कर्मालयको दशौं संस्करण कृषि र खाद्य इन्जिनियरिङमा आधारित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ मंसिर २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको क्लब सेन्टर फर अप्लाइड रिसर्च एण्ड रुलर डेभलपमेन्टले आयोजना गर्ने कर्मालयको दशौं संस्करण सुरु भएको छ । इन्जिनियरिङ विधा अन्तरगत विद्यार्थीले हासिल गरेको ज्ञान, सीप र नविनतम सोचहरुलाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कर्मालयको दशौं संस्करणको बिहीबार परिचयात्मक सेसन भएको छ । यो पटकको संस्करणमा ‘कृषि र खाद्यमा इन्जिनियरहरू’ शिर्षक छनौट गरिएको कार्डका सचिब गगन सिंखडाले जानकारी दिए । परिचयात्मक सेसनमा सहभागी ४० विद्यार्थीहरुलाई कार्यक्रमको उद्देश्य, विषय, नियमहरुका बारेमा जानकारी दिइएको थियो ।

चार हप्ता लामो अनुसन्धानमा आधारित ‘कर्मालय’ कार्यशालामा कलेजका विद्यार्थीसँगै बाहिरका विद्यार्थीले पनि आफुले हासिल गरेको ज्ञान र सीपमा आधारित भएर नयाँ सोच तथा योजनाहरु प्रस्तुत गर्नेछन् । ‘कृषि तथा खाद्य क्षेत्रमा खाद्य सुरक्षा, प्राविधिक विकास र सामुदायिक प्रभाव बढाउनको लागि नयाँ सोच र योजनाहरु तयार गर्न यसपटक हामीले कर्मालयको कार्यक्रम तयार पारेका छौं । कृषि र खाद्यलाई प्राविधिक क्षेत्रसँग जोड्ने टुलहरु प्रतियोगीहरुले प्रस्तुत गर्नुहुनेछ ।’ कार्डका सचिब सिंखडाले भने ।

१० औं कर्मालयमा १० वटा समुहले सहभागीता जनाउने छन् । प्रत्येक समुहमा दुईदेखि पाँच जना विद्यार्थीहरु रहनेछन् । प्रतियोगितामा भाग लिने समुहमा कम्तिमा एक जना नेकको विद्यार्थीको सहभागीता हुनु आवश्यक छ । यसपटकको संस्करणलाई भब्य र प्रभावकारी बनाउन राष्ट्रिय आविश्कार केन्द्र र राष्ट्रिय कृषि अनुसन्धान परिषद्सँग सहकार्य गरिने सचिब सिंखडाले बताए । ‘विद्यार्थीहरुले प्रस्तुत गरेको नविनतम सोच र आइडियाहरुमा काम गर्नका लागि ती सोच र आइडियाहरु कसैसँग मेल नखावोस् भनेर राष्ट्रिय आविश्कार केन्द्र र कृषि अनुसन्धान परिषद्सँग सहकार्य गर्ने योजना बनाएका छौं ।’

प्रतियोगिताको फाइनल आगामी पुस मसान्तमा हुनेछ । फाइनलमा १० वटा समुहले आफ्नो प्रस्तुति दिनेछन् । विजयी प्रतियोगितालाई मेडल, प्रमाणपत्र ट्रफीसँगै नगद पुरस्कार दिइनेछ । नवौं संस्करणको विजेता प्याड भेन्डिङ मेसिन रहेको थियो ।

सन् २००८ बाट सुरु भएको कर्मालयलाई नेपाल इन्जिनियरिङ कलेजले सहयोग गर्दै आइरहेको छ । यो पटक क्लबको १५ औं वार्षिकोत्सव समेत रहेकाले भब्यताका साथ कर्मालय सम्पन्न गर्ने क्लबको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array