दक्षिणी भानुआतुमा सात दशमलव एक म्याग्निच्युडको भूकम्प : भूकम्पका कारण सुनामीको चेतावनीसमेत जारी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

सिड्नी । दक्षिणी भानुआतुमा बिहीबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पका कारण सुनामीको चेतावनीसमेत जारी गरिएको छ ।

युएसजिएसले प्रारम्भमा सात दशमलव तीन म्याग्निच्युडको भूकम्प र ३५ किलोमिटर गहिराइमा गएको सूचना दिएको थियो तर तुरुन्तै आफ्नो भनाइलाई संशोधन गरेको छ । उसका अनुसार ग्रिनविच मिनटाइमअनुसार १२ः५६ मा ४८ किलोमिटर गहिराइमा इसाङ्गेल सहरबाट करिब एक सय २३ किलोमिटर दक्षिणमा र राजधानी पोर्ट भिलाबाट तीन सय ३८ किलोमिटर टाढा भूकम्प गएको छ ।

प्रशान्त सुनामी चेतावनी केन्द्रले भनेको छ, “यो भूकम्पका खतरनाक छालहरू भानुआतु र न्यु क्यालेडोनियाको तटमा केन्द्रविन्दुको तीन सय किलोमिटरभित्र आउन सक्छन् ।” भूकम्पबाट क्षतिको तत्काल कुनै समाचार आएको छैन ।

तीन लाख २० हजार जनसङ्ख्या भएको तल्लो द्वीप समूह भानुआतुमा भूकम्प जानु सामान्य हो । यो भूकम्पीय रिङ अफ फायरमा फैलिएको छ । दक्षिणपूर्वी एसिया र प्रशान्त बेसिनसम्म फैलिएको रिङ अफ फायर तीव्र टेक्टोनिक गतिविधिको चाप हो ।

नोभेम्बरमा उत्तरी भानुआतुमा छ दशमलव सात म्याग्निच्युको भूकम्प गएको थियो । वार्षिक विश्व जोखिम प्रतिवेदनअनुसार भानुआतु भूकम्प, आँधीको क्षति, बाढी र सुनामीजस्ता प्राकृतिक प्रकोपका लागि अतिसंवेदनशील देशहरूमध्ये एक हो । एएफपी

प्रतिक्रिया दिनुहोस्

Array