महासमितिमा पेश गर्ने प्रस्तावमा जनसम्पर्क समितिको आपत्ति !

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ फाल्गुन २०८०, सोमबार
3 Min Read
Aa
काठमाडौं ।  नेपालको जेठो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको सोमबारदेखि सुरु हुन लागेको  महासमिति बैठक प्रति धेरैले चासो देखाएका छन् । १४ औं महाधिवेशनका बेला नीतिगत वहस नगरेको नेपाली कांग्रेसले अहिले नीतिका विषयमा छलफल गर्नका लागि महासमिति बैठकलाई नीति अधिवेशनको संज्ञा पनि दिएको छ । देश विदेशबाट गरेर झण्डै २५ सय महासमितिको बैठकमा सहभागी हुँदै छन् ।
नेपाली कांग्रेस प्रवाशमा गठन भएको पार्टी हो । २००३ साल माघ १२ गते बीपी कोइरालाले भारतको कोलकत्तामा नेपाली कांग्रेसको पार्टी स्थापना गरेका थिए । नेपालमा राणा शासनविरुद्ध संघर्ष गर्न स्थापना भएको पार्टीले नेपालका सबै आन्दोलनहरुमा निर्णायक र नेतृत्वदायी भूमिका पनि निर्वाह गरेको छ ।
प्रवासबाट स्थापना भएर देशको जेठो र लोकतान्त्रिक तथा तीन तहमै पहिलो शक्तिको रुपमा रहेको नेपाली कांग्रेसले विधि र विधानका साथै नीति र नियम बनाउने संघारमा उभिएको छ । नेपाली कांग्रेसलाई युग र जनमुखी बनाउन तथा सबैलाई अटाउने अभियान लिएको बताए पनि यसले अहिले आएर फेरि प्रवाशमा रहेका कार्यकर्ताको चित्त भने दुखाएको छ ।
पार्टीका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्ताव गरेको दस्तावेजलाई आधार मान्ने हो भने प्रवाशमा बस्ने नेपाली कांग्रेसका कार्यकर्ताहरुको चित्त बुझेको छैन । नेपाली कांग्रेसले प्रवाशमा संगठनविस्तार गर्दा जनसम्पर्क समिति बनाएको छ । अहिले विदेशमा जनसम्पर्कसमितिहरु ३८ वटा रहेका छन् । महासमितिमा पेश गर्ने प्रस्तावमा जनसम्पर्कसमिति नभएका देशहरुमा विस्तार गर्ने कुरा गरिएको छ ।  यसैगरी अन्तर्राष्ट्रिय महासंघको पनि परिकल्पना गरिएको छ । तर, महाधिवेशन र महासमितिमा जनसम्पर्क समितिबाट प्रतिनिधित्व गराउने कुरा र अधिकार दिने विषयमा अनुदार बनेको जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले बताए । उनले भने ‘अहिलेको अवस्थामा विदेशमा रहेका नेपालीहरुलाई संगठित गर्नका लागि उदार हुनुको साटो अनुदार भएको पाइयो, यस्तो भयो भने कांग्रेसको संगठन गर्न निकै अप्ठेरो छ ।’
यसैगरी विगतमा जनसम्पर्क समितिका सभापतिहरु विधान अनुसार आमन्त्रित केन्द्रीय सदस्य हुन्थे । तर अहिले त्यो प्रावधान पनि हटाउने गरी प्रस्ताव आएको छ । जनसम्पर्क समिति अमेरिकाका सभापति तथा पूर्व आमन्त्रिक केन्द्रीय सदस्य आनन्द विष्टले यस्तै तरिका हो भने किन र केका लागि कांग्रेसको संगठन गर्ने भन्ने प्रश्न उब्जिएको बताए ।
यसैगरी जनसम्पर्क समितिका बेल्जियमका पूर्व सभापति गंगाधर गौतमले अन्य पार्टीहरुले प्रवास (विदेश)मा संगठन विस्तारका लागि आक्रामक रणनीति बनाइरहेका बेला नेपाली कांग्रेसले बाहिर खुला जस्तो देखाए पनि व्यवहारिकरुपमा गलत प्रस्ताव ल्याएको बताए ।
जनसम्पर्क समिति जापानका पूर्व सभापति नारायण सुवेदीले पनि महाधिवेशनमा विगतमा ५ सय सदस्य बराबर ७ जना विदेशबाट महाधिवेशन प्रतिनिधि सहभागी हुने व्यवस्था रहेकोमा अहिलेको प्रस्ताव पारित भए यो संख्या पनि घट्ने र यसले झनै संगठन विस्तार गर्ने योजना सफल नहुने बताए । जनसम्पर्क समितिका सभापतिहरु अहिले काठमाडौंमा आन्तरिक छलफलमा रहेका छन् । उनीहरुले महासमितिको बैठकमा संयुक्तरुपमा प्रस्ताव पेश गर्ने तयारी गरिएको पनि जानकारी दिएका छन् ।  आफूहरु पार्टीको सिपाई भएकाले अधिकार खुम्च्याएर भन्दा पनि बढी दिएर क्रियाशील गराउनुपर्छ भन्ने पक्षमा रहेको पनि जनसम्पर्क समितिका सभापतिहरुको एकमत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array