चिनीमा उद्योगीको कार्टेलिङ सिजनमै बिक्री बन्द गर्दै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ माघ २०८०, सोमबार
5 Min Read
Aa

राजु चौधरी

काठमाडौँ — यति बेला किसानले उत्पादन गरेको उखु चिनी मिलमा धमाधम क्रसिङ भइरहेको छ । सस्तोमा पाएपछि किसानको बारीमै पुगेर ठेकेदारले उखु किनिरहेका छन् । तर उद्योगीले क्रसिङकै सिजनमा ‘बिक्री बन्द’ भन्दै फ्याक्ट्री मूल्य बढाउन चलखेल सुरु गरेको होलसेल व्यवसायी बताउँछन् ।

उद्योगमा चिनी नभएको र सबै होलसेल पसललाई भाग पुर्‍याउनुपर्छ भन्दै उनीहरूले व्यवसायीलाई एकदुई दिन कुराइरहेका छन् । यही मौकामा चिनी उद्योगले मूल्य बढाउन थालेका हुन् । ‘रिलायन्स चिनी उद्योगमा चिनी माग्दा बिक्री बन्द रहेको भनियो । फ्याक्ट्रीमा चिनी छैन, २/३ दिन कुर्नुपर्छ भनियो । यो मूल्य बढाउने नीति हो,’ नाम उल्लेख गर्न नचाहने एक होलसेल व्यवसायीले भने, ‘एक महिनाअघि फ्याक्ट्री मूल्य ८५ रुपैयाँ थियो । एक साताअघि ८९ रुपैयाँ किलो रहेको चिनी अब फेरि बढ्ने देखिन्छ ।’महालक्ष्मी र वाग्मती चिनी मिलले पनि बिक्री बन्द गरेर चिनीको मूल्य बढाउन खोजेको अर्का होलसेल व्यवसायीले बताए । ‘७ दिनअघि फ्याक्ट्री मूल्य ८९ रुपैयाँ थियो । आइतबारदेखि फ्याक्ट्री मूल्य किलोमा २ रुपैयाँ बढाएर ९१ रुपैयाँ पुर्‍याइएको छ,’ ती व्यवसायीले भने, ‘उद्योगीबाट क्रसिङकै सिजनमा मूल्य बढाउने चलखेल भइरहेको छ ।’

विशेषगरी सर्लाही, मोरङ, सिरहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, नवलपरासी, कैलाली, कञ्चनपुरलगायत जिल्लामा उखु खेती गरिन्छ । यस वर्ष मंसिरदेखि क्रसिङ सुरु भएको छ । क्रसिङ फागुन, चैत महिनासम्मै चल्ने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जनाए । सरकारी मिलोमतोकै कारण किसानले उचित मूल्य नपाए पनि बजार मूल्य बढेको उनको भनाइ छ । बजारमा नयाँ चिनी आइरहँदा उद्योगीहरू भने मूल्य बढाउन केन्द्रित छन् । होलसेल व्यवसायीका अनुसार केही चिनी उद्योगीले दुई दिनदेखि बिक्री बन्द गरेका छन् । नयाँ चिनी आइनसकेको र पुराना पार्टीलाई पनि दिनुपर्ने भन्दै उनीहरूले बिक्री बन्द गरेका हुन् । ‘आपूर्ति सहज भइराखे आजको भोलि नै मूल्य बढाउन मिल्दैन, सकिँदैन पनि । त्यही कारण सबैलाई समानुपातिक रूपमा दिनुपर्ने भन्दै बिक्री बन्द गर्छन्, अनि बिक्री खुला गर्दा

