बिडारीको दाबी : अबको राष्ट्रिय सभा अध्यक्ष कृष्णप्रसाद सिटौला नै बन्नुहुन्छ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ माघ २०८०, आईतवार
10 Min Read
Aa

काठमाडौं, नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीको मत परिणामलाई लिएर सत्ता गठबन्धनमा कुनै असर नपर्ने बताएका छन् ।(शनिबार) रिपोर्टर्स क्लब नेपालले राष्ट्रिय सभा सदस्य निर्वाचन पश्चात सत्तारुढ गठबन्धन दलका नेताहरुसँग समसामयिक विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको भावना विरित गडबड गर्नेलाई सम्बन्धित पार्टी र गठबन्धनले उचित दण्डित गर्ने बताउँदै यसकै कारणले सत्ता गठबन्धनमा कुनै फेरबदल नआउने बताएका हुन् ।
‘गठबन्धनमा कुनै प्रकारको फरक पर्दैन । कोशीले गडबड गर्यो नि भन्ने छ, गडबड गर्नेलाई आवश्यक दण्ड सम्बन्धित पार्टी वा गठबन्धनले गर्नेछ । त्यसको निम्ति छानविन हुनपर्यो । कसले गडबड गर्यो, किन गर्यो, गडबडका कारण के थिए ? यो बारेमा छानविनपछि मात्रै भनिन्छ,’– उनले भने ।
जनयुद्धमा सहभागी भएकी माओवादी केन्द्रकी नेतृलाई कोशीमा हराइएको भन्दै उनले दुःख व्यक्त गरे । उनले कोशीमा केपी ओलीले चलाखी गरेको समेत बताए । एमाले अध्यक्ष ओलीलाई रकमी र बडो चलाख मान्छेको संज्ञा दिँदै उनले अनेक तिक्डम गरेर आफ्नो पक्षमा एक सिट पारेको टिप्पणी गरे ।
‘हाम्रो पार्टीको अपाङ्ग भएको, जनयुद्धमा सहभागी भएको उम्मेदवारलाई हामीले कोशीमा उठाएका थियौं ।’ उनले भने, ‘त्यसको सट्टामा केपीजी बडो चलाख मान्छे, कूटनीति जान्ने मान्छे, त्याँमाथि एमाले भनेपछि अहिलेदेखि होईन, पहिल्यैदेखि बडो तिक्डम गर्न जान्ने, रकमी प्रकारका काम गर्न उल्का सिपालु भावनाले त्यहाँ उहाँहरुले एउटा सिट गडबड पार्दिन सक्नुभयो ।’
नेता विडारीले अब राष्ट्रिय सभाको अध्यक्षमा कृष्णप्रसाद सिटौलानै निश्चितप्रायः भएको बताए । राष्ट्रिय सभा सदस्य निर्वाचनमा जाँदै गर्दा पनि सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति भएरनै उम्मेदवार बनाइएको उनको भनाइ छ । सिटौलाको स्वभव, शान्ति प्रक्रियामा पुर्याएको योगदान र टुंग्याउन पर्ने शान्ति प्रक्रियाका कामलाई विचार गरेर अहिलेको परिस्थितिमा उनलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन उपयुक्त हुने विडारीको भनाइ छ ।
‘अब राष्ट्रिय सभाको अध्यक्ष को हुन्छ ? यो कुराको निर्णय गर्ने ठाउँमा त म छैन । मेरो विचारमा पहिलो सहमति भएको चाहीँ कृष्णजीलाई अथवा कांग्रेसको उम्मेदवारलाई नै बनाउने हो कि भनेर राम्रोसँग छलफल भएको थियो । अब अलिकति गडबड भएको छ के गर्ने भन्दापनि मेरो विचारमा कृष्ण सिटौलाजीको व्यक्तित्व उहाँको प्रभाव, उहाँको शान्ति प्रक्रियामा योगदान, शान्ति प्रक्रियाको काम बाँकी अझै छ । संवैधानिक परिषद्को सदस्यसमेत हुने पद त्यो । त्यसो भएको हुनाले त्यो सम्भावना अहिले टरिसकेको छ जस्तो मलाई लाग्दैन,’– नेता बिडारीले भने ।
राष्ट्रिय सभा अध्यक्षका बारेमा पार्टीमा विस्तृत र गठबन्धनमा व्यापक छलफल गरेर टुंगोमा पुग्नुपर्ने उनले बताए । साथैै, कांग्रेसभित्रको प्रवृत्तिका बारेमा गठबन्धनमा व्यापक छलफल गर्नुपर्ने आवश्यकता उनले औंल्याए । नेता बिडारीले भने, ‘गठबन्धनको बारेमा व्यापक छलफल चाहीँ गर्नपर्ने बेला भएको छ । खासगरी कांग्रेस पार्टीसँग । किनभने यस्तो किन भयो ? कांग्रेस दुईवटा पार्टी त होईन । कांग्रेस पार्टीभित्र कांग्रेस अर्को पार्टी त हुँदैन । त्यस कारणले यो छलफलको विषय हो ।’
