नेपाली कांग्रेससँगको सहयात्रा असहज भएपछि सरकार पुनर्गठन : नेकपा (एमाले) का अध्यक्ष ओली

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० फाल्गुन २०८०, बुधबार
3 Min Read
Aa

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सत्ता गठबन्धनमा समस्या परेकाले आफूहरूले नयाँ गठबन्धन बनाएको बताउनुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विश्वासको मतको प्रस्तावप्रति समर्थन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेससँगको सहयात्रा असहज भएपछि प्रधानमन्त्री प्रचण्डको चाहना र आफूहरूको सहयोगमा सरकार पुनर्गठन भएको बताउनुभयो । सरकार पुनर्गठन हुँदैमा अस्थिरता हुन्छ भनेर प्रचार गर्न आवश्यक नभएको जिकिर गर्दै उहाँले भन्नुभयो, “हाम्रो आवश्यकताका आधारमा सरकार परिवर्तन भएको हो । यो काम हामी नेपालका दलहरू मिलेर गरेका हौँ । प्रधानमन्त्री प्रचण्ड मुख्य हो र साथ दिने म पनि हुँ । हामीलाई जस दिए हुन्छ । यसमा विदेशी वा छिमेकी मुलुकलाई जोडेर हेर्न आवश्यक छैन ।”

पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “अहिलेको नयाँ परिस्थिति कसरी र किन बन्यो भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डले भनिसक्नुभएको छ । देशमा विभिन्न नाममा राष्ट्रिय एकतामा भाँजो हाल्ने र समाजमा विद्वेश फैलाउने तथा पश्चगमनमा लाने प्रवृत्तिहरू देखा परेका छन् । ती कुराहरूलाई छाडेर हामीले हाम्रो देशलाई केन्द्रमा राखेर न्याय र समानताको प्राप्तिका लागि अग्रसर हुनुपर्छ । हाम्रो लक्ष्य यही हो ।” अध्यक्ष ओलीले राज्य यहाँका सबै भूगोल, जात र धर्मको साझा हो भन्ने मान्यताको रक्षा र संवर्द्धन हुनुपर्नेमा जोड दिँदै साम्प्रदायिकताको आगो झोसेर, अराजकता निम्त्याएर र प्रतिगमनको कुरा गरेर देश विकास हुन नसक्ने भएकाले संसद् यसप्रति सजग हुनुपर्ने बताउनुभयो ।

प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली आफूहरूले रोजेर ल्याएको प्रणाली भएकाले स्वस्थ प्रतिस्पर्धामा अगाडि–पछाडि हुँदा कोही अत्तालिन नपर्ने उल्लेख गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई आवेश र उत्तेजनामा नआउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नयाँ सत्ता गठबन्धनमा आलोपालो प्रधानमन्त्री हुनका लागि अलिखित सहमति भएको भन्ने गलत प्रचार गरिएको छ । हामी पदलोलुप छैनौँ । को कति सरकारमा बस्छ भन्ने ठुलो कुरा पनि होइन । सरकारमा भएका बेला देश र जनताका पक्षमा राम्रो काम गर्ने भन्ने हो । मलाई प्रधानमन्त्री हुने कुनै लालसा छैन । देशका समस्या समाधान गर्ने सवालमा सत्ता पक्ष र विपक्ष सँगै बसेर छलफल गरेर जाऔँ । बेथिति रोकौँ, आर्थिक उन्नतिमा मुलुकलाई लैजाऔँ ।”

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई टुङ्गोमा लान कसले रोकेको हो भन्ने प्रश्न गर्दै उहाँले आफ्नो दल यस विषयमा अन्तर्राष्ट्रिय मान्यता, पीडित मैत्री र सर्वोच्च अदालतको फैसलाका आधारमा अघि बढ्न निरन्तर प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

Array