पाल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दश, १६ जना घाइते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ फाल्गुन २०८०, बुधबार
2 Min Read
Aa

पाल्पा, पाल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।  मृत्यु हुनेमा तिनाउ–६, की ६० वर्षकी यनकुमारी पन्त, सोही स्थानका ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षका कृष्णबहादुर अस्लामी, २८ वर्षकी उर्मिला अस्लामी रहनुभएको छ । यस्तै बुटवल उपमहानगरपालिका–१४ का ७० वर्षीय चन्द्र रणपाल र उहाँकी श्रीमती ६० वर्षकी चुना रणपालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।  यस्तै तिनाउ–२, की २० वर्षीया गीता सुनार, रिव्दीकोट–१ की ६६ वर्षीया विष्णुकला कामी, सोही स्थानकी ६५ वर्षीया दिलकुमारी सुनार र रुपन्देही जिल्ला देवदह नगरपालिका–५, की २९ वर्षकी दिलमाया जिसीको मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा परी सात जना बालबालिका घाइते भएका छन् । प्रहरीका अनुसार रिव्दीकोट–१, की विद्या सुनार, सोही स्थानकी माया सुनार, आरभ सुनार घाइते हुनुभएको छ । यस्तै तिनाउ–६, का सौरभ पुन, रुपन्देही खैरेनीका विवेक जिसी, अस्मित जिसी र पहिचान नखुलेको दुई महिनाकी बालिका घाइते भएको लुम्बिनी मेडिकल कलेजका कम्पनी सचिव कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो ।  यस्तै तिनाउ–६, की कृष्णा पन्त, सोही स्थानकी उमा रास्कोटी, अमृता गहतराज, शान्ति राना, कुलबहादुर नेपाली घाइते हुनुभएको छ । रिव्दीकोट–१ की रमा सुनार, रुपन्देही हरैयाकी भूमि पुन, तानसेन–१० का दानबहादुर चिदी, तिनाउ–२, की कमला सुनार घाइते हुनुभएको अस्पतालले जनाएको छ ।

मङ्गलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटना भएको थियो । प्रहरीका अनुसार जिप सडकदेखि तीन सय मिटर तल खसेको थियो । डुम्रेदेखि चिदिसतर्फ गएको जिप अत्यधिक लोडका कारण दुर्घटना भएको पाल्पाका प्रहरी उपरीक्षक हेरम्व शर्माले बताउनुभयो । क्षमताभन्दा बढी लोड र उकालोमा सवारीसाधनले तान्न नसक्दा व्याक भएर दुर्घटना भएको प्रहरी उपरीक्षक शर्माको भनाई छ ।

gorkhapatraonline

प्रतिक्रिया दिनुहोस्

Array