अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ पुष २०८०, बिहीबार
3 Min Read
Aa

काठमाडौं,   कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोक स्थित होटल डाँफेमुनालबाट अवैध लागूऔषध ब्राउन सुगर ३ ग्राम ५ मिलिग्रामसहित झापा धुलाबारी नगरपालिका-१० घर भएका ३० वर्षीय सबिन अलीसमेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त होटलको कोठा नम्बर १०२ मा लागूऔषध कारोबार भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा अलीको साथबाट उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-९ शिवटोल डेरा गरी बस्ने नुवाकोट घर भएका ४१ वर्षीय राजेन्द्र श्रेष्ठलाई अवैध लागूऔषध गाँजा १ किलो ३ सय ग्रामसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको कोठामा गाँजा बेचबिखन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजार र बैदामबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

  सप्तरी, कंचनरुप नगरपालिका-२ बरमझियास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी ३ सय ग्रामसहित उदयपुर बेलका नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा प्र.२-०२-००२ प ९५२९ नम्बरको मोटरसाइकललाई नम्बर प्लेट नभएको मोटरसाइकलले ठक्कर दिई दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले नम्बर प्लेट नभएको मोटरसाइकलमा सवार ती किशोरलाई उक्त गाँजासहित पक्राउ गरेको हो । हाल फरार उक्त मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । साथै दुर्घटनामा घाइते भएका प्र.२-०२-००२ प ९५२९ नम्बरको मोटरसाइकलमा सवार २ जनाको स्थानीय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचार भइरहेको छ ।

सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिद भूमि गाउँपालिका-४ बस्ने ३२ वर्षीय निजम राई र दाङ राप्ती नगरपालिका-९ बस्ने बिशाल थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

   बर्दिया, राजापुर नगरपालिका-४ राजापुर बजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम र नगद ७७ हजार ७ सय रूपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ राजापुर बस्ने ३१ वर्षीय साजन कुरेशी र ३३ वर्षीय विष्णु श्रेष्ठ रहेका छन् । विष्णु श्रेष्ठको भान्सा कोठामा लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो  ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array