सबै मान्ने हिसाबले अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ, यसो गर्दा उहाँमाथि न्याय हुन्छ : भीमसेनदास

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ फाल्गुन २०८०, शनिबार
7 Min Read
Aa

काठमाडौं, नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली राजनीतिमा सबैभन्दा खराब पात्रको रुपमा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल दर्ज भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई जनताको नजरमा सबैभन्दा बढि गिरेको नेताको रुपमा पनि चित्रण गरे ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता प्रधानले यस्तो बताएका हुन् । उनले प्रचण्डलाई अस्थिर नेतामात्रै नभएर धोकेबाज नेताको पनि संज्ञा दिए । आफ्नो सम्बोधनको सुरुवातमै अमेरिकी राष्ट्रपति अब्राहम लिन्कनको बहुचर्चित भनाई ‘यु क्यान फूल सम अफ द पिपुल अल द टाएम, एण्ड अल अफ द पिपुल सम अफ द टाईम, बट यु क्यानट फूल अल अफ द पिपुल अल अफ द टाईम’ सुनाए । उनले प्रचण्डले अब सबैलाई सधैं मुर्ख बनाउन नसक्ने दाबी गरे ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै भने–‘प्रचण्डजीले हाम्रा नेताहरुलाई पटक पटक धोका दिनुभएको छ, पहिले सुरुमा उहाँले गिरिजाबाबुलई झुक्याउनुभयो, राष्ट्रपतिको निर्वाचनमा रामराजाप्रसाद सिंहलाई उठाउनुभयो । उहाँले गिरिजाबाबुलाई राष्ट्रपति बनाउँछु भन्नुभएको थियो, तर उहाँ त्यो सहमतिबाट ब्याक हुनुभयो । अनि अर्कै उम्मेद्वार उठाउनुभयो । हाम्रो गिरिजाबाबुले पनि रामवरणलाई उठाएर जिताएर ल्याउनुभयो । हामीसँग सरकारमा भएकै बेलामा प्रचण्डले २०७४ मा एकाएक वाम गठबन्धन बनाएर हामीलाई झुक्याउनुभयो । फेरि २०७७ मा नेकपामा विवाद हुँदा पछि छोडेर हामीसँग जोडिन आउनुभयो । ०७९ को निर्वाचनमा हामीसँग गठबन्धन गर्नुभयो, अनि निर्वाचनपछि फेरि बालकोट भागेर जानुभयो, त्यताबाट पनि भागेर फेरि हामीसँग आउनुभयो । अब कतिपटक झुक्याउने ?’
उनले नेपाली राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र आफ्नो सभापति शेरबहादुर देउवा महामुर्ख नरहेको भन्दै अब झुक्याउने खेला बन्द गरिदिने चेतावनी दिए । उनले भने,‘अब कतिपटक झुक्याउने ? केपी ओली महामर्खु छन् र ? शेरबहादुर देउवा महामुर्ख छन् र ? त्यसकारण उहाँको बारम्बार झुक्याउने प्रवृत्तिले सबैभन्दा बढि घाटा, बेइमान र गद्दार र धोकेबाज भनेर चिनिएको कोही छ भने प्रचण्ड नै हो । हाम्रो समाजमा एउटा लोग्ने मान्छे तीन वटा विवाह गर्ने चलन थियो, पछि बहुविवाह आयो । प्रचण्ड त कस्तो बन्नुभयो भने एउटै व्यक्तिको दुई वटा श्रीमान । पहिलो श्रीमान केपी शर्मा ओली र दोस्रो श्रीमान हाम्रो शेरबहादुर देउवाजी बन्नुभयो । अहिले उहाँको निर्णय अप्राकृतिक र असान्दर्भिक हो । अनैतिक किसिमको रह्यो । यसले प्रचण्डको ईमेज खराब भयो । यसबारेमा माओवादीका साथीहरु पनि खुशी छैनन् ।’
अहिले प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्ने कुरा आफूहरुको महासमिति बैठकको कुरा भएको भन्ने गरेपनि त्यसमा कुनै सत्यता नरहेको उनको जिकिर छ । उनले भने,‘यो त उहाँको बहानामात्रै हो । हिडेन एजेण्डा भनेको अबको ९ महिनापछि सत्ताको नेतृत्व माधव नेपालालई सत्ता हस्तान्तरण गर्नुपर्ने सहमति थियो, तर त्यो उहाँले नचाहेको प्रष्ट देखियो । उहाँले बास्तवमा माधव नेपाललाई शिकार गरेको हो । प्रचण्डको राजनीति भनेको सत्ताको होडबाजीमा चलखेल गर्ने देखियो । अहिले प्रचण्डले एउटै गोलीले दुई वटा शिकार गर्नुभयो–पहिलो माधव नेपाल, दोस्रो शेरबहदाुर देउवालाई ।’
