मुलुक बचाउने उपाय संसदीय व्यवस्थाको अन्त्य र मृत्युदण्डको व्यवस्था नै होः सुन्दरमणि दीक्षित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ माघ २०८०, आईतवार
6 Min Read
Aa

काठमाडौं,भ्रष्टाचारविरोधी शास्त्रका संस्थापक, लेखक एवं कानुनविद् भरत जङ्गमले भ्रष्टाचार निवारणका लागि मृत्युदण्डको व्यवस्था गर्नुपर्ने बताएका छन् । (शनिबार) रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले २०५१ सालदेखि नै भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्छ भनेर लागिरहेको बताए । अहिले भ्रष्टाचारविरुद्ध कुनै पनि कानुन नबनेको र भएका केही कानुनपनि कमजोर रहेको उनको दाबी छ ।   ‘भ्रष्टाचार निर्मूल गर्ने हो भने यो देशमा मृत्युदण्डको कानुन बनाउन पर्छ । मृत्युदण्डको कानुन नबनाउन पर्ने कारण के ?’ उनले प्रश्न गर्दै भने, ‘अमेरिकाले मानव अधिकारको कुरा गर्छ । अमेरिकामा मृत्युदण्ड छैन ? चीनमा हरेक हप्तामा एउटालाई झुण्ड्याइन्छ । भ्रष्टाचार गर्ने व्यक्तिलाई सर्वस्व हरणसहित मृत्युदण्ड गर्नुपर्छ ।’
साथै, आफूले विगतमा भ्रष्टाचारका विरुद्धमा थुप्रै मुद्दा र आन्दोलन छेडेको दाबी गर्दै उनले अब सडकमा कराउनेभन्दा पनि विश्वविद्यालयमा विद्यार्थीहरुलाई यसविरुद्ध शिक्षा दिन लागिपरेको बताए । आफूले चलाएको अभियानका आधारमा त्रिभुवन विश्वविद्यालयले भ्रष्टाचारविरुद्ध पठनपाठन सुरू गरेको उनको दाबी छ ।
उनले आफू अहिले धेरै विरोध गर्नेभन्दा पनि विश्वविद्यालयहरुमा भ्रष्टाचारको विरोधमा सचेतना फैलाउँदै डिँडेको बताए । साथै, त्रिभुवन विश्वविद्यालयले एम.ए. तहमा अहिले भ्रष्टाचारका विरुद्धमा पठनपाठन गराइरहेको र उक्त अभियान विश्वकै पहिलो भएको उनको दाबी छ ।
२०४७ सालको संविधानले अनुचित कार्यलाई पनि भ्रष्टाचारको रूपमा परिभाषा गरेको दाबी गर्दै उनले २०७२ सालको संविधानले त्यसलाई हटाएको भन्दै आपत्ति जनाए । २०७२ को संविधानमा अनुचित कार्य भन्ने शब्द निकाल्दा अहिलेका शासकहरुले मनपरी गरिरहेको उनको भनाइ छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानबाट हटाएको सोही शब्दको लाभ लिँदै मनपरी गरेर ठूलोमात्रामा जग्गा खान खोजेको उनको दाबी छ । सर्वोच्च अदालतले उक्त निर्णय बदर गरेको भन्दै उनले खुसी ब्यक्त गरे । मन्त्रिपरिषद्ले गरेको निर्णयलाई अख्तियारले हेर्न नदिएर भ्रष्टाचारलाई संरक्षण गरिरहेको उनले बताए ।
अहिले मन्त्रिपरिषद् जंगबहादुरभन्दा पनि शक्तिशाली बनेको उनको टिप्पणी छ । उनले मन्त्रिपरिषद्को निर्णयलाई नीतिगत निर्णयको रूपमा परिभाषित गरेर भ्रष्टाचार बढिरहेको बताए । ‘मन्त्रिपरिषद्ले गरेको निर्णयलाई अख्तियारले हेर्नै नपाउने पनि भन्दिए । मन्त्रिपरिषद् त जंगबहादुरभन्दा ठूलो भयो ।’ उनले भने,‘हुकुम भयो अब, के–को कानुन ? के–को विधि ? प्रधानमन्त्री जो हुन्छ, उसले बोलेपछि मन्त्रिपरिषद्को निर्णय भइगयो । नीतिगत निर्णय भन्न थाले ।’
साथै, उनले हरिसिद्धि ईंट्टा टायल कारखानाको पाँच सय रोपनी जग्गा पनि खोजी गर्ने बेला भएको बताए । उक्त जग्गावापत नेपाल सरकारको नाममा एक रुपैयाँ पनि नआएको उनको दाबी छ ।
