै घाना नेपालसँग द्विपक्षीय सम्बन्ध विस्तार गर्र्न र बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्न सधैँ तत्पर रहेको बताउनुभयो । त्यस अवसरमा उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलन आयोजना गरेकोमा धन्यवाद दिँदै नेपाली प्रतिनिधिमण्डललाई उपलब्ध गराइएको आतिथ्यताका लागि कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले त्यस अवसरमा घाना र नेपालबीच द्विपक्षीय सम्बन्ध बिस्तार गर्न पर्यटन, कृषिलगायतका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना रहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array