दीपक खड्काले खोले नेपाल स्काउटका तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीका काला कर्तुत, स्काउटलाई करोडौं नोक्शानी पुर्याएको दाबी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ फाल्गुन २०८०, सोमबार
5 Min Read
Aa

काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद दीपक खड्काले नेपाल स्काउटको वर्तमान तदर्थ नेतृत्वले आफ्नो विरुद्धमा नियोजित रूपमा व्यक्तिगत तथा राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यले विभिन्न अनर्गल, मिथ्या र तथ्यहिन समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै आपत्ति जनाएका छन् । खड्काले आफू नेतृत्वको खड्का ल्याण्ड डेभलप्मेन्ट प्रा.ली.लाई जोडेर स्काउटको वर्तमान तदर्थ नेतृत्वले तथ्यहीन रुपमा प्रहार गरेको दाबी गरेका छन् ।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै खड्काले भने–‘नेपाल स्काउट र यसको वर्तमान नेतृत्व लोकबहादुर भण्डारी र रामप्रसाद भट्टराईले नेपाल स्काउटजस्तो पवित्र सामाजिक संस्थामा बसेर त्यो संस्थाको ब्रम्हलुट गर्दै आएका छन् । निजहरुले आफ्नो कर्तुतहरुलाई छोप्न र आम शुभेच्छुक तथा नागरिकहरुको ध्यानलाई अन्यत्र मोड्न यो प्रपञ्च गराईरहेका छन् । साथै, प्रायोजित रुपमा मेरो राजनितिक जीवन समाप्त गर्न गरिएको डिजाइन मात्र हो भन्ने कुरामा कुनै द्धिविधा छैन ।’
पत्रकार सम्मेलनमार्फत खड्काले नेपाल स्काउटमा भए÷गरेका बेथितिहरुको पनि भण्डाफोर गरेका थिए । उनकाअनुसार सातै प्रदेशका प्रदेश तदर्थ समिति तथा ७५३ स्थानीय निकायहरुमा गठित स्थानीय तह तदर्थ समिति कानूनबिपरित गठन गरिएको र सबै एमालेका सक्रिय कार्यकर्ताहरुमात्र भर्ती गरिएका कारण रबिन दाहाल नेतृत्वको समितिले खारेज गरिदिएकोमा लोकबहादुर भण्डारी आएपछि पुःन पुर्नस्थापित गरेको छ ।
यस्तै, विधानतः प्रत्येक ४ वर्षमा केन्द्रिय कार्यसमितिको निर्वाचन हुनुपर्नेमा विगत ६ वर्षदेखि कार्यसमितिको निर्वाचन नभएको र तदर्थ समितिको भरमा काम संचालन हुँदै आएको पनि खड्काले उजागर गरेका छन् ।
२०७५ साल पुष १६ मा छ महिनाभित्रमा निर्वाचन सम्पन्न गरि निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने शर्तमा गठन गरिएको तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारी नेपाल स्काउटको नेतृत्वमा बसेर एमालेको संगठन निर्माणमा सक्रिय भएको खड्काको दाबी छ । उनले भने,‘प्रदेश एवं स्थानीय तहमा भर्ति गरिएका आफ्ना कार्यकर्ताहरुलाई स्काउटजस्तो सामाजिक संस्थाबाट तलव, भक्ता एवं सुबिधा उपलब्ध गराई पार्टीको संगठनमा खटाउने गरेका छन् । यसरी भर्ती भएका कार्यकताहरुलाई तलब भक्ता खुवाउन स्थानीय तहहरुसंग बजेट निकासा माग गर्ने र लिने गरेको पाईएको छ ।’
