भूतपूर्व सैनिक सम्मेलन-२०८० समुद्‍घाटन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ फाल्गुन २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ । प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले मध्य पृतना हे.क्वा. अन्तर्गत भरतपुर ब्यारेक चितवनमा आयोजित भूतपूर्व सैनिक सम्मेलन २०८० को आज फाल्गुण ११ गते समुद्‍घाटन गर्नुभयो । सो अवसरमा सम्बोधन गर्दै प्रधान सेनापतिले अवकाशप्राप्त एवं बहालवाला सैनिकहरु एकाघरका परिवार रहेको उल्लेख गर्दै संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अग्रजहरूले निर्वाह गर्नुभएको निःस्वार्थ तथा गहन भूमिकाको प्रशंसा जति गरेपनि कम हुने बताउनु भयो । उहाँले विदेशमा सजिलै धन कमाउन सकिन्छ भन्ने भ्रममा परि आफूलाई जोखिममा नपार्न सुझाव दिँदै आफ्नै गाउँ ठाउँमा प्रचुर संभावनाहरु रहेको हुँदा सैनिक जीवनको दौरान प्राप्त ज्ञान सीप र अनुभव आफ्नै समाजको विकास उत्थानमा लगाउन आग्रह गर्नुभयो ।
सम्मेलनमा चितवन निवासी ९६ (छयानब्बे) वर्षका ग.प्र.हु. गंगा बहादुर सुनुवार (अ.प्रा.) र स्वर्गीय सुबेदार गजेन्द्र बहादुर कार्की (अ.प्रा.) को श्रीमती मकवानपुर निवासी ९८ (अन्ठान्नब्बे) वर्षकी श्रीमती गोमा देवी कार्कीलाई सम्मान गरिएको थियो । यस्तै, सर्वोत्कृष्ट लघु उद्यमी/व्यवसायीहरू चितवन निवासी गु.का.हु. रङ्ग बहादुर खवास (अ.प्रा.) को श्रीमती जगिसरा खवास र चितवन निवासी अवकाश प्राप्त जम. चन्द्र प्रकाश पौडेल (अ.प्रा.) लाई प्रशंसा पत्र एवं पुरस्कार वितरण गरिएको थियो । यस्तै, चार वा सो भन्दा बढी सन्ततिहरू नेपाली सेनामा रहेका ७ (सात) जना अभिभावकहरूलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त १२ (बाह्र) जनालाई व्हिल चेयर, बैसाखी र Blind Stick तथा आर्थिक सहयोग वितरण गरिएको थियो । त्यसै गरी, कल्याणकारी कार्यक्रमहरू मार्फत भूतपूर्व सैनिकहरू, आश्रित परिवार एवं बहालवाला सैनिक परिवारजनलाई स्वरोजगार बनाई आर्थिक रूपले आत्मनिर्भर र स्वावलम्बी बनाउन नेपाली सेना कल्याणकारी
बोर्डले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कसँगको सहकार्यमा सञ्चालन गर्दै आएको सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तरगत ५ (पाँच) जना उद्यमी व्यवसायीहरूलाई उद्यमशील कर्जाको चेक हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array