महानगरको नीतिविरुद्ध बोल्यो कवाड व्यवसायी समाज, निर्वाध व्यवसाय सञ्चालनको लागि आग्रह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ माघ २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं,  कवाड व्यवसायी समाजले काठमाडौं महानगरपालिकाभित्र दर्ता भई व्यवसाय गर्दै आएका कवाडी व्यवसायीलाई व्यवसाय हटाउन भन्दै वडा कार्यालयबाट पत्र पठाएको भन्दै आपत्ति जनाएको छ । हिजो (आइतबार) विज्ञप्ती जारी गर्दै अध्यक्ष रामकेवल गुप्ताले महानगरपालिकाभित्रका विभिन्न वडा कार्यालयहरुले कवाडी व्यवसायदर्ता नविकरण नगरिदिएको र व्यवसाय हटाउन भन्दै पत्रचार गरेको बताएका हुन् ।
‘महानगरका विभिन्न वडा कार्यालयहरुवाट कवाडी हटाउने सम्बन्धमा पत्रहरु प्राप्त भएको हुदा यस विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । काठमाडौं महानगरपालिकाको रिङरोड भित्रका कवाडी व्यवसाय हटाउने नीतिका विरुद्ध र यस महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयहरुले कवाडी व्यवसायदर्ता नविकरण नगरिरहेको विषयमा हाम्रो घोर आपत्ती रहेको छ,’–विज्ञप्तिमा भनिएको छ ।
आफूहरुले प्रचलित कानूनबमोजिम दर्ता भएर सरकारलाई तिर्नुपर्ने कर तिर्दै आएको र कानुनबमोजिम दर्ता रही वैधानिक तवरले व्यवसाय गर्दै आएका व्यवसायीलाई निर्वाध रुपमा व्यवसाय संचालन गर्न दिन उन अध्यक्ष गुप्ताले अनुरोध गरेका छन् ।
कवाडी व्यवसायीले वातावरण प्रदुषण गरेको, फोहर गरेको भन्ने कुरा सरासर गलत भएको र कवाडी व्यवसायीले बरु फोहर संकलन गरेर वातावरण सफा राख्न सहयोग गरेको कवाड व्यवसायी समाजको दाबी छ । कवाडी व्यवसाय हटाउदा लाखौं मानिसको रोजगारी गुम्ने र सरकारको राजस्व संकलनमा समेत प्रत्यक्ष असर पर्ने विज्ञप्तिमा उल्लेख छ ।
कवाड व्यवसायी समाजले देशमा संचालित उद्योगहरुलाई चाहिने पुनः प्रयोग गर्न मिल्ने सामग्रीको ७० प्रतिशत समानको कवाडी व्यवसायीले सप्लाइ गरिरहेको दाबी गरेको छ । कवाडी व्यवसायीलाई हटाउदा उक्त समान बाहिरबाट आयात गर्नुपर्ने भएकाले सरकारको व्यापार घाटा बढ्ने भन्दै विज्ञप्तिमार्फत सचेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array