भण्डारीले लैनचौर चोकदेखि दुग्ध विकास संस्थानतर्फ जाने मुल सडकमा रहेको ब्यवसायीक भवन ६ वर्षदेखि भाडामा नलगाई संस्थालाई करिव सात करोडभन्दा बढी रकम हानी तथा नोक्सानी पुर्याएका पनि खड्काको दाबी छ । साथै, लैनचौरमै रहेको अर्को भवन (साविक मेला रेष्टुरेण्ट रहेको भवन) समेत भाडामा नलगाई संस्थालाई करिव ५ करोड हानी नोक्सानी पुर्याएको भन्दै खड्काले भण्डारीको कालो कर्तुत खोलेका हुन् । उनले थपे,‘यसरी हेर्दा अख्यिारको गलत प्रयोग गरी प्रत्यक्ष रुपमा करिव १२ करोड जति रकम नेपाल स्काउटलाई हानी नोक्सानी पुर्याएको देखिन्छ । यो गम्भीर अपराध हो ।’
खड्काले भण्डारीले कार्यक्रम, तालीम तथा गोष्ठीहरु सञ्चालनका नाममा एमालेका कार्यकर्ता पोस्ने एवं एमालेको संगठन बिस्तार गर्ने कार्य गर्ने गरेको साथै यस्ता कार्यक्रमहरुको आयोजना गर्दा यातायात, आवास तथा भोजन ब्यबस्थापनका नाममा आर्थिक अनियमितता गर्ने गरेको पनि गम्भीर आरोप लगाएका छन् ।
खड्काकाअनुसार भण्डारीले राष्ट्रिय प्रधान कार्यालय एवं प्रदेश कार्यालयहरुमा एमालेका कार्यकर्ताहरु लाई भर्ती गरी पार्टी राजनितीलाई सहयोग पुर्याएको, भण्डारीले एशिया प्रसान्त क्षेत्रीय स्काउट समितिको सदस्य पदको लागी निर्वाचनमा उम्मेद्धार हुँदा नेपाल स्काउटको कोषबाट खर्च हुनेगरी लाखौं रुपयाँको सामाग्री खरीद गरी प्रचारप्रसारका लागी बाँडेका छन् ।
यस्तै, राष्ट्रिय परिषद २०७२ सालदेखि रिक्त रहेकोमा २०७६ सालमा तत्कालीन एमाले बाट नियुक्त युवा तथा खेलकुदमन्त्री जगत बहादुर बिश्वकर्मालाई प्रभावमा पारी नेपाल स्काउट ऐन २०५० बिपरीत स्काउट नियमावली, कर्मचारी नियमावली र आर्थिक नियमावली संसोधन गरी मनोमानीपुर्वक कर्मचारीको रुपमा ३८ जना एमाले कार्यकर्ताहरु भर्ती गरेको साथै आर्थिक अनियमिततालाई पनि सहज बनाएको भण्डारीमाथि खड्काको गम्भीर आरोप छ ।
भण्डारीले नेपाल स्काउटको नाममा रहेका सम्पत्तिहरु भाडामा लगाउँदा वा भवनहरु निर्माण गर्दा संस्थालाई अहित हुनेगरि बार्गेनिङ्ग गर्ने तथा आर्थिक अनियमितता गर्ने गरेको, केपी शर्मा ओली प्रधानमन्त्री भएको एक वर्ष पुरा भएको अवसरमा २० लाख भन्दा बढी रकम खर्च गरेर बधाई एवं शुभकामना छापेको साथै नेपाल स्काउटले प्रयोग गर्ने स्काफमा के.पि.ओली को फोटो छापेर सच्चा स्काउटरहरुलाई उक्त स्काफ प्रयोग गर्न बाध्य पारेको पनि खड्कोको आरोप छ ।
नेपाल स्काउटको लैनचोरमा रहेको सम्पत्ति बिना प्रकृया तथा बिना प्रतिस्पर्धा आफूसमेत संलग्न रहेको केटिएम स्टोरलाई भाडामा दिई मिलेमतोमा ठूलो अनियमितता एवं भ्रष्टचार गरेको र सोही स्थानमा नेपाल स्काउट आँफैले ठूलो भवन निर्माण गर्दा समेत अनियमितता एवं भ्रष्टचार गरेको भनेर खड्काले भण्डारीमाथि आरोप लगाएका छन् ।
यस्तै, खड्काले स्काउटका तदर्थ समितिका संयोजक भण्डारीले नेपाल स्काउटको स्वामित्वमा रहेका ब्यबसायीक भवनहरु नियमबमोजिम भाडामा लिई ब्यबसाय गर्दै आएका ब्यबसायीहरुबाट रकम असुली गर्ने र दिन नमानेमा पार्टीमा अबद्ध युवाहरुलाई प्रयोग गरेर धम्क्याउने, थर्काउने, बत्ती÷पानी काटीदिने, पार्कीङ्ग अवरुद्ध गर्ने, गेटमा तालाबन्धी गर्ने र हातपातसमेत गर्ने गरेको गम्भीर आरोप लगाए । उनकाअनुसार भण्डारीले व्यवसाय गरेर बसेकाहरुलाई शौचालयसमेत प्रयोग गर्न नदिएर अमानविय कार्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array