गाउँपालिकाका तत्कालीन अध्यक्ष चौलागाईँसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ फाल्गुन २०८०, मंगलवार
2 Min Read
Aa

हुम्ला, हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईँसहित आठ जनाविरुद्ध दश लाख २९ हजार ३२५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चंखेली गाउँपालिका वडा नं. ३ स्थित मेलादेखि बासलधारासम्मको बाटो निर्माण योजनामा अनियमितता भएको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । चौलागाईसहित निमित्त प्रशासकीय अधिकृत विष्णु बहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर, असिस्टेन्ट सब–इन्जिनियर अजय भन्ने अज बहादुर बुढाविरुद्ध उक्त कार्यको नापजाँच नै नगरी गलत प्राविधिक मूल्याङ्कनसहित नापी किताब तयार गरी कार्य सम्पन्न प्रतिवेदन दिई भुक्तानीको टिप्पणी र आदेश सदर गराई झुट्टा बिल भरपाई तथा नक्कली कागजातहरू आधार मानी दश लाख २९ हजार ३२५ रुपियाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको आरोप लागेको छ ।

उपभोक्ता समितिका अध्यक्ष टेक बहादुर बुढा र सचिव हंस बहादुर ऐडीले आर्थिक वर्ष २०७४÷०७५ मा सम्झौता बमोजिमको कुनै कार्य नगरी झुट्टा बिल भरपाई, डोर हाजिरी लगायतका कागजात पेस गरी सो रकम भुक्तानी लिएको आरोप लागेको छ । यसैगरी, सो गाउँपालिकाको वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष शालिग्राम ऐडी नभएको कामलाई समेत सम्पन्न भएको भनी गाउँपालिकालाई सिफारिस गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद रजरिवाना सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

Gorkhapatraonline

प्रतिक्रिया दिनुहोस्

Array