प्रा सुवेदीले पठाएको मस्यौदा मसंग अझै सुरक्षित छः प्रधानमन्त्री प्रचण्ड

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ चैत्र २०८०, आईतवार
3 Min Read
Aa

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९५० को नेपाल भारत सन्धि पुनरवलोकनका लागि अन्तरर्राष्ट्रिय कानूनका विज्ञ प्राध्यापक डाक्टर सूर्य सुवेदीले पठाएको मस्यौदा आफूसँग अझै सुरक्षित रहेको बताएका छन् ।
शनिबार बिहान काठमाडौंमा आयोजित ‘प्रा.सूर्य सुवेदीः महा विद्यावारिधि देखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् ।
आफू पहिलो पटक प्रधानमन्त्री पदमा निर्वाचित भए पछि भारतको भ्रमणमा जानु अघि दुई देश बीचको सन् १९५० को सन्धि पुनरावलोकन गर्नका लागि धेरै पक्षबाट सुझाव आएको र ती मध्ये प्रा.सुवेदीले पठाएको सुझावको प्रति आफूसँग अझैं सुरक्षित रहेको पनि बताए । ‘मेरो भ्रमण पछि सन्धि पुनरवलोकनको कुरा संयुक्त विज्ञप्तिमा पनि उल्लेख भएको छ, तर कतिपय कारणले उक्त विषय अगाडी बढ्न सकेको छैन्’ उनले भने ।
विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन् । त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन् । त्यसको उदाहरण डा. सूर्य सुवेदी पनि हुनुहुन्छ । प्रा सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरवलोकनबारे मैले सहयोग मागेको थिएँ । उहाँले त्यसमा निकै राम्रो सहयोग गर्नुभयो। पछिल्लो एमसीसी सम्झौतामा पनि उहाँले मध्यमार्गी विकल्प दिनुभयो र हामीले लागू पनि गर्यौँ । तपाईंको विज्ञतालाई हामी निरन्तर कदर गर्ने छौं उनले भने ।

प्रतिनिधि सभाकी पूर्व उपसभामुख पुष्पा भुसालले प्रा सुवेदीको संघर्ष र उपलब्धिको कथाले युवा पुस्तालाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरिन् । लक्ष प्राप्तिको लागि सुवेदीले गरेको मेहनत सबैको लागि उदाहरणीय भएको बताइन् । विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गर्ने पहिलो नेपाली प्रा सुवेदी जस्ता व्यक्तित्वको ज्ञान, सीप र अनुभव नेपालले प्रयोग गर्न ढिलो गर्नु नहुने बताइन् ।
पूर्व मंत्री तथा वरिष्ठ अधिवक्ता अग्नि खरेलले सुवेदीले प्राज्ञिक क्षेत्रबाट संसारमै नेपाललाई चिनाई रहेको बताए । ‘हामीले निष्ठापूर्वक देशको लागि केही गर्छौं कि गर्दैनौ, मुख्य कुरा त्यो हो’ उनले भने । शान्ति क्षेत्रको प्रस्तावको हामीले विरोध ग¥यौं, तर अहिलेको भूराजनीतिक स्थिति हेर्दै जाँदा शान्ति क्षेत्रको प्रस्ताव गलत थियो भन्ने मलाई लाग्दैन । हामीले निर्वाचन पद्धतिलाई बदल्नु पर्छ र अगाडी बढ्नु पर्छ । उनले प्रा सुवेदीले आफुसँग भएका अन्तरराष्ट्रिय कानून सम्बन्धी दुर्लभ ग्रन्थहरु नेपाल ल क्याम्पसलाई प्रदान गरेको भन्दै त्यसको प्रशंसा पनि गरे ।
लोकार्पण समारोहलाई सम्बोधन गर्दै बेलायतको लिड्स विश्व विद्यालयमा अन्तरर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सुवेदीले नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका क्षेत्रमा आफुले बटुलेको अनुभव र ज्ञान नेपाल र नेपालीको हितका लागि उपयोग गर्न आफु सधैं तत्पर रहेको बताए । पत्रकारद्वय भगीरथ योगी तथा नवीन पोखरेलले लेखेको उक्त पुस्तक बुक हिलले प्रकाशन गरेको हो । कार्यक्रमको संचालन बुक हिलका प्रकाशक कवि तथा पत्रकार भूपेन्द्र खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array