अवैध लागूऔषधसहित नौ जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ मंसिर २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं, कैलाली, टिकापुर नगरपालिका-९ खग्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने रमेश साउद र सोही नगरपालिका-१ बस्ने २७ वर्षीय पदम राज भण्डारी रहेका छन् । उनीहरूले लागूऔषध सेवन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ   ईलाका प्रहरी कार्यालय टोकापुरबाट खटिएको प्रहरीले साउदको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।

बर्दिया, बासगढी नगरपालिका-३ पुष्पनगरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्राम १ सय ५० मिलिग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २७ वर्षीय रबिन कुमार थारु र २५ वर्षीय सुरज कुमार चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले भे.१० प १९८८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७० मिलिग्रामसहित मधुवन नगरपालिका-८ बस्ने २३ वर्षीय प्रमोद थारुलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ३३ मिलिग्रामसहित सुनसरी दुहवी नगरपालिका-३ बस्ने ३३ वर्षीय राजन कुमार सरदारलाई बिहीबार बुलेकी प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सरदारलाई लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, दमक नगरपालिका-७ स्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५१ ग्रामसहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ३५ वर्षीय प्रकाश श्रेष्ठ, २३ वर्षीय अर्जुन लिम्बु र उनकै श्रीमती २७ वर्षीया मनिसा लिम्बु रहेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले पशुहाटबाट बेलडागीतर्फ जाँदै गरेको को.१ ह ९७४५ नम्बरको अटोलाई जाँच गर्ने क्रममा चालक श्रेष्ठ समेत उनीहरूलाई डिक्कीमा लुकाई राखेको अवस्थामा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array