कृत्रिम वर्षा गराउँदा परेको अत्यधिक वर्षाको कारण खाडी मुलुकहरूमा जनजीवन अस्तव्यस्त

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ बैशाख २०८१, शुक्रबार
14 Min Read
Aa

काठमाडौं । खाडी मुलुकहरूमा परेको अत्यधिक वर्षाको कारण अहिले त्यहाँको जीवन अस्तव्यस्त बनेको छ । ठाउँ-ठाउँमा बाढी आउँदा ओमान, बहराइन र यूएईमा २० जनाभन्दा बढीको ज्यान गइसकेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अलजजिराका अनुसार पछिल्लो २४ घण्टामा दुबईमा पछिल्ला केही दशकको तुलनामा सबैभन्दा ठूलो बाढी आएको छ । यसअघि त्यतिको वर्षा सन् १९४९ मा भएको थियो । अचानक परेको पानीले गर्दा बाढी आएसँगै विश्वको दोस्रो व्यस्त विमानस्थलमा उडानहरू प्रभावित भएका छन् । खाडी मुलुकमा भएको यो वर्षा र क्लाउड सिडिड प्रविधि अहिले सर्वाधिक चर्चाको विषय बनेको छ ।

त्यसो भए खाडी मुलुकमा किन यस्तो वर्षा भइरहेको छ ?

दुबई संयुक्त अरब इमिरेट्स (यूएई) को तटमा रहेको छ । सामान्यतः यो क्षेत्र अन्य क्षेत्रभन्दा धेरै सुक्खा छ । यसलाई विश्वकै सबैभन्दा गर्मी र सुक्खा हुने ठाउँमध्येको एक ठाउँका रूपमा लिइन्छ । यहाँको औसत वार्षिक वर्षा ७३ एमएम (३ इन्च) छ । र, त्यहाँको तापक्रम गर्मीमा औसत ५० डिग्री सेल्सियस हुने गर्छ । तर, कहिलेकाहीं यहाँ चरम वर्षा हुन्छ । दुबईभन्दा १०० किलोमिटर टाढाको अल-आइन (Al-Ain) सहरमा पछिल्लो २४ घण्टाको अवधिमा २५६ एमएम वर्षा रेकर्ड भएको छ । ओमनमा २७३ एमएम वर्षाको रेकर्ड गरिएको छ ।

दुबई र आसपासका क्षेत्रमा बढी सुक्खापन र गर्मी भएकाले मौसम सुधार गर्नका लागि नै यूएईले क्लाउड सिडिङ गरेको विज्ञहरूको भनाइ छ । यूएईले त्यहाँ वर्षा हुनुभन्दा केही समयअघि उक्त देशको मेटेरियोलोजी एजेन्सीले छ सात ओटा क्लाउड सिडिङ फ्लाइट उडाएको भन्दै अलजजिराले रिपोर्ट उद्धरण गरेको छ । यद्यपि अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँको कुराकानीमा उक्त एजेन्सीले त्यस्तो कुनै फ्लाइट नगरेको दाबी गरेको छ । तर, यता द एसोसिएट प्रेसले सोमबारको फ्लाइट ट्रयाक गर्दा एउटा यूएईको बिमान क्लाउड सिडिङका लागि उडेको देखिएको छ ।

“यस क्षेत्रलाई लामो समय वर्षा नहुने, भए अस्वाभाविक ढङ्गले हुने, कहिलेकाहीं भारी वर्षा हुने क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ । त्यही पनि अहिले भएको वर्षालाई बिरलै हुने वर्षाका रूपमा लिइएको छ,” बीबीसीसँग कुरा गर्दै युनिभर्सिटी अफ रिडिङका मौसमविद् प्राचार्य मार्टेन अम्बाउमले भने । विज्ञहरूका अनुसार यूएई र ओमानमा ठूलो बाढी आउँदा त्यसलाई कम गर्ने ड्रेनेज सिस्टमको त्यहाँ अभाव छ । त्यसैले कहिलेकाहीं पानी पर्दा पनि बाटो तथा विमानस्थल डुबानमा परेका हुन्छन् ।

