फोनिजद्वारा आन्दोलनका कार्यक्रम घोषणा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ फाल्गुन २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ ।  नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) नेपाल पत्रकार महासङ्घको गलत इतिहास सच्याउन लामो समयदेखि संघर्षरत रहेको सर्वविदितै छ । तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासङ्घ (तत्कालीन नेपाल पत्रकार संघ)को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन् । यस विषयमा महासङ्घलाई विभिन्न चरणमा अनुरोध र आह्वान गरिएको छ । तर, गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न महासङ्घ तयार भएन । सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासङ्घ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासङ्घको नीतिविरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको छ । तसर्थ सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष तत्काल कायम गर्न माग गर्दै निम्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

आन्दोलनका कार्यक्रमहरु :

१. मिति २०८० फागुन १४ गते सोमबार बिहान ७ बजे फोनिजका सबै समितिका नेतृत्वसँग आन्दोलन बारे भर्चुअल सम्वाद गर्ने ।

२. मिति २०८० फागुन १५ गते बिहान ११ बजे नेपाल पत्रकार महासङ्घका सबै समितिलाई फोनिजका सबै समितिमार्फत ७ दिने अल्टिमेटमसहित ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष  कायम गर’ भन्ने मागसहित स्मरणपत्र बुझाउने ।

३. मिति २०८० फागुन १६ गते बिहान ११ बजे सरोकारवाला पत्रकारजन्य संघसंस्था र व्यक्तिहरुसँग छलफल गर्ने ।

४. मिति २०८० फागुन १७ गते सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष  कायम गर भन्ने सन्देश फोनिजका सम्पूर्ण सदस्यहरुले नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरीलाई मोबाइलमा पठाउने ।

५. मिति २०८० फागुन १९ गते फोनिजका सम्पूर्ण सदस्यहरुले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष  कायम गर भन्ने मागसहित सन्देश पठाएको एसएमएसको स्कृनसट र संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको फोटो फेसबुकलगायत सामाजिक सञ्जालहरुमा पोष्ट गर्ने ।

६. स्मरणपत्र बुझाइएको मितिले ७ दिनभित्र माग पूरा नभएमा मिति २०८० फागुन २१ गते नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र सबै जिल्ला शाखाहरुमा अनिश्चितकालीन तालाबन्दी गर्ने ।

प्रतिक्रिया दिनुहोस्

Array