अर्थतन्त्रको कठिनपूर्ण अवस्थाबाट देश विस्तारै सकारात्मक दिसातर्फ : अर्थमन्त्री

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ फाल्गुन २०८०, शुक्रबार
3 Min Read
Aa

अर्थमन्त्री डा. प्रकाशसरण महतले मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा पर्न थालेको बताउनुभएको छ । अर्थतन्त्रको कठिनपूर्ण अवस्थाबाट देशले विस्तारै सकारात्मक दिसातर्फको बाटो समातेको उहाँको भनाइ छ ।

बागलुङको पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको दशौं दिन शुक्रबार पञ्चकोटमा आउनुभएका अर्थमन्त्री डा. महतले सरकारको सकरात्मक पहलबाट मुलुकको अर्थतन्त्र चलायमान हुनथालेको बताउनुभयो ।

कोभिड महामारीका कारण अर्थतन्त्रमा आएको शिथिलता, पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा देखापरेको समस्याका कारण मुलुकको आर्थिक अवस्था कठिनपूर्ण थियो, अर्थमन्त्री महतले भन्नुभयो, ‘‘सरकारको निरन्तर सकारात्मक प्रयासका कारण अर्थतन्त्रले आफ्नो लय समातेको छ । देशमा पर्यटक आगमन वृद्धि भएको छ ।’

बैंक तथा वित्तिय संस्थाहरुमा देखा परेका समस्याहरु विस्तारै समाधान हुनथालेको उहाँले चर्चा गर्नुभयो । बैंकको ब्याजदर पनि घटन थालेको उहाँले बताउनुभयो । मुल्यवृद्धि घटेर लगानी गर्ने वातावरण तयार हुँदैगएको उहाँको भनाइ छ ।

सरकारले अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्न पहल गरेका कारण आर्थिक गतिविधिहरु विस्तारै बढ्न थालेको उहाँले चर्चा गर्नुभयो । राष्ट्रिय गौरबका आयोजना मध्यपहाडी राजमार्ग र कालिगण्डकी कोरिडोरलाई पूर्णता दिन सरकारले आगामी बजेटमा पनि प्राथमिकता दिने उहाँले बताउनुभयो ।

बागलुङको पञ्चकोटलगायतका पर्वत, म्याग्दी र मुस्ताङका धार्मिकस्थललाई जोड्नेगरी सडक पूर्वाधार निर्माणमा सरकारले लगानी बढाउने अर्थमन्त्री महतले विश्वास दिलाउनुभयो ।

सरकारले बजेट प्रणालीलाई अनुशासित बनाउने, आम्दानीको दायरालाई फराकिलो बनाउने र सहकारी तथा वित्तीय क्षेत्रमा आएका समस्यालाई समाधान गर्न पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो । सरकारले अर्थतन्त्र सुधारका लागि काम गरिरहेकाले अहिल्यै आर्थिक गतिविधिका विषयमा नकरात्मक टिप्पणी गर्न नहुने उहाँको आग्रह छ ।

पञ्चकोटमा धार्मिक संरचनाहरु निर्माण गर्न सरकारको पनि साथ रहेको बताउँदै महायज्ञमार्फत संकलन भएको रकमबाट पञ्चकोटमा धार्मिक संरचनाहरु निर्माण गरेर लाखौं पर्यटकहरु ल्याउन सकिने उहाँले विचार व्यक्त गर्नुभयो । धर्म, संस्कृति र सभ्यतालाई जोगाउँदै आउँदो पिँढीमा विस्तार गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

अर्थमन्त्री महतले भन्नुभयो, ‘‘कानुनी र विधिको शासन स्थापित भएकाले अव हामीले हाम्रो आत्मविश्वास बढाउनु पर्छ । नेपालको आर्थिक रुपान्तरणको अभियान सुरु भएको छ । जलविद्युतको क्षेत्रमा ठूलो लगानी आउँदैछ । जसले हाम्रो विकास र समृद्धिको ढोका खोल्नेछ ।’’

ओझेलमा रहेको धार्मिकस्थललाई महायज्ञमार्फत प्रचारप्रसार र प्रवर्धनमा टेवा पुगेको उहाँको भनाइ छ । पञ्चकोट विश्वमै परिचित भएको उहाँले चर्चा गर्नुभयो । महायज्ञलाई सफल पार्न आफूले पनि व्यक्तिगतरुपमा सहयोग गरेको अर्थमन्त्री महतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array