सुस्मिता हत्या प्रकरणका मुख्य डिजाइनरलाई उन्मुक्ति दिइएको पीडित परिवारको आरोप, दबाबका लागि संघर्ष समिति गठन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ चैत्र २०८०, आईतवार
4 Min Read
Aa

काठमाडौं,  आफ्नै परिवारको सदस्यहरुको संलग्नतामा मारिएकी सुस्मिता केसीको न्यायका लागि भन्दै सामाजिक अभियन्ताहरुले संघर्ष समिति गठन गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियन्ताहरुले संघर्ष समिति गठन भएको औपचारिक घोषणा गरेका हुन् ।  संघर्ष समितिको संरक्षकमा मृत्तक सुस्मितकी आमा गंगा केसी, ठूलोबुबा हेमबहादुर खड्का, बुबा कृष्ण केसी रहेका छन् । सल्लाहकारमा नेपाल स्वयम् सेवक संघका अध्यक्ष खेमराज पौडेल छन्, विमला गैरे, जस्मिन ओझा, रेनु सेन, राजनन्द माण्डव्य रहेका छन् ।

२०७७ साल असार १ गते राति हेटौंडा उपमहानगरपालिका–४ स्थित आफ्नै घरमा सुस्मितकाको क्रुर हत्या भएको थियो । उक्त हत्या प्रकरणमा जिल्ला अदालत मकवानपुरले मृतक सुस्मिताका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जन्मकैदको सजाय सुनाएको थियो । सुस्मितकी सासुले भने मतियारको रुपमा भूमिका निर्वाह गरेको भन्दै उनलाई १० वर्ष कैद सजाय तोकिएको थियो ।  उच्च अदालत हेटौडा इजलासले उक्त घटनाका मुख्य डिजाइनर भनेर चिनिएका अरुण र दुर्गालाई सफाइ दिएको भन्दै अभियन्ताहरुले आपत्ति जनाए । सुस्मिता हत्या प्रकरणको मुख्य डिजाइनर नै दुर्गा र अरुण रहेको उनीहरुको दाबी छ । सुस्मिताको हत्यामा संलग्न कसैले पनि उन्मुक्ति नपाउन् भनेर संघर्ष समिति बनाएर अगाडि बढ्ने निर्णय भएको बताइएको छ ।

मृतक सुस्मिता केसीकी आमा गंगा केसीले छोरीको न्यायको लागि लड्दै हिँडेको चार वर्ष पुग्न लाग्दा पनि आफूहरुलाई न्याय पाएको अनुभूति नभएको बताईन् । उनले सुस्मिताको न्यायका लागि र प्रत्येक अन्यायमा परेका छोरीहरुका लागि आवाज उठाउन आवश्यक रहेको निश्कर्षसहित संघर्ष समिति बनाएरै न्यायका लागि होमिने निर्णयमा पुगेको बताईन् ।  ‘सुस्मिताको न्यायका लागि र प्रत्येक अन्यायमा परेका छोरीहरुका लागि आवाज उठाउन पर्छ भनेर संघर्ष समिति बनाउन पर्छ भन्नुभयो । हामीले पनि यसमा साथ दिएका छौं । मैले कलिलो उमेरमा विवाह भएर १६ वर्षकै उमेरमा सुस्मितालाई जन्म दिएको थिए । आज आएर सुस्मितालाई मैले अपराधीलाई मार्न जन्म दिएको जस्तो भएको छ । त्यो अपराधीले डिजाइन गरेर सुस्मितालाई मार्यो । हामी यति तड्पिन परेको छ कि त्यो दिनदेखि हाम्रो मन शान्त छैन,’– उनले भनिन् ।

मृतक सुस्मिताका ठूलोबुबा हेम खड्काले अरुण र दुर्गा उक्त हत्या प्रकरणका प्रमुख डिजाइनर रहेको दाबी गरे । उनले आफूहरुको सर्वोच्चमा पुनरावेदन गर्ने अधिकार बाँकी नै रहेकाले उक्त उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन जाने उनले बताए । सुस्मितको न्यायका लागि काठमाडौंलगायत देशैभर शान्तिपूर्ण संघर्षका कदम अगाडि बढ्नुपर्ने उनले बताए ।
मृतक सुस्मिता केसीकी बुबा कृष्णबहादुर केसीले सुस्मित हत्या प्रकरणमा मात्रै नभएर देशैभर यसरी मारिएका छोरीहरुले न्याय पाउनु पर्ने र अपराधीलाई कानुनी कारबाही गरिनुपर्ने बताए । न्याय पाउनु आफूहरुको हक भएको उनले बताए । छोरी गुमाएपनि राज्यले उचित न्याय दिन्छ भन्ने आफूले जहिल्यै अपेक्षा गरेपनि त्यसो नभएको उनले बताए ।
सुस्मिताको हत्या भएपछि अरुण र दुर्गाले प्रमाण नष्ट गरेको र १३ दिनपछि अनुसन्धानमा नसघाएर १४ महिना फरार भएको उनको दाबी छ ।
२०७६ साल वैशाख १८ गते प्रकाशका छोरा रुपेन्द्रसँग सुस्मिताको विवाह भएको थियो । सोही वर्षको असोज २३ गते मोटरसाइकल दुर्घटनामा रुपेन्द्रको मृत्यु भएको थियो । रुपेन्द्रको मृत्युपछि जीवन बीमावापतको रमक पनि सुस्मितालाई नदिबाट बञ्चित गराउन अरुणले निकै चलखेल गरेको उनको दाबी छ । जीवन बिमा गराउने अभिकर्ता अरुण आफैं रहेको र उनले सुस्मितको किर्ते हस्ताक्षर गरेर बिमा वापतको रमकसमेत दाबी गरेको बताइएको छ । मृतक रुपेन्द्र (सुस्मितका श्रीमान) ले काम गर्ने कम्पनीले दिनुपर्ने रकम सुस्मितालाई नदिन भन्दै अरुणले पटक–पटक कम्पनीलाई दवाब दिएको उनको दाबी छ । सुस्मितको हत्या हुनु अगाडिदेखिनै अरुणलगायतले श्रृङ्खलाबद्धरुपमा मानसिक पीडा दिएको उनले बताए ।

सामाजिक अभियन्ता जस्मिन ओझाले आफू निर्दोष भए अरुण र दुर्गा १४ महिनासम्म भागेर हिँडेको, लुकेर बस्नुपर्ने कुनै कारण नरहेको बताईन् । अपराधीहरुको समाज बन्न नदिनका लागि संघर्ष समिति बनाएर नै अगाडि बढ्ने निर्णय भएको उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस्

Array