महाशिवरात्री तथा सेना दिवस विविध कार्यक्रमका साथ सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ फाल्गुन २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं ।  आज मिति २०८० फाल्गुण २५ गते महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६१ औँ वार्षिकोत्सवको अवसरमा सेना दिवस विविध कार्यक्रमहरू सहित मनाइएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहको शुरूमा प्रमुख अतिथि सम्माननीय राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति श्री रामचन्द्र पौडेलले वीर स्मारकमा पुष्पाहार चढाइ सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्नु भयो । उहाँले नेपाली सेनाको वार्षिक प्रकाशन सिपाही-२०८० विमोचन गर्नुका साथै फ्रि-फल जम्पमा प्रथम र द्वितीय हुने क्रमशः अमल्दार टंक बहादुर डाँगी र सेनानी जगन्नाथ दनैलाई पुरस्कार प्रदान  गर्नुभयो । त्यस्तै, कार्यक्रममा सांगीतिक प्रस्तुती दिने भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्याण्ड टोलीका प्रमुखहरूलाई उपहार प्रदान गर्नुभयो ।

  समारोहमा नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा लगायत महाशिवरात्री तथा सेना दिवसको ब्यानर प्रदर्शन सहित पुष्पवृष्टि गरिएको थियो । कार्यक्रममा राइफल र तोपबाट बढाइँ गरिनुका साथै विविध सैनिक कला र सांस्कृतिक एवं सांगीतिक प्रस्तुती गरिएको थियो ।  समारोहमा सम्माननीय उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, मन्त्रीगण, पूर्व प्रधानमन्त्री, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, पूर्व प्रधान सेनापतिहरू, नेपाल सरकारका सचिवहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू, महामहिम राजदूतहरू, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरू, सैनिक सहचारीहरू, सञ्चारकर्मीहरू लगायत आम सर्वसाधारणको उपस्थिति रहेको थियो ।   यस अगाडी आजै प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले प्रधान सेनापति ब्यानर  प्रतियोगिता-२०८० मा गण तर्फ प्रथम हुने श्री श्रीजंग गण र गुल्म तर्फ प्रथम हुने श्री हनुमानध्वज गुल्मलाई प्रधान सेनापति ब्यानर प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array