स्कुटर र मोटरसाइकल चोरीमा संलग्न चार जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ माघ २०८०, सोमबार
1 Min Read
Aa

ललितपुर, ललितपुरका विभिन्न स्थानबाट स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरी वृत्त चापागाउँ ललितपुरबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका-७ घर भई काठमाडौं बल्खु बस्ने २८ वर्षीय सनम मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ चिसापानी घर भई काठमाडौं बल्खु बस्ने २० वर्षीय  शैलेश आले रहेका छन् ।

ललितपुर महानगरपालिका-१३ नख्खु सनराईज अपार्टमेण्टबाट चोरी भएको बा.९७ प ३०२ नम्बर स्कुटरसहित सनम मगर र गोदावरी नगरपालिका-१३ झरूवारासीबाट चोरी भएको बा.९५ प २८०९ नम्बरको स्कुटरसहित शैलेश आलेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई थप आवश्यक अनुसन्धान भइरहेको छ ।

यसैगरी काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ माकलबारीबाट गत शुक्रबार चोरी भएको बागमती प्रदेश ०२-०३८ प ०३४५ नम्बरको मोटरसाइकलसहित २ जनालाई प्रहरी चौकी भट्टेडाँडा ललितपुरबाट खटिएको प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोर र बागमती गाउँपालिका-३ बस्ने २४ वर्षीय छविलाल बज्यु रहेका छन् । उनीहरूलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array