फ्याक्ट्री मूल्य बढाउँछन् । अहिले धमाधाम क्रसिङ भइराखेको अवस्थामा मूल्य बढाउनुपर्ने कारण नै छैन,’ ती होलसेल व्यवसायीले भने, ‘मूल्य नियन्त्रणमा सरकार अग्रसर हुनुपर्ने हो तर ऊ पनि उद्योगीकै पक्षमा देखिन्छ । मूल्य बढाउँदा मौन बसेको छ ।’होलसेल व्यवसायीका अनुसार फ्याक्टी मूल्य ८५ रुपैयाँ हुदा होलसेल व्यवसायीले गाडीभाडा, मुनाफालगायत खर्च जोडेर प्रतिकिलो चिनी ९०/९१ रुपैयाँमा बिक्री गर्छन् । त्यसपछि खुद्रा व्यापारीले थप ढुवानी भाडा अनि मुनाफा राखेर सर्वसाधारणलाई बेच्छन् । आफ्नो संघले माघ १५ मा चिनीको खुद्रा बिक्री मूल्य १ सय ५ रुपैयाँ तोकेको खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधर बताउँछन् । फ्याक्ट्री मूल्य नै बढेर आउँदा उपभोक्ता मूल्य थप वृद्धि हुन सक्ने जानकार बताउँछन् । त्यसका लागि सरकारले तत्काल बजार हस्तक्षेप गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।

‘चिनी अभाव हुँदा मूल्य बढ्नु स्वाभाविक भए पनि क्रसिङकै समयमा मूल्यवृद्धि गैरजिम्मेवारीको पराकाष्ठा हो । यो ठगी पनि हो । यसले चिनीको उद्योगीरू सर्वसाधारण ठग्न, कमाउन मात्रै केन्द्रित भएको पुष्टि हुन्छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘बजारमा देखिएको अराजकता रोक्न सरकारले तत्काल कदम चाल्नुपर्थ्यो । तर विडम्बना सरकार बिचौलियाको चंगुलमा परेको छ । जीटूजी (सरकार–सरकार) र भन्सार छुटको चिनी आयात नगरेर उद्योगीलाई मूल्य बढाउन साथ दिएको छ ।’

अभाव हुने समस्यालाई दृष्टिगत गरी अर्थ मन्त्रालयले गत भदौमा ५० प्रतिशत भन्सार दर छुटमा चिनी ल्याउन अनुमति दिएको थियो । चाडबाडलाई लक्ष्य गर्दै २ हजार टन चिनी आयात गर्ने निर्णय भएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६० हजार टनको प्रस्तावमा अर्थ मन्त्रालयले २० हजारको स्वीकृति दिएको थियो । अर्थले स्वीकृत गरेको परिमाणमध्ये साल्ट ट्रेडिङ कर्पोरेसनले १० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार टन आयात गर्ने निर्णय भएको थियो । तर भन्सार छुटको चिनी आयात भएन । त्यसपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय जीटूजीमा लागेको थियो ।

जीटूजीबाट तिहारअघि नै चिनी ल्याउने दाबी गरिएको थियो । तर माघ सकिन लाग्दा पनि आएको छैन । भारतले गत कात्तिक १६ मा २५ हजार टन चिनी दिने भने पनि खाद्य र साल्टले ल्याउन सकेनन् । २५ हजार टनमध्ये सुरुमा १०/१० हजार टनका दरले खाद्य र साल्टलाई चिनी ल्याउन अनुमति दिइएको थियो । जीटूजीबाट ल्याउने चिनीमा पनि ५० प्रतिशत भन्सारदर छुट थियो ।

‘सरकारी चिनी नआउँदा चिनी उद्योगीको सिन्डिकेट बढेको छ । तर पनि नियन्त्रणमा ध्यान दिइएको छैन,’ तिमिल्सिनाले भने । उद्योगीले मूल्य बढाएको गुनासो आए कारबाही गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले बताए । ‘अहिलेसम्म चिनीको मूल्य बढेको उजुरी परेको छैन । विश्लेषण गर्न मूल्यसूची मगेका थियौं, एकदुई उद्योगबाहेक अन्यले दिएका छैनन् । हामी पनि चिनीको अनुगमनमा हिँड्न पाएका छैनौं,’ उनले भने, ‘मूल्य बढाएको पाइए कारबाही गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्

Array