वन्यजन्तुको संरक्षण र पर्यटनलाई संगसंगै अगाडी बढाउनुपर्छ— अध्यक्ष तिमिल्सिना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ पुष २०८०, बिहीबार
2 Min Read
Aa

चितवन, पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा रत्ननगर महोत्सवको १२औं संस्करण विहीबारदेखि सुरु भएको छ । महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक भब्य समारोहका बीच उद्घाटन गर्नुभयो । महोत्सब उद्घाटजन गर्दैै अध्यक्ष तिमिल्सिनाले वन्यजन्तुको संरक्षण र पर्यटनलाई संगसंगै बढाउनुपर्ने धारणा राख्नुभयो । वनजंगल र वन्यजन्तुको संरक्षण संगै पर्यटन र वन क्षेत्रबाट लिन सकिने नाफा लिन सकेमा मात्रै त्यसले आर्थिक क्षेत्र बलियो हुने धारणा उहाँको थियो । ‘निकुञ्जको संरक्षण र जिल्लाको पर्यटनलाई संगसंगै अगाडि बढाउनुपर्छ।’उहाँले भन्नुभयो‘मानव र वन्यजन्तु बीचको द्बन्द्ब न्यूनीकरण गर्दै स्थानीय समुदायको जीविकोपार्जन तथा पर्यटनबाट आर्थिक लाभ लिनुपर्छ ।’
संरक्षणलाई पर्यटनसंग जोडेर आर्थिक विकासका गतिविधि बढाउन सबैलाई उहाँको आग्रह छ । चितवनमा रेलमार्गको सम्भावना रहेको भन्दै उहाँले वन र वन्यजन्तुलाई असर नपर्ने गरि रेलमार्ग निर्माणको कामलाई अगाडि बढाउनुपर्छ भन्नुभयो । ‘निकुञ्जलाई असर गर्छ भनेर रेलमार्ग निर्माणको काम रोकिनु हुँदैन’ उहाँले भन्नुभयो ‘दुरगामी प्रभाव पर्ने काम हो अगाडि बढाउनु पर्छ ।’
आर्थिक मन्दीका बेला रत्ननगरका व्यवसायीले महोत्सव गर्ने आँट गर्नु चानचुने कुरा नभएको भन्दै उहाँले रत्ननगर महोत्सवले चितवनको आर्थिक क्षेत्र चलायमान गराउने विश्वास व्यक्त गर्नुभयो । सरकार र नीजि क्षेत्रको सहकार्यमा आर्थिक संकट अन्त्यको लागि पहल सुरु गर्नु पर्ने बताए । भूकम्प र कोरोना महामारीपछि मुलुकको आर्थिक प्रणालीमा असर परेका कारण आर्थिक संकट पैदा भएको भन्दै उनले यसको अन्त्यको लागि सबै क्षेत्र जिम्मेवार हुनुपर्ने बताउनुभयो । मुलुकमा आर्थिक संकटको असर चौतर्फी रुपमा रहेको छ उहाँले भने संकटको सामधानको लागि राज्य चनाखो हुनुपर्छ भन्नुभयो । कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहेको महोत्सब आयोजक समितिका संयोजक तथा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो । यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ । विगतमा जस्तै महोत्सव अन्तर्गत पौष २९ देखि ४ गते सम्म ५ दिन रत्ननगरको सौराहाचोक वसपार्कमा विभिन्न जनजातीहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकार सहित पाँचौं रत्ननगर सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array