पाँच करोड फिरौती माग गर्दै ज्यान मार्ने धम्की दिएको आराेपमा दुई जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ माघ २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौँ । पाँच करोड फिरौती माग गर्दै ज्यान मार्ने धम्की दिएको आराेपमा दुई जना पक्राउ परेका छन् । बुधबार राति कास्की प्रहरीले पोखरा–८, सिमलचौरबाट पक्राउ गरेका उनीहरुलाई बिहीबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका वडा नं. २, खुर्काेटका ३६ वर्षीय लक्ष्मण दर्जी र सोही पालिकाको वडा नं. १४ का ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन् । उनीहरुले पोखरामा सच्चाइ केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई फोन र एसएमएसबाट धम्क्याई बारम्बार रकम माग गरेका थिए । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले फोन र एसएमएसबाट उनीहरुले सो रकम नदिए मार्ने धम्की दिएको र बारम्बार सच्चाइ केन्द्रमा गई रेकीसमेत गरेको जानकारी दिनुभयो । दर्जी र थापाको साथबाट पाँच सय ७२ ग्राम गाँजा, केही सिम, भरुवा बन्दुकमा लाग्ने केफ, लगायतका सामग्री बरामद भएको छ ।

प्रहरी प्रमुख थापाले अभियुक्तहरुले एक महिनादेखि सिमलचौरमा कोठा लिएर यस्तो गतिविधि गरेको थाहा भएको जानकारी दिनुभयो । “उनीहरुले पोखराका प्रतिष्ठित उद्योगपति, व्यापारी, नेता लगायतका करिब ३० जनाको नाम, ठेगाना, परिवारका सदस्यको नामसमेत टिपोट गरेका आठ पाना भेट्टाएका छौँ,” प्रहरी प्रमुख थापाले भन्नुभयो । प्रहरी प्रमुख थापाले सूर्यदर्शन सहकारीको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि अनुसन्धान भइरहेको जानकारी दिनुभयो । पत्रकारले सोधेको सच्चाइ केन्द्रकाे अपारदर्शिता, धर्म परिवर्तनको प्रश्नमा उहाँले उजुरी आए त्यसबारे पनि अनुसन्धान हुने प्रष्ट पार्नुभयो । “यो केशमा प्रकाशदीपजी नै पीडित भएको देखियो, उहाँको बारेमा त्यस्तो केही भए वा उजुरी आए उहाँमाथि पनि हामी अनुसन्धान गर्छाैं,” प्रहरी प्रमुख थापाले प्रष्ट पार्नुभयो।

प्रतिक्रिया दिनुहोस्

Array