इच्छाराज तामाङ दम्पतीबाट पौने ३ अर्ब असुल्ने अदालतको फैसला

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ माघ २०८०, आईतवार
3 Min Read
Aa

काठमाडौँ — विशेष अदालतले सम्पत्ति शुद्धिकरणको मुद्दामा संविधान सभा सदस्य तथा सिभिल सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङबाट पौने २ अर्ब र उनीकी श्रीमती श्रृजना शाक्य तामाङबाट करिब एक अर्ब रुपैयाँ जरिवाना असुल्नुपर्ने फैसला गरेको छ ।

इच्छाराज तामाङ दम्पतीबाट पौने ३ अर्ब असुल्ने विशेष अदालतको फैसला
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङ दम्पत्तिविरुद्ध पौने ३ अर्ब रुपैयाँ जरिवाना हुनेगरी सजाय निर्धारण गरेको हो ।विशेष अदालतका प्रवक्ता धनबाहादुर कार्कीका अनुसार तामाङलाई एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैंया बराबरको जरिवाना र एक वर्ष ६ महिना कैद सजाय तोकिएको त्यस्तै उनकी श्रीमती श्रृजनालाई एक अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैंया जरिवाना तोकिएको छ । इच्छाराजलाई तीन वर्ष र श्रृजनालाई एक वर्ष ६ महिना कैद सजाय तोकिएको छ। सिभिल सहकारी घोटालाकै अर्क अभियुक्त केशवलाल श्रेष्ठविरुद्ध २५ करोड ६५ लाख ८६ हजार १ सय २४ रुपैयाँ जरिवाना र डेढ वर्ष कैद सुनाइएको छ । गत माघ ७ गते विशेष अदालतले तामाङ दम्पती र अर्का प्रतिवादी श्रेष्ठलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आइतबार (माघ २१ ) को मिति तोकेको थियो ।

सिभिल सहकारीका बचतकर्ताको अर्बौं रुपैैंया घोटालाको अभियोगमा तानिएका तत्कालीन र वर्तमान सञ्चालक तथा कर्मचारीविरुद्ध ठगी मुद्दा चलाइएको थियो । सहकारीको सम्पत्ति अपचलन गरी अन्यत्रै लगानी गरिएको कसूरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले सम्पत्ति शुद्धिकरणमा समेत अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो । विभागले २०७९ भदौमा तामाङविरुद्ध ३ अर्ब ३१ करोड ८५ लाख र उनकी श्रीमती श्रृजनाविरुद्ध १ अर्ब तीन करोड बढी बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।अदालतले जरिवाना असुलका लागि दोषि ठहरिएका व्यक्ति तथा मिना श्रेष्ठ, प्रतिष्ठा तामाङ र प्रतीक्षा तामाङका नाममा रहेको सम्पत्ति समेत जफत गर्ने फैसला गरेको छ । दोषी ठहर भएका व्यक्तिविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन ठगी मुद्दामा प्रतिवादी उपर कसूर ठहर भएमा पीडितको बिगो भरिभराउ गर्ने कार्यले नै प्राथमिकता पाउने आदेश पनि गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सिभिल सहकारीको ठगीको अनुसन्धान गरेको थियो । त्यसकै आधारमा सरकारी वकिल कार्यालयले ठगी र संगठित अपराधमा दफा लगाएर अदालतमा मुद्दा दायर गरेको थियो । ५ अर्ब ७७ करोड ८० लाख ९० हजार रुपैयाँ बिगोसहित २०७८ मंसिरमा मुद्दा दायर गरेको थियो ।तामाङले २०५५ मा सिभिल सहकारी खोलेर अध्यक्ष बनेका थिए । त्यहीबीचमा उनले सिभिल ग्रुपमार्फत हाउजिङ र जग्गा कारोबारमा हात हालेका थिए । उनले आफ्नै सहकारीमार्फत ऋण लिएका थिए । धितो राखेकै जग्गामा कानुनविपरीत घर बनाएर बेचेको आरोप पनि उनीमाथि छ । सिभिल सहकारीबाटै ऋण लिएर सिभिल होम्सअन्तर्गत करिब १ हजार १ सय घर बनाएर बेचेको तर सहकारीको ऋण तिर्न नमानेको आरोप छ । २०६७ मा सिभिल बैंक स्थापना भएपछि उनी त्यसको अध्यक्ष बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array