दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजदेखि सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ फाल्गुन २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं । दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित र प्रभावकारी रहेकाले आ-आफ्नो बालबालिकालाई खोप लगाउन सबैलाई अनुरोध गरेको छ ।महाशाखाका निर्देशक डा विवेककुमार लालले खोपको प्रभावकारिता ८५ प्रतिशत रहेको जानकारी दिनुभयो । दादुरारुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै आजदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरिने छ ।बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोपलाई डब्लुएचओले गुणस्तरययुक्त भनी प्रमाणित गरेको र औषधि व्यवस्था विभागले मान्यता दिएको बताउनुभयो ।

उहाँले खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउने जस्ता समस्या देखिए पनि नआत्तिन आग्रह गर्नुभयो । खोप लगाएपछि बच्चामा समस्या हुने भएकाले जिल्लामा आकस्मिक उपचारको टोली पनि गठन गरिएको छ ।भारतसँग सिमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइदैछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने छ । अभियानमा करिब ५७ लाख बालबालिकालाई दादुरा-रुवेला विरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ ।

सन् २०२६ सम्म दादुरा-रुवेला निवारण गर्ने लक्ष्यका साथ सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो । गत वर्ष १९ जिल्लामा दादुरा-रुवेला महामारीका रुपमा फैलिँदा एक हजार तीन सय ४९ जना सङ्क्रमित भएका थिए । दादुरा–रुवेला सबभन्दा बढी सङ्क्रामक रोग हो । एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्ने चिकित्सकहरुले बताएका छन् ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array