प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० फाल्गुन २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार (आज) विश्वासको मत लिँदैछन् ।  संघीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेको हुन् । उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।  २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भयो । चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए। त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए । विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो । अहिले ८८ सिट रहेको नेपाली कांग्रेस, १४ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, ६ सिट रहेको जनमत पार्टी, ४ सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array