सशक्त आन्दोलन छेड्न ७३ लाख सहकारी पीडितहरू काठमाडौं उत्रिँदै, चैत्र १ गते काठमाडौं ठप्प पार्ने चेतावनी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ फाल्गुन २०८०, बिहीबार
4 Min Read
Aa

काठमाडौं, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले पीडित बचतकर्ताको रकम फिर्ता गराउन सशक्त आन्दोलन छेड्ने घोषणा गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत आगामी आन्दोलनका कार्यक्रमबारे जानकारी गराइएको हो । फागुन ६ गते सहकारी विभागमा धर्ना दिएर आन्दोलनको सुरुवात गर्ने, ८ गतेबाट काठमाडौं, भक्तपुर र ललितपुरको प्रत्येक गल्ली–गल्लीमा कोणसभा, घरदैलो कार्यक्रम गर्ने र चैत १ गते देशैभरका पीडितले काठमाडौंकेन्द्रित आन्दोलन गर्ने बताइएको छ ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुश्लव केसीले आफूहरुले सहकारी पीडितहरुको पक्षमा यसअघि सरकारसँग गरेको सम्झौता अहिलेसम्म कार्यान्वयनको प्रयाससमेत नभएको बताए । सरकारले चैत मसान्तसम्म सबै बचतकर्ताको रकम फिर्ता गराउने प्रतिवद्धता व्यक्त गरेपनि अहिलेसम्म केही काम नगरेको र आफूहरुसँग समन्वयसमेत नगरेको उनको भनाइ छ ।
सरकारको यसप्रकारको गतिविधिले सरकार कसका लागि हो ? भन्ने प्रश्नचिन्ह खडा भएको बताए । अहिले आफूले नेतृत्व गरेको अभियानमा ७३ लाख पीडितहरु जोडिएका उनको दाबी छ । उनले ती पीडितहरु विभिन्न दुई सय ८९ सहकारीमा आवद्ध रहेका बताए । आफूहरु अब सहकारी पीडितको न्यायका लागि मर्न पनि तयार भएर सडकमा जान लागेको उनले उद्घोष गरे । साथै, उनले अब सरकारको कागजी सहमतीमा यो आन्दोलन नरोकिने बताए । अब संगठित रुपमा सशक्त आन्दोलनमा छेड्ने उनको चेतावनी छ ।
‘सहकारी विभागमा यही आउँदो. ६ गते आइतबार १० बजेबाट ५ बजेसम्म धर्ना दिर्न कार्यक्रमको सुरुवात गर्दैछौं । पहिलो चरणको आन्दोलन सहकारी विभागको प्राङ्गनबाट सुरु हुन्छ । ८ गतेबाट हामी काठमाडौं, भक्तपुर र ललितपुरको प्रत्येक गल्ली–गल्लीमा कोणसभा, घरदैलो कार्यक्रम गर्छौं ।’ उनले भने, ‘उहाँहरुका गुनासो र सल्लाह सुझाव लिने काम गर्छौं । चैत १ गते देशभरका पीडित बचतकर्तालाई काठमाडौं आह्वान गर्छौं । चैत १ गतेबाट भने हाम्रो कार्यक्रम ज्यानको बाजी लगाएर लड्न हामी तयार छौं ।’
अब सहकारी बचतकर्ताले रकम पाउँछन्, पाउँदैनन् भन्ने ग्यारेन्टी सरकारले दिएनजस्तो आफूहरुलाई नलागेको उनले बताए । उनले सहकारी पीडित बचतकर्ताहरुलाई न्यायका लागि मर्न पनि पछाडि नहट्न आह्वान गरे । बीचमा कसैसँग मिल्ने, झुक्ने र साँठगाँठ गर्ने काम नगर्न पनि उनले सबै अभियन्ताहरुलाई आग्रह गरे । सोझा साझा पीडित बचतकर्तालाई न्याय दिलाउन आफूहरु लागिरहने उनको भनाइ छ ।
अभियानका महासचिव राजेश विष्टले नियम र ऐन कानुनअनुसार चलेका र बचतकर्तालाई दुःख नदिएका सहकारीले पनि आफूहरुले सुरु गर्ने आन्दोलनमा साथ दिनुपर्ने बताए । सहकारीका नाममा ठगी गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग गर्न उनले अपिल गरे ।
नेपाल प्रहरीका पूर्व आईजीपी एवं नेकपा (एमाले) का नेता सर्वेन्द्र खनालले सहकारीका बचतकर्तालाई राज्यले र ठगहरुले पीडित बनाएको बताए । सहकारी पीडितहरुको समस्या समाधान गर्न अहिलेसम्म विभिन्न आयोग बनेको र सम्झौता भएका भएपनि कुनै पनि सरकारले कार्यान्वयन नगरेको उनले बताए । नेता खनालले सहकारी ठगहरुले लुट मच्चाउँदा पनि सरकार हेरेर बसेको बताए । सरकारमा रहेकाहरुले सहकारीका ठगहरुसँग साँठगाँठ गरेको उनको आरोप छ ।
‘सहकारी चलाउने भ्रष्टाचार, दलालहरुसँग साँठगाँठ गरेर राज्यले पीडितहरुलाई अझ पीडित बनाएको छ । मेरो त निश्कर्ष यही हो,’– उनले भने । राज्य अभिभावक भएर पीडितको न्यायको पक्षमा उभिन आवश्यक रहेको उनले बताए । सरकारले चासो राख्ने हो भने अहिले भएका कानुन नै सहकारी ठगहरुलाई कारबाही गर्न पर्याप्त रहेको उनले बताए । सहकारी ठग, सुन्डमुसुन्ड र अपराधिहरु सरकारकै वरिपरी घुमिरहेका उनको आरोप छ ।
त्यसैगरी, आफूलाई ललितपुर, कुमारीपाटीस्थित गुडविल बचत तथा सहकारी संस्थाको बचतकर्ता बताउने यमबहादुर विष्टले चार वर्षदेखि आफूले बचत रकम फिर्ता नपाएको बताए । उनले सरकारले पनि कुनै पहल कदमी नलिइदिएको भन्दै दुःख व्यक्त गरे । आफूले पैतृक सम्पत्ति बेचेर आएको ११ करोड पैसा उक्त सहकारीमा राखेको उनको भनाइ छ ।
अर्का सहकारी पीडित दृष्टिबिहीन उमेश थापाले आफू देउराली बहुउद्देश्यीय सहकारीबाट ठगिएको बताए । आफूसहित ७ जनाको करिब ४० लाख रुपैयाँ उक्त सहकारीले ठगी गरेको उनले बताए । उक्त पैसा देउराली सहकारीमा फस्दा अहिले काम गर्नसमेत गाह्रो भएको उनले बताए । आफूजस्तै धेरै दृष्टिबिहीन र अपाङ्गको बचत सहकारीले ठगेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array