मिटरब्याज, सहकारी र लघुवित्त पीडितहरु सडकमा आउँदै, ज्यानकै बाजी लगाएर आन्दोलन छेड्ने चेतावनी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ फाल्गुन २०८०, शनिबार
4 Min Read
Aa

काठमाडौं, १२ फागुन । मिटरब्याज पीडितहरुले विगत केही दिनदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरु लामो समय पैदल हिँडेर काठमाडौं आएर प्रदर्शन गरिरहेका हुन् । सकारले मिटरब्याज पीडितलाई न्याय दिन कानून निर्माण गरेको भएपनि पीडितको समस्या जस्ताकोतस्तै छ । उनीहरुले निरन्तर प्रदर्शन गरिरहेका छन् । त्यसैगरी लघुवित्त पीडित र सहकारी पीडितहरुको पनि समस्या उस्तै छ । सहकारीबाट पीडित बनेका बचतकर्ताहरुले त आन्दोलनको घोषणा नै गरिसकेका छन् । यसै सन्दर्भमा आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले लघुवित्त पीडित, मिटरब्याज पीडित र सहकारी पीडितहरुसँग विशेष साक्षतकार कार्यक्रम गरेको छ ।
रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पीडितहरुको समस्यामा राज्य गम्भीर नभएको बताए । उनले आफूले जनताको सही एजेण्डा बोक्ने आन्दोलनलाई समर्थन गरिरहेको बताए । मिटरब्याज पीडितहरुको पीडामा राज्यले मलमपट्टी लगाउन ढिला गर्न नहुने उनको भनाइ छ । नेपालका ठूला–ठूला परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका रहेको बताउँदै उनले मिटरब्याज पीडितहरुको पक्षमा उभिन पनि नेपाली सञ्चार जगत सक्षम रहेको समेत बताए ।
‘मिटरब्याज पीडितहरुको पीडा हामी सबै नेपालीहरुको पीडा हो । राज्य कहाँ छ ? प्रधानमन्त्री कहाँ हुनुहुन्छ ? जनताको प्रश्न छ । सहकारी पीडित, मिटरब्याज पीडित र लघुवित्तबाट पीडित भएका हरुलाई हामी सबै सञ्चारकर्मीहरुले साथ दिनुपर्छ । मेरो आग्रह र अनुरोध पनि छ,’– धमलाले भने ।
त्यसैगरी, सहकारी बचतकर्ता संरक्षणा राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले सहकारी पीडितहरुको पक्षमा आफूहरुले ६३ दिन आन्दोलन गरेको बताए । आन्दोलनका क्रममै भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ प्रदर्शनस्थलमै आएरपश्चात सात बुँदे सहमति भएको बताए । त्यसपछि आफूहरुले प्रतिवेदन सरकारलाई बुझाएको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी पीडितहरुको बचत रकम चैत मसान्तभित्रै फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गरेपनि अहिलेसम्म कुनै कामको सुरुवात नै नभएको बताए ।
आफूहरुले सरकार जवाफदेही बनोस्, आफूहरु अराजक बन्न हुन्न भनेर गत माघ २५ गते प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम राखेर प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालयलगायतको प्रतिनिधिको उपस्थितिका लागि पत्राचार गरेपनि कोही जवाफदेही नभएको बताए । उनले अहिले आफूहरुलाई देशभरबाट १४ लाख पीडितहरुले समर्थन गरिरहेको बताए । सहकारी पीडितहरुको पीडा अब विष्पोट हुने अवस्थामा पुगिसकेको उनको भनाइ छ । उनले सरकारले अब पनि नसुनेको खण्डमा चुपचाप नबस्ने बताए । सहकारी पीडितको न्यायका लागि आफू बलिदानी दिन पनि तयार रहेको बताए ।
‘हामीलाई अहिले देशभरीबाट १४ लाखले समर्थन गर्नुभएको छ । ७४ लाख बचतकर्ता पीडितको यो पीडा अब विष्पोट हुने बेला भइसकेको छ । यदि सरकारले समयमा नसुनेको खण्डमा अब भने हामी चुपचाप बस्दैनौं । हामी ज्यानको बाजी लगाउन किन नपरोस्,’– उनले भने ।
अब देशभरबाट बचतकर्ताहरु काठमाडौं आउने तयारीमा रहेका उनले बताए । सरकारले आफूले गरेको सात बुँदे सम्झौता तत्काल कार्यान्वयन नगरेको खण्डमा अब दुःखदायी अवस्था सिर्जना हुने उनको चेतावनी छ ।
मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले आफूहरु विगत ३ वर्षदेखि निरन्तर आन्दोलनरत रहेको बताए । मिटरब्याज पीडितहरु लाखौंको संख्यामा रहेको र उनीहरुले आफ्नो उजुरी दर्ता गराउन नपाउँदै उक्त समस्या छानविनका लागि बनेको आयोगको म्याद सकिएको बताए । सकारले तत्काल आयोगमार्फत उजुरी दर्ता प्रक्रिया खुल्ला गराउन पर्ने, पक्राउ पुर्जी, नषेधाज्ञा खारेज हुनुपर्ने र वडामा दर्ता भएको फर्जी तमसुकहरु अवैध घोषणा हुनुपर्ने उनको माग छ । त्यसैगरी पीडकहरुले घटाएको हिंसा, हत्या, बलात्कारलगायतका घटनाहरु छानविन गरी उचित दण्ड सजायको ब्यवस्था गरिनुपर्ने उनको भनाइ छ । साथै, मिटरब्याज पीडितलाई सरकारले सहुलियत ऋण दिनुपर्ने उनको भनाइ छ । आफूहरु न्याय पाएको अनुभूति भएपछिमात्रै आन्दोलनबाट घर फिर्ता हुने उनले बताए । मिटरब्याज पीडित रीता शर्माले आफूले ८० हजार ऋण लिएकोमा साहुकारले चार गुणा बढाएर कागज गराएको बताईन् । अर्की पीडित शिलादेवी ठाकुरले आफूले पटक–पटक गरी तीन लाख ऋण लिएकोमा ३०औं लाख ब्याज जोडेर साहुकारले दुःख दिएको बताईन् ।

प्रतिक्रिया दिनुहोस्

Array