बाँसबारी छाला–जुत्ता कारखानाको जग्गा हडप्ने अरुण चौधरीलाई न्यायाधीशले पैसा खाएर छाडेको उनको आरोप छ । ‘पैसा भएपछि न्यायाधीश पनि किन्न पाइँदोरहेछ, देखिहाल्नुभयो जिल्ला अदालतको एउटा न्यायाधीशले गरेको निर्णय । के गरेको त्यो ? मैले सुनेको छु–त्यो मान्छेलाई अहिले कारबाही भइरहेको छ,’– उनले भने ।
भ्रष्टहरुको मुद्दा बोक्ने सबैभन्दा ठूला वकिल बनेको र न्यायाधीशहरु बेताजका बादशाह बनेर जति पाएपनि घुस खाएको उनको टिप्पणी छ ।
मुलुक बचाउने उपाय संसदीय व्यवस्थाको अन्त्य र मृत्युदण्डको व्यवस्था नै होः डा. सुन्दरमणि दीक्षित
काठमाडौं, २७ माघ । नागरिक अभियन्ता डा.सुन्दरमणि दीक्षितले कानूनमा मृत्युदण्डको व्यवस्था अनिवार्य हुँदै गएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न मृत्युदण्डको व्यवस्था गर्नुपर्ने र त्यसले गर्दा भ्रष्टाचार गर्न व्यक्ति डराउने बताए ।
सरकारले देश र जनताको पक्षमा भन्दा पनि आफ्नो लागिमात्रै काम गरिरहेको उनको दाबी छ । डा. दीक्षितले भुटानी शरणार्थी प्रकरणमा पनि निश्पक्ष छानविन नभएको भन्दै आक्रोश पोखे । अहिलेको सरकारले एउटा फाइल खोल्ने र त्यसलाई केही समयपछि अर्को फाइल खोलेर ओभरल्यापिङ गरिरहेको बताए । सरकारले सुरू गरेको भ्रष्टाचारविरोधी काम अहिलेसम्म कुनैपनि निश्कर्षमा नपुगेको उनको दाबी छ ।
संसदीय व्यवस्थामा पैसा, गुण्डागर्दीको भरमा चुनाव जित्ने प्रवृत्ति रहेको उनको भनाइ छ । संसदीय व्यवस्थानै गलत भएको उनको दाबी छ । नेपालको परिवेशमा संसदीय व्यवस्था नसुहाउने उनको दाबी छ । लोकतन्त्रमा अहिले ‘म’ तन्त्रको हाबी भइरहेको उनको दाबी छ । भ्रष्टाचार अन्त्य गर्नका लागि संसदीय व्यवस्थाको अन्त्य र मृत्युदण्डको व्यवस्था गरिएको कानुन ल्याउनुपर्ने उनले बताए ।
गगन थापाजस्तो नेताले समेत भ्रष्टाचारविरुद्धको अभियानमा केही गर्न नसकेको उनको दाबी छ । उनले गगनले संसद्मा र पार्टीका विभिन्न फोरमहरुमा भ्रष्टाचारविरुद्धमा बोलिरहेको भएपनि उनीभन्दा माथिल्ला नेताहरु भ्रष्ट भएका कारण उनको भ्रष्टाचारविरोधी आवाज सम्बोधन नभएको उनले बताए ।
कम्युनिष्ट पार्टीहरुले डेमोक्रेशी स्वीकार नगरेको उनको भनाई छ । देशमा डेमोक्रेशी स्वीकार गरेको नेपाली कांग्रेस अहिले भाइ माओवादी बन्दा डेमोक्रेशीमा खतरा बढेको उनले बताए ।
‘यो डेमोक्रेशीमा बञ्चरो हान्ने पार्टी भनेको आजको दिनमा कांग्रेसनै हो । कांग्रेसले नै डेमोक्रेशी बचाउन पर्दथ्यो । आज त्यो कांग्रेस भाइ माओवादी भएर गयो, देउवाले डोहोर्याएर लगिरहेका छन् । कांग्रेस डेमोक्रेशीको खम्बा हुनुपथ्र्यो तर भाइ माओवादी भइरहेको छ,’– उनले भने ।
जनताले दिएको मतका आधारमा कांग्रेसले शासन गर्न पाउनुपर्नेमा अहिले माओवादीले नेतृत्व लिइरहेको भन्दै उनले त्यसलाई पनि भ्रष्टाचारको रुपमा लिनुपर्ने बताए । जनताको मतको कदर नहुनुपनि भ्रष्टाचारको रूपमा लिनुपर्ने डा. दीक्षितको भनाइ छ ।
आफूहरुले भ्रष्टाचारको विरोध गर्दा प्रतिगामीको आरोप सहनु परेको उनले बताए । अहिलेका दलहरुकै कारण अहिले राजातिर लहर सुरू भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array