प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट जिल्ला प्रहरी कार्यालय बाजुरामा नवनिर्मित भवनहरू उद्‍घाटन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ पुष २०८०, सोमबार
2 Min Read
Aa

बाजुरा,   प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय बाजुरा परिसरमा नवनिर्मित कार्यालय, निवास, ब्यारेक, हिरासत कक्ष तथा मेश भवनहरूको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो ।   कार्यक्रमको अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नयाँ भवनबाट सम्पादन हुने प्रहरी कार्य पनि थप उर्जामय, नविन सोच र उच्चस्तरको हुनुपर्ने चर्चा गर्दै नागरिकको सुरक्षामा अझ बढी मेहनत र व्यवसायिकताको साथ प्रस्तुत हुनुपर्ने बताउनुभयो । नागरिकमैत्री, सेवामुखी भावका साथ सम्पूर्ण स्थानीयवासीहरूले भय र त्रासरहित वातावरणमा आ-आफ्नो दैनिक क्रियाकलाप, उद्योग, व्यापार, रोजगार तथा व्यवसाय गर्न पाउने वातावरण निर्माणमा अहोरात्र कटिबद्ध रहन उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले समाजमा अशान्ति र अराजकता फैलाउने उच्श्रृंखल तथा आपराधिक समूह, सामाजिक हित विपरीतका गैरकानूनी र अनैतिक कार्य गर्ने विरूद्ध खरो रूपमा प्रस्तुत भई कुनै किसिमको दवाव र प्रभावमा नपरी शून्य सहनशिलताका साथ कार्य सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । नागरिकसँगको उचित समन्वय र सहकार्यमा कानून विपरीतका गतिविधि नियन्त्रण गरी समाजमा प्रभावकारी शान्ति सुरक्षा व्यवस्था कायम गर्न सकिने उल्लेख गर्दै स्थानीय जनसमुदायलाई प्रहरीसँग निरन्तर समन्वय, सहकार्यको लागि उहाँले आग्रह समेत गर्नुभयो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी भिम कान्त पौडेल र बडिमालिका नगरपालिकाका प्रमुख अम्मर खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array