भारतको पश्चिमी क्षेत्रमा ड्रोन र विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा आइतबार भएको विस्फोटमा परी कम्तीमा नौ जना कामदारको मृत्यु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ पुष २०८०, सोमबार
1 Min Read
Aa

भारत, नयाँदिल्ली। भारतको पश्चिमी क्षेत्रमा ड्रोन र विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा आइतबार भएको विस्फोटमा परी कम्तीमा नौ जना कामदारको मृत्यु भएको सरकारले जनाएको छ । महाराष्ट्र राज्यको नागपुर शहरमा रहेको सोलार इन्डस्ट्रिज इन्डियामा कामदारहरू प्याकिङ क्षेत्रमा रहेका बेला विस्फोट भएको थियो । “नागपुरको सोलार इन्डस्ट्रिजमा भएको विस्फोटमा छ महिलासहित नौ जनाको मृत्यु भएको र यो अत्यन्त दुर्भाग्यपूर्ण छ,” राज्यका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा लेख्नुभएको छ । कम्पनीले देशको रक्षा बलका लागि ड्रोन र विष्फोटक पदार्थ उत्पादन गर्ने गरेको उहाँले बताउनुभयो ।

दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले छ हजार अमेरिकी डलर उपलब्ध गराउनेभएको छ । घटनामा कम्तीमा तीन जना कामदार घाइते भएको घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । भारतमा औद्योगिक विपत्तिहरू सामान्य छन् । यसका लागि विशेषज्ञहरूले खराब योजना र सुरक्षा नियमहरूको फितलो कार्यान्वयनलाई दोष दिन्छन् । गत वर्ष बिहारको पूर्वी राज्यमा अवैध रूपमा पटाका उत्पादन भइरहेको एक घरमा विस्फोट हुँदा ११ जनाको मृत्यु भएको थियो । सन् २०२१ मा दक्षिणी तमिलनाडु राज्यको एक पटाका कारखानामा भएको विस्फोटमा १९ जनाको मृत्यु भएको थियो ।एएफपी

प्रतिक्रिया दिनुहोस्

Array