राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ फाल्गुन २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं ।  प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले युवाहरू नै राष्ट्रको भविष्य भएको र युवाहरूको राष्ट्रप्रतिको माया, समर्पणभाव र निष्ठाले नै हाम्रो राष्ट्र, राष्ट्रियता, भाषा, सँस्कृति लगायत सबै पक्ष बलियो हुने एवम् यिनको संरक्षण र सम्वर्द्धन हुने कुरा बताउनु भएको छ । राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय, नवलपरासीमा आज फाल्गुण १२ गते आयोजित सि.सं.१८ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा सम्बोधनका क्रममा प्रधान सेनापतिले उक्त कुरा उल्लेख गर्नुभएको हो । आजको दीक्षान्त समारोहमा ५66 जना क्याडेट छात्रछात्राहरू दीक्षित भएका छन् ।

 प्रधान सेनापतिले राष्ट्रिय सेवा दलका क्याडेटहरूले आफ्नो तालिमको दौरान हासिल गरेका सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, राष्ट्रियता, सामाजिक उत्तरदायित्व तथा अनुशासनसम्बन्धी विविध सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले भविष्यमा आउनसक्ने प्रतिकूल परिस्थितिलाई सहज रुपमा सामना गर्न सहयोगी सिध्द हुने विश्वास व्यक्त गर्नुभयो । सम्बोधनकै क्रममा प्रधान सेनापतिले आफ्नो मिहिनेतको पसिना स्वदेशकै माटोमा बगाउन सके मात्र देशले समृद्धि हासिल गर्ने कुरा उल्लेख गर्दै क्याडेट छात्रछात्राहरूलाई देश निर्माणका लागि आ-आफ्नो क्षेत्रबाट योगदान दिन समेत सुझाव दिनुभयो । उहाँले क्याडेट छात्रछात्राहरूको आत्मियता NCC Alumni मार्फत कालान्तरसम्म दीगो राख्न नेपाली सेना, राष्ट्रिय सेवा दल तथा आफ्नो व्यक्तिगत तर्फबाट हर सम्भव प्रयास रहने विश्वास दिलाउँदै उच्च जाँगर र हौसलाका साथ तालिम सफलतापूर्वक सम्पन्न गर्नु भएका छात्रछात्राहरू लगायत अभिभावक, शिक्षक वर्ग एवम् सम्बन्धित विद्यालयहरूलाई हार्दिक बधाई ज्ञापन गर्नुभयो ।   दीक्षान्त समारोहमा राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी श्री सुरेश कुमार कार्की (अ.प्रा.) ले राष्ट्रिय सेवा दलको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

 दीक्षान्त कवाज समारोहमा राष्ट्रिय सेवा दलका पूर्व कार्यकारी महानिर्देशक उपरथी श्री रमिन्द्र क्षेत्री (अ.प्रा.), रथीबृन्द तथा अधिकृतहरू, नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, प्रधानाध्यापक तथा अभिभावकहरू, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रधान सेनापतिले सर्वोत्कृष्ट क्याडेटलाई पुरस्कार वितरण गर्नुभयो । वि.सं. २०२२ सालमा स्थापित राष्ट्रिय सेवा दलबाट हालसम्म सिनियर डिभिजन तथा जुनियर डिभिजन गरी जम्मा ७३,२७३ (त्रिहत्तर हजार दुईसय त्रिहत्तर) जनाले राष्ट्रिय सेवा दल तालिम सम्पन्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array