प्रतिपक्षीका कारण गणपूरक सङ्ख्या नपुगेको र बैठक अवरुद्ध हुन पुगेको आरोप लगाएपछि प्रतिपक्षी सांसदहरूले विरोध जनाए

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ फाल्गुन २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ ।  प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षी सांसदबिच विवाद भएको छ । शुक्रबार बसेको बैठकमा सत्तापक्ष सांसदले प्रतिपक्षीका कारण गणपूरक सङ्ख्या नपुगेको र बैठक अवरुद्ध हुन पुगेको आरोप लगाएपछि प्रतिपक्षी सांसदहरूले विरोध जनाएका थिए । प्रतिपक्षी सांसदहरूले विधेयक अघि बढाउन सरकारले सदनमा बहुमत पुराउन नसकेका आरोप लगाएका थिए ।

बैठकमा काँग्रेसका सांसद राजेन्द्र केसीले बिहीबारको बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक पेस हुने बेलामा विपक्षी दलका सांसदहरू बाहिर गएको बताएका थिए । उनले काँग्रेसको महासमिति बैठक चलिरहँदा पनि काँग्रेस सांसद बैठकमा सहभागी भएको बताए । सांसद केसीले धारणा राखेपछि प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए । एमाले एमाले प्रमुख सचेतक पदम गिरीले विधेयक पारित गराउने जिम्मेवारी सरकारको भएको भन्दै एमालेमाथि हिलो छ्याप्ने काम भएको बताए ।

त्यस्तै रास्वपाका विराजभक्त श्रेष्ठले संसद्को क्यालेन्डर अगाडी नै तय भएकाले काँग्रेसले त्यसलाई बेवास्ता गरेको बताउनुभयो । त्यस्तै राप्रपा सांसद ज्ञान बहादुर शाहीले पनि संसद्को क्यालेन्डर अनुसार सत्तापक्ष चल्न नसकेको आरोप लगाएका छन् । उनले यथास्थितिमा संसद् चल्न नसक्ने बताएका हुन् ।

त्यसलगतै माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसद्मा हुलहुज्जत नगर्न र सदन चल्ने वातावरण बनाउन आग्रह गरे । उनले संसद्मा सभामुखको भूमिकाप्रति पनि आपत्ति जनाए । उनले विभिन्न बहानामा सदन अवरुद्ध गर्ने प्रयास भएको भन्दै सदन चल्न नदिने भए राजीनामा दिएर सडकमा जान सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array