त्रिवि शिक्षण अस्पताल महाराजगंजमा नेपालमै पहिलोपटक नेपाली चिकित्सककै अगुवाईमा कलेजो प्रत्यारोपण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ माघ २०८०, शुक्रबार
3 Min Read
Aa
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा नेपालमै पहिलोपटक नेपाली चिकित्सककै अगुवाईमा कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीको नेतृत्वमा त्रिविका चिकित्सकहरुले पहिलोपटक आत्मनिर्भर भएर कलेजो प्रत्यारोपण गरेका हुन् । डा. भण्डारी नेतृत्वको नेपाली चिकित्सकहरुको टिमले २७ पुसमा नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको थियो । ती पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् । यसअघि नेपालमा हुने कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकहरुले सघाउँदैं आएका थिए । तर, नेपाली चिकित्सककै अगुवाईमा नेपाली चिकित्सक टिमले विदेशी चिकित्सकको सहयोगबिना गरेको यो पहिलो कलेजो प्रत्यारोपण हो । ‘नेपालमा कलेजो प्रत्यारोपणका लागि यो ऐतिहासिक र माइलस्टोन हो,’ डा. भण्डारीले हेल्थआवाजसँग भने, ‘हामीले कलेजो प्रत्यारोपणमा आत्मनिर्भरतातर्फको पहिलो पाइला चालेका छौं ।
नेपाली चिकित्सकको टिमद्धारा नेपालमा गरिएको यो पहिलो कलेजो प्रत्यारोपण हो ।’ उनले यसका लागि त्रिवि शिक्षणको प्रत्यारोपण टिमका सदस्यहरुलाई धन्यवाद दिएका छन् । डा. भण्डारीले आफू यो ऐतिहासिक अवसरमा प्रमुख प्रत्यारोपण सर्जनको भूमिका निभाउन पाएको गौरवको अनुभूति भएको उल्लेख गरेका छन् । कलेजो दान गरेकी ४० वर्षीय महिला १० दिनमा डिस्चार्ज भएकी थिइन् । कलेजो प्रत्यारोपण गरिएका बिरामीलाई भने २० दिनमा बिहीबार डिस्चार्ज गरिने डा. भण्डारीले जानकारी दिए । ‘उहाँहरुको स्वास्थ्य अवस्था एकदमै राम्रो छ,’ उनले भने, ‘हामी आज डिस्चार्ज गर्दैछौं ।’ डा. भण्डारी अष्ट्रेलियाबाट कलेजो प्रत्यारोपण सम्बन्धि फेलोसीप गरेर फर्केपछि त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणका लागि पूर्वाधार तयार पारिएको थियो ।
सबै पूर्वाधार तयार भएपछि १७ जेठ २०७६ मा त्रिविले पहिलो कलेजो प्रत्यारोपण गरेको थियो । यसअघि त्रिवि शिक्षण अस्पतालमा १० वटा सफल कलेजो प्रत्यारोपण भइसकेका छन् । त्रिवि शिक्षणको प्रत्यारोपण टिमले २९ फागुन २०७७ मा नेपालमै पहिलो पटक ११ महिनाको बालकमा समेत कलेजो प्रत्यारोपण गरिसकेको छ । एक पुरानो अन्तर्वार्तामा डा. भण्डारीले निकट भविष्यमै आफूहरु विदेशी चिकित्सकहरुको सहयोग बिनै कलेजो प्रत्यारोपण गर्ने बताएका थिए । ‘केही हप्तामै बिरामी अस्पतालबाट डिस्चार्ज हुनुभयो । त्यसपछि बल्ल म ढुक्क भएँ । अनिमात्र मलाई त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरु गरिएछ भन्ने लाग्यो,’ त्रिवि शिक्षणको पहिलो कलेजो प्रत्यारोपणको अनुभव सुनाउँदैं उनले भनेका थिए, ‘पहिलो सफलताले उत्साह पनि बढायो ।
सुरुमा प्रत्यारोपण योजना सुनाउँदा मलाई धेरैले गाह्रो छ भन्थे । तर, त्यसो भनेपनि मैले त्रिवि शिक्षणमा कलेजो प्रत्यारोपण सुरु गर्ने इच्छा मार्न सकिन् र लागिरहे ।’ त्यतिबेला उनलाई कतिपयले भारतबाट डाक्टर ल्याएर गरेको भनेर पनि भनेका थिए । ‘हुनत कतिले भारतबाट ल्याएर गरेको त हो नि पनि भन्छन्,’ त्यो बेला डा. भण्डारीले भनेका थिए, ‘ तर, केही छैन १० वटा प्रत्यारोपणसम्म त हामीले हेल्प लिए गर्ने हो । सुरक्षाका लागि पनि हामीले त्यो गर्नुपर्छ ।’ डा. भण्डारी ११ औं कलेजो प्रत्यारोपणमा आत्मनिर्भर हुने आफ्नो पूर्व घोषणा पूरा गरेका छन् ।
source: healthaawaj.com
Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array