निर्दोष व्यक्ति लामो समय थुनामा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने : न्यायाधीश सुनिलकुमार पोखरेल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ पुष २०८०, सोमबार
3 Min Read
Aa

काठमाडौँ, सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलले आफू न्यायाधीश नियुक्त भएमा निर्दोष व्यक्ति लामो समय थुनामा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ ।संसदीय सुनुवाइ समितिको बैठकमा सोमबार आफ्नो अवधारणापत्र तथा कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश पोखरेलले न्यायाधीशको समयको कारणले निर्दोष व्यक्ति थप थुनामा रहनुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको हो ।उहाँले न्याय सम्पादन गर्दा पहिलो प्राथमिकता राज्यलाई, दोस्रो प्राथमिकता व्यक्तिलाई र तेस्रो प्राथमिकता सरकारलाई दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले न्याय सम्पादनका क्रममा आफू समक्ष आएका विवादलाई नपन्छाउने बताउनुभयो । त्यस्तै, कसैप्रति पूर्वाग्रह नराखी, संविधान कानुन र न्यायका मान्यताहरूका आधारमा निर्णय लिने पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले आफ्नो न्यायिक मन र विवेकमा प्रश्न उठाउने वातावरण नबनाउने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘न्याय सम्पादनका क्रममा देहायका आधारमा कहिल्यै विचलित नहुने भन्ने म प्रतिबद्धता गर्न चाहन्छु । नेपालको संविधान, कानुन, विधि शास्त्रीय मान्यता, सर्वोच्च अदालतबाट प्रतिपादित नजिर र असल अभ्यास । नागरिकका आधारभूत र मौलिक हक प्रत्याभूत गर्ने सवालमा राज्यले अन्तर्राष्ट्रिय मञ्चमा जनाएको प्रतिबद्धता, सर्वोच्च अदालतबाट निरन्तर कार्यान्वयनमा रहेको रणनीतिक योजनाको लक्ष्य, न्यायाधीशको पेसागत आचारसंहिता, न्यायिक नेतृत्वले लिएको लक्ष्य र प्राप्त सुझाव, आम नागरिकको न्यायमा पहुँच पुर्‍याउन सक्ने असल अभ्यास, संविधानमा प्रचलित कानुनले कोरिदिएको सीमा, पेशी तोकिएको मुद्दामा न्यायाधीशको समयको कारणले निर्दोष व्यक्ति थप थुनामा रहनुपर्ने अवस्थाको अन्त्य र न्याय सम्पादन गर्दा पहिलोमा राज्य, त्यसपछि व्यक्ति र त्यसपछि सरकारलाई प्राथमिकतामा राखिनेछ र यो तीनैवटा सबको समान दूरीमा राखेर मुद्दाको सुनुवाइ गरिनेछ भन्ने कुराको प्रतिबद्धता जारी गर्न चाहन्छु । न्याय सम्पादनका क्रममा आफू समक्ष आएका विवादलाई नपन्छाई, कसैप्रति पूर्वाग्रह नराखी, संविधान कानुन र न्यायका मान्यताहरूका आधारमा निर्णय लिनेछु भन्ने कुरामा दृढ छु ।’’

उहाँले भन्नुभयो, ‘‘न्यायाधीशको निर्णयबाट एउटा पक्षको हार र अर्को पक्षको जितको अवस्था स्वाभाविक हुन्छ । यो जित र हारको अवस्था न्यायाधीशको इच्छामा नभई संविधान, कानुन र प्रमाणको आधारमा तय हुन्छन् भन्ने अनुरोध गर्न चाहन्छु । यस्तो अवस्थामा मुद्दाका पक्षहरूले न्याय सम्पादन गर्ने न्यायाधीशमाथि न्यायिक मन र विवेकमा प्रश्न उठाउने वातावरण बन्न हुन्न भन्ने म सदैव सचेत रहन चाहन्छु । यस्तो अवस्था आइहाल्यो भने न्यायको संरक्षण गर्नु जनप्रतिनिधिमूलक संस्था, संसद् र राज्यको चौथो अङ्गको रूपमा रहेको प्रेस जगतको पनि दायित्व हो भन्ने मलाई लागेको छ । यस समितिले न्यायाधीशको रूपमा मेरो नाम अनुमोदन गरेमा नेपालको संविधान, कानुनले अङ्गीकार गरेको मूल्य र मान्यतालाई शिरोधार्य गरी सर्वोच्च अदालतको न्यायाधीशको रूपमा न्यायाधीशको भूमिकामा दृढ निश्चयी भई काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । न्यायपालिकाको जनआस्था अभिवृद्धि र देखिने किसिमले न्याय सम्पादन गर्दै न्यायको स्वच्छता र निष्पक्षताको कसिमा अब्बल साबित हुने इमान्दार प्रयास गर्नेछु ।’’

प्रस्तावित न्यायाधीश पोखरेलले संविधान, कानुनले अङ्गीकार गरेको मूल्य र मान्यतालाई शिरोधार्य गरी काम गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले न्यायपालिकाको जनआस्था अभिवृद्धि र देखिने किसिमले न्याय सम्पादन गर्दै न्यायको स्वच्छता र निष्पक्षताको कसिमा अब्बल साबित हुने इमान्दार प्रयास गर्ने पनि उल्लेख गर्नुभयो ।

gorkhapatraonline

प्रतिक्रिया दिनुहोस्

Array