मेलम्चीको पानी माघ १ गतेबाट वितरण गरिने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ पुष २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं | गत बुधबार देखि काठमाडौंका लागि पथान्तरण गरिएको पानी आज सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा आउन शुरु गरेको छ ।बाढीका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा आएसँगै प्रशोधन प्रक्रिया शुरु भएको र माघ १ गतेबाट उपभोक्ताको धारामा वितरण गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ । सुन्दरीजल पानी प्रशोधन केन्द्रको अवलोकनका क्रममा खानेपानी मन्त्री महिन्द्रराय यादवले पानीको सन्तुलित वितरण प्रणालीलाई व्यवस्थित बनाउन निर्देशन दिनुभयो ।

मन्त्री यादवले काठमाडौं बासीलाई १२ अ‍ैं महिना स्वच्छ पानी खुवाउने सरकारको संकल्प पुरा गर्न स्थानीय पानीका श्रोतको व्यवस्थापन र मेलम्ची दाश्रो चरणको आयोजना कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो । मन्त्री यादवले स्थानीय तहसँग छलफल गरेर जनसंख्याका आधारमा पानी वितरणका लागि गृहकार्य भइरहेको उल्लेख गर्नुभयो । आगामी वर्षायाम अघि नै शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेका स्थानीय श्रोतबाट दैनिक ११ करोड लिटर पानी थप गर्नका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको मन्त्री यादवले जानकारी दिनुभयो । जलवायु परिवर्तनका कारण खानेपानीको समस्या बढ्दै गएको अवस्थामा थोपा थोपा पानीको संरक्षण गरी आधुनिक मिटर प्रणाली प्रयोगमा ल्याउन आवश्यक रहेकोमा मन्त्री यादवले जोड दिनुभयो । खोनपानी मन्त्रालयका सचिव सुरेश आचार्यले चुहावट नियन्त्रण गरी व्यवस्थित तालिका बनाएर क्षेत्रगत रुपमा पानी वितरण गरिने बताउनुभयो ।

सचिव आचार्यले आगामी वर्षा याम भन्दा अघिसम्म पूर्ण क्षमतामा पानी वितरणको व्यवस्थाका लागि अम्बाथाङ, ग्याल्थुङ, सिन्धु र सुन्दरीजलमा आवश्यक सतर्कताका साथ तयारी गरिएको जानकारी दिनुभयो ।यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएअनुसार आज मेलम्चीको पानी सुन्दरीजल आइपुगेको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो । सुरुङ मार्फत पूर्ण क्षमतामा मेलम्चीको पानी आउन शुरु गरे पछि आगामी माघ ४ गतेदेखि दैनिक १७ करोड लिटर पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट काठमाडौं पठाउन सकिने र दीर्घकालिन रुपमा काठमाडौंमा खानेपानीको समस्या समाधानका लागि मेलम्चीको दाश्रो खण्ड याङ्री र ल्यार्केको तत्का अघि बढाउन आवश्यक रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array