म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनालाई गति दिन निर्देशन : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ मंसिर २०८०, शनिबार
2 Min Read
Aa

म्याग्दी, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनालाई गति दिन निर्देशन दिनुभएको छ । शनिबार म्याग्दी आउनुभएका मन्त्री बस्नेतले सरकारको प्राथमिकता प्राप्त आयोजना भएकाले छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको हो । मन्त्री बस्नेतले भन्नुभयो, ‘‘राहुघाट आयोजनालाई सरकारले प्राथमिकतामा राखेको छ । आयोजना सम्पन्न गर्न ढिला गर्नुहुँदैन । उत्पन्न समस्या समाधान गर्न सरकारले पहल गर्दछ ।’’ रघुगङ्गा गाउँपालिका ३ तिल्केनीचौरस्थित विद्युतगृह निर्माणस्थलको अवलोकन गर्न पुग्नुभएका मन्त्री बस्नेतलाई रघुगङ्गा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले आयोजनाको प्रगतिको बारेमा जानकारी गराउनुभएको थियो ।

मन्त्रीसँगै पुग्नुभएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन निर्माण भइसकेकाले राहुघाट आयोजनालाई ढिला गर्न नहुने बताउनुभयो । आयोजनाको अहिलेसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका प्रोजेक्ट म्यानेजर राजबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुङतर्फ ८९ प्रतिशत, विद्युतगृहतर्फ ६५ प्रतिशत र बाँधस्थलमा ६५ प्रतिशत भौतिक प्रगति भएको विष्टले जानकारी गराउनुभएको थियो ।नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको ६ हजार २७० मिटर लामो सुरुङ मध्य ६ सय ९७ मिटर सुरुङ खन्न बाँकी रहेको विष्टले जानकारी दिनुभयो । अबको ६ देखि ८ महिनाभित्रमा सुरुङको ब्रेकथ्रु हुने उहाँले बताउनुभयो ।

आयोजनाको बाँधस्थल रघुगङ्गा ४ दग्नाम र वडा नम्बर ५ झिँको सिमाना बुग्लमा छ । सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम एकैसाथ अगाडि बढाएको छ । डेढ वर्षभित्र आयोजना सम्पन्न गर्ने गरी निर्माणको कामलाई गति दिइएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array