पृतनापति समन्वयात्मक बैठक २०८० सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ फाल्गुन २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाण्डौं । प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले असल आशय, मुलुक र संस्था प्रति निष्ठा एवं नेपाली जनताको हित चिताई प्राप्त जिम्मेवारीहरु निर्वाह गर्न नेपाली सेनाका सबै तहका कमाण्डरहरुलाई निर्देशित गर्नु भएको छ । मिति २०८० फाल्गुण १६ गतेदेखि सञ्चालन भएको पृतनापति समन्वयात्मक बैठक २०८० को आज मिति २०८० फाल्गुन १७ गते समापन गर्नुहुँदै प्रधान सेनापतिले सदाशय राखेर गरिएको कामको सिलसिलामा हुने कमिकमजोरी सुधार गर्न सकिने तर गलत मनशायले गरिने कामको जवाफदेहिता सम्बन्धित व्यक्तिमै रहने एवं आवश्यकता अनुसार परिस्थितिको सामना गर्न तयार रहनु पर्ने कुरा बताउनु भयो ।

नेपाली सेनाको अपरेशनल गतिविधि सम्बन्धी जानकारी पेश गर्नुका साथै पेशागत कारवाहीहरुमा सहजता, बन्दोबस्ती गतिविधिमा सरलता, कार्य सम्पादनका सिलसिलामा कमिकमजोरी भए पहिचान गरी सुधारका उपायहरु अवलम्वन गर्न सहज होस् भनि पृतनापति समन्वयात्मक बैठकको आयोजना गरिएको बताउनु हुँदै प्रधान सेनापतिले वर्तमान परिस्थितिको जानकारी प्राप्त गरी आईपर्न सक्ने चुनौतीहरुको पहिचान एवं ती चुनौतीहरुको सामना गर्न अपनाउनु पर्ने रणनीति तथा कार्यनीति निर्धारण गर्न बैठकको छलफल तथा प्रस्तुतीकरण सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउने लक्ष्यका साथ समग्र नेपाली सेनाको व्यवसायिकता अभिवृध्दि गर्दै देश र जनताको सेना प्रतिको अपेक्षा पुरा गर्न सकलदर्जाले जिम्मेवार भई काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले राज्यबाट प्राप्त सबै खाले जिम्मेवारी निर्वाहका क्रममा आधुनिक सैन्य प्रविधिको पहिचान एवं सदुपयोग गर्न सक्नु पर्ने कुरा बताउनु भयो ।

राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा नेपाली सेनाले प्राप्त गरेको सफलता एवं हासिल गरेको ख्याती सकलदर्जाको सामुहिक प्रयत्नबाट सम्भव भएको कुरा स्मरण गर्दै प्रधान सेनापतिले पृतनास्तरमा हालसम्म भएका प्रभावकारी कार्यहरुको लागि पृतनापतिहरुलाई धन्यवाद दिनुभयो । बैठकमा वर्तमान सुरक्षा परिस्थितीको विश्लेषण, अपरेशनल अवस्था लगायत पृतनापतिहरुले प्रधान सेनापति समक्ष गर्नु भएको कमाण्ड प्रतिबद्धताको प्रगति प्रतिवेदन, नेपाली सेनाको Vision 2030 कार्यान्वयनको अवस्था, संचालित तालिमहरुको प्रभावकारिता तथा गत भाद्र महिनामा सम्पन्न पृतनापति समन्वयात्मक बैठकको मिनट्समा उल्लेख भएका विषयहरुको प्रगति सम्बन्धमा गहन छलफल भएको थियो ।      जंगी अड्डामा आयोजित बैठकको समापनका अवसरमा बलाधिकृत रथी श्री अशोकराज सिग्देल उपस्थित हुनुहुन्थ्यो । यस्तै, त्यस अवसरमा नेपाली सेनाका विभागीय प्रमुखहरु, पि.एस.ओज् तथा पृतनापतिहरु, निर्देशक एवं वाहिनीपतिहरु लगायत अधिकृतहरुको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array