गाउँपालिकाका अध्यक्षलेनै श्रीमती भगाइदिएको भन्दै उजुरी परेपछि…..

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ माघ २०८०, शुक्रबार
3 Min Read
Aa

नेकपा माओवादी केन्द्रबाट निर्वाचित सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले एक जना सर्वसाधारणको घरबार नै उजाडिदिएकाे आराेप लागेकाे छ । वाइबाले वैदेशिक रोजगारमा गएका भीमबहादुर मोक्तानकी श्रीमतीसँग दोस्रो विवाह गरेका आराेप लागेकाे छ ।

श्रीमान् विदेशमा भएको समयमा संगीता मोक्तानले वज्रध्वज वाइबासँग विवाह गरेपछि न्यायका लागि भन्दै भीमबहादुरले माओवादीको बागमती प्रदेश कार्यालयमा निवेदनसमेत दिएका छन् । भीमबहादुरले निवेदन पेस गरेपछि पार्टीले वज्रध्वज वाइबासँग स्पष्टीकरण सोधेको बागमती प्रदेशका एक प्रदेश समिति सदस्य बताउँछन् ।

संगीताले आफ्नो घरमा आएर कुटपिट गर्नुका साथै विदेशमा बसेर कमाएको ७ लाख नगद पनि लगेको भीमबहादुरले निवेदनमा उल्लेख गरेका छन् । आफूले विदेशकाे कमाइले बनाएकाे घरमा पनि संगीताले कब्जा गर्न खाेजी वाइबासँग बसेको पीडितले निवेदनमा उल्लेख गरेका छन् ।

२०७८ साल असोजमा विदेशबाट घर फर्केका भीमबहादुरले श्रीमतीको खोजी गर्नका लागि प्रहरी प्रशासन, गाउँपालिकामा निवेदन दिए । तर, मंसिर १३ गते संगीता मोक्तान एकाएक घरमा आइन् । हराएकी भनिएकी श्रीमती तीन महिनामा घर आउँदा पनि छोरीका लागि भन्दै श्रीमतीलाई आफूसँगै राखेको भीमबहादुरले माओवादी कार्यालयमा दिएको निवेदनमा उल्लेख छ ।

त्यसकाे दाेस्राे दिन अर्थात् १४ मंसिरमा वज्रध्वज वाइबा  भीमबहादुरको गाउँमा गएर ‘तैँले श्रीमती वाइबाले लग्यो भनेको होइनस्, घरमा नै रहिछे त’ भन्दै कुटेको निवेदनमा उल्लेख छ । ‘१२ जना मारिसकेँ, तँलाई र तेरो छोरीलाई पनि मार्छु’ भनेर धम्क्याएको पनि भीमबहादुरले निवेदनमा उल्लेख गरेका छन् ।

तर पनि भीमबहादुरले छोरीका लागि भन्दै सम्झौता गरेर संगीतालाई सँगै राखे पनि उनी फेरि माघ महिनापछि घर छोडेर गइन् । भीमबहादुरका अनुसार संगीताले योपटकचाहिँ घर छोडेर हिँडेपछि ‘आजबाट मेरो खोजीनिती नगर्नू’ भन्दै फोन गरेकी थिइन् । अझ यदि कतै खोजतलास गरे वा मिडियामा भनेमा आत्महत्या गर्छु भन्दै मानसिक तनाव दिएको निवेदनमा उल्लेख छ ।

अध्यक्ष वाइबा भने आफूले दोस्रो विवाह नगरेको, कसैको पैसा पनि नखाएको, साथै कुटपिटसमेत नगरेको बताउँछन् । उनी भन्छन्, ‘राजनीतिक प्रतिशोध साँध्न मलाई त्यस्तो आरोप लगाएका हुन् । मैले विवाह पनि गरेको छैन । न त कसैलाई कुटपिट नै गरेको छु । सबै झुटा कुरा हुन् ।’

वाइबाकी एक श्रीमतीको मृत्यु भइसकेको छ भने दुई श्रीमतीबाट चार जना छोराछोरी रहेको एक स्थानीय बताउँछन् । ती स्थानीयले भने, ‘उहाँका दुई श्रीमती पहिलै थिए । एकको निधन भइसकेको छ । छोराछोरीको विवाह भइसकेको छ । माओवादीका जिल्ला संयोजक पानीराज बम्जनले भने, ‘अहिले विवाह गरी ल्याएकी केटी जिल्लामा थाहा पायो भनेर काठमाडौंतिर राखेको भन्ने सुनेका छौँ । भगाएर ल्याएको केटीको पहिलाको श्रीमान्‌लाई दुवै मिलेर दिनु दु:ख दिएको, उसको घर, पैसा खाएको निवेदन पार्टीमा परेको छ ।’ shilapatra

प्रतिक्रिया दिनुहोस्

Array