सिनियर डिभिजन NCC तालिमको दीक्षान्त कवाज सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ फाल्गुन २०८०, मंगलवार
3 Min Read
Aa

काठमाडौँ ।  श्री राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सि.सं.१८ सिनियर डिभिजन तालिमको आज मिति २०८० फाल्गुण २९ गते सैनिक मञ्च टुँडिखेलमा दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा तालिम सफलतापूर्वक सम्पन्न गरेका ५४० जना क्याडेट छात्रछात्राहरू दीक्षित भएका छन् ।   सो अवसरमा क्याडेट छात्र छात्राहरूलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय सेवादलका संरक्षक सम्माननीय प्रधानमन्त्री श्री पुष्प कमल दाहालले हालको विश्व परिवेशमा नैतिकवान, ऊर्जाशील, सृजनशील र देशभक्त युवाहरू देशको आवश्यकता रहेको कुरा उल्लेख गर्दै वि.सं.२०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवादल नेपाल उक्त जनशक्ति उत्पादनमा प्रयासरत रहेको बताउनु भयो । उहाँले राष्ट्रिय सेवादल तालिम नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको र बढी भन्दा बढी युवा विद्यार्थीहरुलाई यस तालिममा समेट्न प्रयास भैरहेको कुरा बताउँदै युवाहरूलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित नागरिक बनाउन तालिमको ठूलो महत्व रहेको कुरा बताउनु भयो ।

 त्यस अवसरमा सम्माननीय प्रधानमन्त्रीले यस वर्षको तालिममा सर्वोत्कृष्ट छात्र श्री सैनिक आवासीय महाविद्यालय, भक्तपुरका शसिलबाबु सिलवाल, सर्वोत्कृष्ट छात्रा श्री सेन्ट जेभियर्स स्कुल, ललितपुरकी करिना राना मगर र सर्वोत्कृष्ट Platoon श्री सैनिक आवासीय महाविद्यालय, भक्तपुरलाई पुरस्कार प्रदान गर्नुभयो । समारोहमा राष्ट्रिय सेवा दलका संरक्षक प्रधानमन्त्री तथा सह संरक्षकद्वय रक्षा मन्त्री माननीय श्री हरि प्रसाद उप्रेती एवं प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले दीक्षित क्याडेटहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।

  दीक्षान्त समारोहमा राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी श्री सुरेश कुमार कार्की (अ.प्रा.) ले राष्ट्रिय सेवा दलको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो क्रममा  उहाँले राष्ट्रिय सेवादलका पूर्वी तालिम शिक्षालय, मोरङ्गको याङ्सिला, मध्य पूर्वी तालिम शिक्षालय, महोत्तरीको बर्दिवास, मध्य तालिम शिक्षालय, नवलपरासीको हात्तीखोर र पश्चिम तालिम शिक्षालय, बाँकेको कौशिलानगरबाट यस वर्ष ७,७०४ जना क्याडेट छात्र/छात्राहरूले सफलता पूर्वक तालिम सम्पन्न गरेको बताउँदै हालसम्म ७४,४८० जनाले राष्ट्रिय सेवादलको सिनियर तथा जुनियर डिभिजन तालिम प्राप्त गरिसकेको जानकारी दिनुभयो ।

   समारोहमा रक्षा सचिव श्री किरणराज शर्मा तथा बलाधिकृत रथी श्री अशोकराज सिग्देल उपस्थित हुनुहुन्थ्यो । यसै गरि, नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग, मुख्य अनुसन्धान निर्देशक, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारी, सैनिक श्रीमती संघका पदाधिकारीहरु, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरू, सञ्चारकर्मी, NCC Almuni Association नेपालका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । त्यस अवसरमा Youth Exchange Programme मा सहभागी हुन आएका भारत, पाकिस्तान, श्रीलंका र मालदिभ्सका National Cadet Corps का अधिकृत तथा  क्याडेट छात्र छात्राहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय सेवादल नेपालका क्याडेट छात्रछात्राहरुले सांगीतिक एवं विविध कलाकौशल प्रस्तुत गरेका थिए । 

 

प्रतिक्रिया दिनुहोस्

Array