राष्ट्रिय सभा अध्यक्ष सिटौलालाई बनाउँदै गर्दा प्रचण्ड प्रधानमन्त्रीबाट हटेपछि संवैधानिक परिषद्मा माओवादी शून्य हुने अवस्था बारेपनि पार्टीभित्र छलफल हुनुपर्ने उनको भनाइ छ । उनले यति हुँदाहुँदै पनि सिटौला राष्ट्रिय सभा अध्यक्ष बन्ने सम्भावना प्रवल रहेको बताए ।
‘माओवादीलाई पनि समस्या के छ भने प्रधानमन्त्रीका पद समाप्त भएपछि संवैधानिक परिषद्मा माओवादी शून्य हुन्छ । अहिलेको प्रधानमन्त्री भएको हुनाले अध्यक्षनै प्रधानमन्त्री हुनुहुन्छ ।’ नेता बिडारीले भने, ‘त्यसो भएको हुनाले त्यो समेतलाई विचार गरेर व्यापक र विस्तृत रुपमा छलफल हुन्छ । माओवादीले पनि दाबी गर्छ तर कृष्णप्रसाद सिटौलाजी राष्ट्रिय सभा अध्यक्ष हुने सम्भावना प्रवल छ ।’
उनले अहिले आफूलाई संविधान बनाउँदा निर्वाचन प्रणालीमा केही गल्ती गरिएछ भन्ने भान भइरहेको बताए । संविधान सभामा समानुपातिक समावेशितासहितको प्रत्यक्ष निर्वाचन प्रणाली आवश्यक भएपनि अहिले समानुपातिक प्रणालीका कारण कुनै पनि दलको बहुमत आउने अवस्थानै नरहेको बताए । आफूले प्रधानमन्त्रीलाई भेट्दा सधैं संविधान संशोधनको बारेमा भन्ने गरेको समेत बताए । उनले निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्ने आवश्यकता औल्याए ।
‘हामीले संविधान बनाउने बेलामा पनि छलफल गरेका थियौं । त्यसबेला हामीले संविधान बनाउँदाखेरी निर्वाचन पद्धतिका बारेमा चाहीँ अलिकति हतार गरेछौं कि जस्तो लागेको छ अहिले आएर । समानुपातिक समावेशी सिद्धान्त बमोजिम संविधान सभा गठन गर्नु उपयुक्त थियो ।’ उनले भने, ‘प्रतिनिधि सभामा चाहीँ समानुपातिक समावेशीसहितको प्रत्यक्ष गर्दा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन सक्ने स्थिति हुँदो रहेनछ । अभ्यासले देखियो, यो हामीले कहिल्यै अभ्यास गरेका पनि थिएनौं । नेपालले गणतन्त्र, संघीयता व्यहोरेको थिएन । किताबमा मात्रै पढेको हो । निर्वाचन पद्धतिका बारेमा छलफल गर्नुपर्ने भएको छ ।’
भारतको संविधान ७० वर्षको अवधिका एक सय ३ पटक भन्दा बढि संशोधन भएको बताउँदै उनले नेपालको संविधान संशोधन गर्नुपर्ने विभिन्न ठाउँ रहेको बताए । भारतको संविधानले सरकारलाई पनि कानुन बनाउने अधिकार दिएकाले त्यहाँ विकासको वातावरण सहज बनेको उनको दाबी छ । नेपालको संविधान बमोजिक सरकारले कानुन बनाउन नसक्ने स्मरण गराउँदै उनले यस्तो प्रकारको अधिकार सरकारलाई पनि दिनुपर्ने आवश्यकता औंल्याए ।
कानुन बनाउने जिम्मेवारी पाएको प्रतिनिधि सभाले सही समयमा सही काम गर्न नसकेको उनको टिप्पणी छ । प्रतिनिधि सभा सदस्यहरु कानुन बनाउन छाडेर आफ्नो निर्वाचन क्षेत्रमा झोलुङ्गे पुलको चक्करमा लाग्दा केही स्वार्थ समूहहरुले आफू अनुकूलको कार्यविधि, निर्देशिका लगायतका विधि विधान बनाएर भ्रष्टाचार गरिरहेको उनको आरोप छ । वर्तमान संविधान तत्कालीन समयमा विभिन्न खाले शक्तिहरुसँग सम्झौताबाट बनेको बताउँदै उनले परिमार्जन गर्नुपर्ने बताए ।
सोमप्रसाद पाण्डेको ठोकुवाः प्रचण्डपछिको प्रधानमन्त्री माधव नेपाल नै हो
काठमाडौं, १३ माघ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता सोमप्रसाद पाण्डेले कोशीको कारणले गठबन्धनमा कुनै पनि प्रकारको फेरबदल नआउने बताए । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले राष्ट्रिय सभा सदस्य निर्वाचन पश्चात सत्तारुढ गठबन्धन दलका नेताहरुसँग समसामयिक विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सत्तारुढ गठबन्धन बाँकी चार वर्षको अवधिसम्मे अगाडि जाने बताएका हुन् ।
