इजरायल सिर्जित त्रासदी विरुद्ध शान्ति समाजको प्रदर्शन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ माघ २०८०, सोमबार
3 Min Read
Aa

काठमाडौं । सन् २०२३ को अक्टोवर ७ का दिन हमासले दक्षिणी इजरायलमा गरेको आतंकी हमला पश्चात शुरु भएको हमास इजरायल युद्धको चार महिनामा २८ हजार भन्दा बढीको मृत्यु भएको छ । त्यसमध्ये २७ हजार प्यालेष्टिनी र १२ सय बढी इजरायली छन् । ६४ हजार बढी घाइते भएका छन् । यसैगरी कमिटि टु प्रोटेक्ट जर्नलिष्टका अनुसार ८५ जना पत्रकार मारिएका छन् जसमध्ये ७८ जना प्यालेष्टिनी, ४ जना इजरायली र ३ जना लेबनानी छन् । १६ जना पत्रकार घाइते ४ जना हराएका र २५ जना पक्राउ परेका छन् । इजरायल सिर्जित त्रासदीका कारण गाजामा १९ लाख बढी प्यालेष्टिनीहरु विस्थापित भएको समाचार प्रकाशमा आएको छ । एकातिर युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायको बारम्बारको आग्रहलाई इजरायलले वेवास्ता गर्दै आएको छ भने अर्कोतिर युद्धका कारण निर्दोष प्यालेष्टिनी नागरिकहरु मारिने र विस्थापित हुने क्रम बढ्दो छ ।
यसै सन्दर्भमा आणविक अस्त्रको विश्वव्यापी उन्मुलन र युद्ध निषेधः शान्ति विशेष अभियान सञ्चालन गर्दै आएको मानव अधिकार तथा शान्ति समाजले २०८० माघ २९ गते दिउँसो काठमाण्डौस्थित इजरायली राजदुतावास अगाडि युद्ध विरोधी प्रदर्शन गरेको छ । इजरायललाई तत्काल युद्धविरामको घोषणा गर्न र मानवता विरुद्धको अपराध बन्द गर्न आग्रहसहित गरिएको आधा घण्टाको प्रदर्शनमा सहभागिहरुले इजरायलः तत्काल युद्धविराम घोषणा गर, इजरायलः निर्दोष प्यालेष्टिनीहरुको हत्या बन्द गर, इजरायली बर्बरताले मानव सभ्यता लज्जित, युद्ध समस्याको समाधान होइन, इजरायलः मानवता विरुद्धको अपराध बन्द गर, इजरायल युद्ध रोकः शान्ति प्रवद्र्धन गर लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शन पश्चात इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई शान्ति समाजका तर्फबाट लेखिएको पत्र नेपालस्थित इजरायली दुतावासले बुझ्न नमानेका कारण हुलाकबाट पठाइएको छ । पत्रमा “इजरायल सिर्जित त्रासदीका कारण गाजामा १९ लाख बढी प्यालेष्टिनीहरु विस्थापित भएको, हमासको आतंक निन्दनीय भएको तर कहालिलाग्दो यो युद्धले झनै ठूलो आतंक सिर्जना गरेको दुखद अनुभव मानव अधिकार तथा शान्ति समाजले गरेको उल्लेख गर्दै तत्काल युद्धविरामको घोषणा गर्न, मानवता विरुद्धको अपराध बन्द गर्न, युद्धलाई सदा सदाको लागि अन्त्य गर्न र शान्ति प्रवद्र्धन हेतु ठोस योगदान गर्न” इजरायललाई आग्रह गरिएको छ । प्रदर्शनमा ३० जना शान्तिवादीहरुको सहभागिता थियो ।
स्मरणीय छ, मानव अधिकार तथा शान्ति समाजले इजरायलको बर्बरता र हमासको आतंक दुवै विश्व शान्तिका लागि खतरा बताउँदै आएको छ ।
समाजका तर्फबाट

प्रतिक्रिया दिनुहोस्

Array