निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ फाल्गुन २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं,  निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दै सो जानकारी गराउनुभएको हो ।

प्रवक्ता पौडेलका अनुसार आगामी चैत २४ गते बिहान १० देखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गरिने र सोही दिन बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

उम्मेदवारको विरोधमा चैत २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने पनि उहाँले बताउनुभयो । चैत २६ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरी ६ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

आयोगका अनुसार चैत २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने कार्यतालिका छ । त्यस्तै, दिउँसो १ देखि ३ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

निर्वाचन कार्यक्रमअनुसार वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उक्त बन्दसूचीबाट नाम हटेको अवस्थामा बाहेक उपनिर्वाचनमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको आयोगले प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array