बाह्य युद्धमा नेपालीको संलग्नता रोक्न प्रष्ट कानून बनाउन आग्रह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ माघ २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं । २०२२ फेव्रवरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि शुरु भएको रुस युक्रेन युद्ध दुई वर्ष पुग्न लाग्दा पनि रोकिएको छैन । युरोपबाट शुरु भएको युद्धको डढेलो पश्चिम एशिया हुँदै दक्षिण एशियासम्म सरिसकेको छ । इजरायल र हमासबिचको युद्धले पश्चिम एशिया त्राहीमाम छ भने अमेरीकी गठबन्धन र यमनको अधिकांश भाग कब्जा गरेको हुथीबीच (पश्चिमद्वारा आतंकवादी घोषित) आक्रमण प्रत्याक्रमणले रक्तसागर क्षेत्र अशान्त छ । यसैबिच इरानले पाकिस्तानको सीमावर्ती बलुचिस्तानमा गरेको आक्रमण र पाकिस्तानले गरेको प्रत्याक्रमणले युद्धको बाछिटा दक्षिण एशियासम्म आइपुगेको छ । युद्ध विस्तारित हुँदै जानु विश्व शान्ति र मानव सभ्यताका लागि गम्भीर खतरा रहेको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ ।
रुस युक्रेन युद्ध शुरु भएपछि मानव अधिकार तथा शान्ति समाजले तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न आह्वानसहित विशेष अभियान सञ्चालन गरेको थियो । युद्धको प्रारम्भिक चरणमै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले सो युद्धमा नेपालीहरु सैन्य प्रयोजनमा दुरुपयोग हुनसक्ने संभावना औल्याउँदै त्यस्तो संभावनालाई रोक्न सार्वजनिक तवरमै आग्रह गर्नुभएको स्मरणीय छ जुन अहिले सत्य सावित भएको छ । रुसी सेनामा भर्ती भएका दर्जन बढी नेपाली मारिएको तथ्य प्रकाशमा आएको छ भने सय बढी वेपत्ता भएको बताइन्छ । पछिल्लो चरणमा पूर्वी एशियामा बढ्दो तनाव (उत्तर र दक्षिण कोरियाबिच द्वन्द, उत्तर कोरिया र जापानबिच तनाव, चीन र ताइवानबिच बढ्दो द्वन्द)का सन्दर्भमा पनि नेपालीहरु सैन्य प्रयोजनमा दुरुपयोग हुनसक्ने आशंका शान्ति समाजकै मञ्चमा व्यक्त भइसकेको छ । तसर्थ बाह्य युद्धमा नेपालीको संलग्नता रोक्नका लागि प्रष्ट कानून बनाउन सम्वद्ध निकायको ध्यानाकर्षण गराउँदै नेपालको पराराष्ट्र नीतिको केन्द्रविन्दुमा सदैव शान्ति र अहिंसा रहनुपर्छ भन्ने धारणा शान्ति समाज सबैलाई स्मरण गराउँछ ।

प्रतिक्रिया दिनुहोस्

Array