उनले आम जनताको नजरमा सबैभन्दा गिरेको नेता नै अहिले प्रधानमन्त्री प्रचण्ड बनेको दाबी गरे । उनले भने,‘अहिलेको जनमत कांग्रेस र एमाले मिल्नुपर्छ भन्ने हो । प्रधानमन्त्रीको रुपमा त अब पालो माधव नेपालको हो । हाम्रो दलको बैठक आजपनि बस्दैछ ।’्
एमाले अध्यक्ष ओलीले प्रचण्डलाई धेरै पहिल्यै र धेरैपटक चिनेको भएपनि आफ्नो सभापति देउवाले भने यसपालि मात्रै चिनेको प्रधानले सुनाए । उनले भने,‘शेरबहादुर देउवाले प्रचण्डलाई यसपालि चिन्नुभयो । तर, प्रचण्डलाई सबैभन्दा बढि चिन्ने व्यक्ति केपी ओली हो । ओलीको अभिव्यक्तिबाट नै थाहा हुन्थ्यो । प्रचण्डको धोकाधडीको राजनीति अब केपी कमरेडले अन्त्य गर्नुपर्छ । जनतालाई धेरै कुरा थाहा छ । को गलत र को सही भनेर ?’
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन सक्नेमा पनि नेता प्रधानले आशंका व्यक्त गरे । उनले भने–‘मलाई के लाग्छ भने प्रधानमन्त्रीले जुन विश्वासको मत लिने कुरा छ । एमालेपनि मुख्य मन्त्रालय नलिईकन सरकारमा गएको छ, सरकारको फोर पिलर भनेर हामीले जुन रक्षा, गृह र अर्थ र परराष्ट्र मन्त्रालय भन्छौं । एमालेले रक्षाबाहेक पाएको छैन् । सायद विश्वासको मत लिने बेलामा केपी ओलीले आफ्नो डिमाण्ड राख्छन् ।’
नेता प्रधानले पटक पटक अब प्रधानमन्त्री बन्ने पालो माधव नेपालको भएको सुनाए । ‘अहिले प्राकृतिक रुपमा सरकारको नेतृत्वको पालो माधव नेपालको हो । आखिर हाम्रो यसअघिको गठबन्धनमा ९ महिनापछि माधव नेपाल नै प्रधानमन्त्री बन्ने पालो थियो, तर उहाँलाई हटाउनको लागि नै प्रचण्डले यो स्टेप चालेको हो ।’–प्रधानको भनाई छ ।
यद्धपी उनले अहिले माधव नेपालको दलपनि सरकारमा गएको उल्लेख गर्दै यसरी सरकारमा गएका दलहरुको अहिले इमेज घटेको दाबी गरे । उनले भने,‘जुन–जुन दल माओवादीको सरकारमा सम्मिलित छन्, ती दलको इमेज घटेको छ । रास्वपाको एउटा इमेज थियो, त्यो इमेजमा दाग लगाउने काम रविले गरेको हो । आम जनता र मिडियाले देखेको र लेखेको कुरा अनि कान्तिपुरले छताछुल्ल पारेर लेखेको रवि लामिछानेलाई नै गृहमन्त्री बनाएपछि जनताले सुशासनको अनुभूति गर्ने कुरा भनेर अब पत्याउछन् त ? वर्षमान पुनको कुरा पनि किन नहोस ।’
उनले प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको साथ छोडेर एमालेसँगको सहकार्य रोजेकै दिन आफू बाँचुञ्जेल देशमा उथलपुथल भैरहने भनेर बोलेको कुरामा पनि उनले आपत्ति जनाए । उनले भने,‘कमरेड प्रचण्डले म बाँचुञ्चेलसम्म यो देशमा उथलपुथल गर्छु भनेर बोल्नुभयो । यो एउटा नेताले बोल्ने शब्द हो त ? अखिल क्रान्तिकारीको नेताले बोलेजस्तो बोल्ने ?’ उनले प्रचण्डसँग नेतृत्वमा हुनुपर्ने गुण नै नभएको दाबी गरे ।
शान्ति प्रक्रियाको एक सिक्काका दुई पाटा भनेको माओवादी र कांग्रेस नै भएको उल्लेख गर्दै अहिले बिनाकारण प्रचण्डले धोका दिएको बताए । उनले अब आफूले दिएको धोकाको परीणाम प्रचण्डले भोग्ने चेतावनी दिए । ०८४ को निर्वाचनमा सबै दल एक्लै लड्नुपर्ने उनको सुझाव छ । प्रचण्डको सत्तारोहणको स्वार्थले माओवादी पार्टीको पतन निश्चित् रहेको उनको टिप्पणी छ ।
उनले वर्तमान सरकार धेरै दिन नटिक्ने दाबी गरे । उनले भने,‘यो सरकार धेरै टिक्दैन्, जहाँसम्म विश्वासको मत लिने बेलामा नै लफडा पर्ने सम्भावना देख्छु, सबैको मान्ने प्रधानमन्त्रीको कुरा पनि आउनसक्छ । प्राकृतिक रुपमा मेरो आफ्नो सोचाईअनुसार माधव नेपाललाई न्याय दिनुपर्छ । प्रचण्डलाई अब सजाय दिनैपर्छ ।’ उनले अहिलेपनि सत्ता सहकार्यको लागि एमाले र कांग्रेस मिल्ने सम्भावना रहेको जिवितै रहेको विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्

Array