‘म स्पष्टसँग भन्छु– यो गठबन्धन अब बाँकी रहेको चार वर्ष अवधि टुट्दैन । गठबन्धनमै सरकार चल्छ र यो देश अगाडि बढ्छ,’– उनले भने ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीको परिणामलाई लिएर सत्तारुढ गठबन्धनमा केही अविश्वास भने पैदा भएको उनले बताए । साथै, कांग्रेसबाट यस्ता प्रकारका घात पहिला पनि भएको उनको आरोप छ । उनले २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफूलाई कांग्रेसले नै हराएको दाबी गरे । उनले कांग्रेस पार्टीका नेताहरु आफ्नै नेताहरुलाई समेत हराउन लागि पर्ने प्रवृत्तिका रहेको बताउँदै गठबन्धन दलका उम्मेदवार हराउन लागिपर्नुलाई नौलो मान्न नहुने बताए ।
‘चुनावमा यस्ता खाल्का हर्कत विगतमा नभएको पनि होईन । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा नेपाली कांग्रेसका साथीहरुले नेपाली कांग्रेसकै उम्मेदवारलाई हराएको कुरा स्पष्ट नजीर छ । भोट नभएर होईन, नेपाली कांग्रेसका असहयोगले गठबन्धनका उम्मेदवार हारेका छन् । गठबन्धनका २२ जनाभन्दा बढि उम्मेदवार नेपाली कांग्रेका प्रवृतिका कारण अहिले संसद् बाहिर छौं । म स्वयं पाल्पाबाट पाँच पटक निर्वाचित व्यक्ति हो । यस पटक, छैटौं पटक म गठबन्धनबाट उम्मेदवार थिएँ । गठबन्धनले त्यहाँ प्रदेशमा ६२ सय भोटले जितेको छ । तर, संघीय उम्मेदवार मलाई हराइयो । म हारेको छु । कारण के हो भने गठबन्धनको भोट भनएर होईन । गठबन्धनबाट भोट नदिइएर । त्यसकारण यो नौलो कुरा होईन,’– उनले भने ।
जनतामा पुराना पार्टीप्रति वितृष्णा आउनुको पहिलो कारक कांग्रेस र उसका गतिविधि रहेकोसमेत उनले टिप्पणी गरे ।
२०७९ मा प्रतिनिधि सभाको निर्वाचन भएर गठबन्धनको सरकार बन्दै गर्दा संवैधानिक परिषद्मा नेकपा (एस) सहभागिता शून्य भएको विषयमा छलफल हुँदा आफूहरुलाई राष्ट्रिय सभाको अध्यक्ष दिने भन्ने छलफल भएको उनले खुलासा गरे । अहिले कुन पार्टीबाट कसलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने भन्ने निर्णय नभइसके पनि सर्वसम्मत राष्ट्रिय सभा अध्यक्ष चुनिने उनको दाबी छ ।
अहिले व्यवस्थाका विरुद्धमा झिनामसिना आवाजहरु सुनिन थालेको भन्दै उनले यसको कुनै अर्थ नरहेको बताए । उनले गणतन्त्रको विकल्प गणतन्त्रनै रहेको बताए । साथै, उनले नाम नलिई दुर्गा प्रसाईँलाई लक्षित गर्दै बैंकको ऋण लिएर तिर्न पर्दैन भनि गणतन्त्रको विरुद्धमा मानिसहरु जम्मा पार्ने काम गरेको टिप्पणी गरे । गणतन्त्रको विकल्पमा आएका आवाजहरुको कुनै अर्थ नरहेको बताए । मुलुकलाई बर्वाद पार्ने व्यक्तिहरुबाट गणतन्त्रको विरुद्ध आवाज उठेको उनले बताए । यसको बारेमा चिन्ता गर्न पर्ने आवश्यक नरहेको बताए ।
साथै, अबको एक वर्षपछि माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने उनको दाबी छ । २०७९ पुस १० गते भंग भएको गठबन्धन जोडिँदाको जेन्टलमेन्ट एग्रिमेन्ट अनुसार प्रचण्डपछि माधव नेपाल र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए । उक्त जेन्टलमेन्ट एग्रिमेन्ट लागू हुने र अबको एक वर्षभित्र माधव नेपाल प्रधानमन्त्री भइछाड्ने उनको दाबी छ ।
‘यसमा कुनै दुविधा छैन । जेन्टलमेन्ट एग्रिमेन्ट भएको छ । २०७९ साल पुस १० गते भत्किसकेको गठबन्धनलाई फेरि जोड्ने काम गर्यौं ।’ उनले भने, ‘पहिलो कार्यकाल नेकपा (माओवादी) ले दुई वर्ष, त्यसपछि नेकपा (एकीकृत समाजवादी) ले गर्ने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने हाम्रो सहमति छ । अब माधव नेपाल प्रधानमन्त्री बन्नुहुन्छ । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

Array