अभ्यास “शान्ति प्रयास” सञ्चालन हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ पुष २०८०, मंगलवार
2 Min Read
Aa

काठमाण्डौ , शान्ति स्थापना कार्यमा सहभागी हुने फौजको पेशागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता अभिवृध्दी गर्ने उद्देश्यले नेपालमा वहुराष्ट्रिय अभ्यास शान्ति प्रयास को चौथो संस्करण आयोजना हुने भएको छ । नेपाली सेनाले आयोजना गर्ने यो अभ्यास मिति २०८० फाल्गुण ०८ गतेबाट २१ गतेसम्म सञ्चालन हुनेछ । संयुक्त राज्य अमेरिकी सरकारको Global Peace Operation Initiative (GPOI) को सहयोगमा सञ्चालन हुने अभ्यासको पूर्व तयारी स्वरुप गत मङ्गसीर २५ गतेबाट २९ गतेसम्म श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा नेपाल, अमेरिका, अस्ट्रेलिया लगायतका देशहरुका प्रतिनिधिहरु सम्मिलित Planning Conference सञ्चालन भएको थियो ।

  नेपाल, बङ्गलादेश, श्रीलङ्का र संयुक्त राज्य अमेरिकाका सैनिकहरू सम्मिलित भई नेपालमा सन् २००० मा पहिलो पटक अभ्यास शान्ति प्रयास-I सञ्चालन भएको थियो यस्तै, सन् २०१३ मा २३ राष्ट्रका ८५० सैनिकहरू र सन् २०१७ मा २९ राष्ट्रका ११३५ सैनिकहरू सम्मिलित भई यसको दोस्रो र तेस्रो संस्करण सञ्चालन भई सकेको छ ।

  अभ्यास शान्ति प्रयासको चौथो संस्करणमा नेपाल सहित २२ राष्ट्रका सैनिकहरूको सहभागिता रहने प्रारम्भिक योजना छ । अभ्यासमा Staff Training Event (STE), Field Training Event (FTE), Critical Enabler and Capability Enhancement (2CE) गरी ३ किसिमका गतिविधिहरु समावेश हुनेछन् । यस्तै, सोही अवधिभित्रै शान्ति कार्य सम्बन्धी Regional Training Seminar पनि आयोजना हुनेछ ।

  यस प्रकारको अभ्यासबाट शान्ति स्थापना कार्यमा देखा परेका चुनौतीहरूको बारेमा सहभागी राष्ट्रका सैनिकहरु अवगत हुनुको साथै ती चुनौतीहरु सामना गर्न आवश्यक क्षमता एवं समान व्यवसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array