राजनीतिक परिवर्तनपछि अब आर्थिक समृद्धि र पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राख्नुपर्ने : अर्थमन्त्री डा प्रकाशशरण महत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ माघ २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले राजनीतिक परिवर्तनपछि अब आर्थिक समृद्धि र पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै डा महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किएकाले अब पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

“देशको अर्थतन्त्र समस्यामा थियो, बिस्तारै सुधार हुँदैछ । हामीले धेरै राजनीतिक आरोह–अवरोह पार गरिसक्यौँ, राजनीतिक पूर्वाधार तयार पारिसक्यौँ । अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ । यो पूर्वाधार हामी तयार पार्न सक्छौँ भन्ने कुरामा विश्वस्त छौँ” मन्त्री डा महतले भन्नुभयो, “हाम्रो आर्थिक सूचकाङ्क सकारात्मक छन् । मूल्यवृद्धि नियन्त्रणमा छ । ब्याजदर घटिरहेको छ । शेयर बजारमा सुधार भइरहेको छ । आर्थिक गतिविधि पनि बिस्तारै चलायमान बन्दै गएको छ ।” । मुलुकलाई आर्थिक गति दिनका लागि स्पष्ट मार्गचित्र बन्दै गएको अर्थमन्त्री महतको दाबी छ ।

अर्थतन्त्रमा शिथिलता देखिएका कारण बजार चलायमान हुन नसक्दा उपभोक्ता तथा निजी क्षेत्रको घट्दै गएको आत्मविश्वास अहिले सुधार हुँदै गएको पनि उहाँको भनाइ छ । “अहिलेको आवश्यकता भनेको आत्मविश्वास आर्जन गर्नुपर्ने छ । त्यसका लागि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । अहिलेसम्म हामीले धेरै नकारात्मक कुरा गर्‍यौँ, यसले गर्दा हामी आत्मविश्वास कमजोर बन्यो । यथार्थ विषयवस्तुलाई नकारात्मक सन्देशले बल पुग्यो”, मन्त्री डा महतले भन्नुभयो, “सकारात्मक सन्देश प्रवाहसँगै हाम्रो व्यापार व्यवसायमा आत्मविश्वास बढ्छ । उपभोक्ताको आत्मविश्वास बढ्छ । उपभोक्तामा आत्मविश्वास बढ्दा व्यापार व्यवसाय बढ्ने हो । व्यापार व्यवसायमा चहलपहल हुनेवित्तिकै लगानी वृद्धि हुन्छ । यसले आर्थिक गतिविधि बढाउँछ ।”

नेपालको विशिष्ट पहिचान बोकेका वस्तु र सेवाको पर्याप्त बजारीकरण हुन नसकेको पनि अर्थमन्त्री महतले बताउनुभयो । वस्तु तथा सेवाको उत्पादन, बजारीकरण र खपतसँग जोडिएका सबै पक्ष मिलेर नेपाली उत्पादनको प्रयोग र बजारीकरणलाई बढावा दिन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । विशिष्ट खालका वस्तु तथा सेवा उत्पादन गरेर विश्वका विभिन्न देशले आफ्नो पहिचान स्थापित गरेकोमा नेपालले पनि त्यसबाट लाभ लिन सक्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array