यी पक्षलाई ख्यालै नगरी मौसम नियन्त्रण गर्ने सोचले यूएईले क्लाउड सिडिङ गर्दा सात दशक पछिकै सबैभन्दा ठूलो पानी पर्दा डुबान भएको विश्लेषण गरिएको छ ।  अहिलेको आर्टिफिसियल इन्टेलिजेन्सको जमानामा आर्टिफिसियल अर्थात् कृत्रिम वर्षा कुनै नयाँ शब्दावली होइन । बाढी, खडेरी, लु, तुफान, डढेलो जस्ता स्थितिलाई आकाशबाटै नियन्त्रण गर्ने विकल्पको खोजीको रूपमा कृत्रिम वर्षाको चर्चा हुने गर्छ ।

के हो कृत्रिम वर्षा ?

वायुमण्डलमा प्राकृतिक रूपबाट बनेको बादलले आफैं वर्षा गराउँदा हुने वर्षालाई नेचुरल अर्थात् प्राकृतिक वर्षा भनिन्छ । तर कतिपय अवस्था यस्तो हुन्छ कि, बादल बने पनि त्यसभित्रको केही अपूर्ण प्रक्रियाका कारण वर्षा हुन सक्दैन ।

अथवा वर्षात् भए पनि केवल बादलसम्ममै सीमित भइदिन्छ, धर्तीसम्म पुग्न सक्दैन । यस्तोमा एउटा विशेष प्रविधिको माध्यमबाट बादलमा वर्षाको बीउ राखेर वर्षा गराइन्छ । जसलाई कृत्रिम वर्षा भन्ने गरिन्छ । यो प्रविधिको नाम हो क्लाउड सिडिङ ।

के हो क्लाउड सिडिङ प्रविधि ?

क्लाउड सिडिङ दुई शब्द क्लाउड र सिडिङ मिलेर बनेको छ । क्लाउडको अर्थ हो बादल, अनि सिडिङको अर्थ हो बिउ रोप्ने काम । यसको अर्थ बुझ्न सबैभन्दा पहिले बादल कसरी बन्छ भन्ने बुझ्नुपर्छ । त्यसपछि त्यहाँ बिउ कसरी रोपिन्छ भन्ने बुझ्नुपर्छ ।

सबैभन्दा पहिले पदार्थका बारेमा थोरै चर्चा गरौं । पदार्थका तीन ओटा अवस्थाको हुन्छ ठोस, तरल र ग्यास । पानीको कुरा गर्दा पानी तीन ओटै अवस्थामा पाउन सकिन्छ । पानीको ठोस अवस्थालाई बरफ, तरल अवस्थालाई पानी र ग्यास अवस्थालाई बाफ भनिन्छ ।

बरफ पानी बन्ने अवस्थालाई मेल्टिङ वा पग्लिनु भनिन्छ । पानी बरफ बन्ने अवस्थालाई फ्रिजिङ अर्थात् जम्नु भनिन्छ । पानी बाफ बन्ने प्रक्रियालाई भ्यापोराइजेसन अर्थात् वाष्पीकरण भनिन्छ । बाफ पानी बन्ने प्रक्रियालाई ‘कन्डेन्सेसन’ भनिन्छ ।

जमिनको हावामा कैयौं मात्रामा पानीको बाफ हुन्छ । हावामा बढी पानीको बाफ हुँदा हावामा बढी आर्द्रता भएको भनिन्छ । विशेषगरी जाडो महिनामा हुस्सु लागेको देखिन्छ । त्यो नै हावाको बढी आर्द्रताको अवस्था हो ।

त्यस्तै हावामा पानीको बाफ कम हुँदा त्यसलाई कम आर्द्रता भएको भनिन्छ । यही पानीको बाफ जति माथि गयो त्यहाँको चिसोको कारण कन्डेन्सेसन (बाफबाट पानी बन्ने प्रक्रिया) हुन्छ । अर्थात् त्यही पानीको बाफ पानीको सानोसानो कणमा परिणत हुन्छ । जब सानो सानो पानीको कण जोडिन्छन्, त्यतिबेला आकाशमा बादल देखिन्छ ।

बादल बनाउने पानीको कण निकै सानो हुन्छ । १ एमएम पानीलाई १०० गुणाभन्दा कममा टुक्र्याइयो भने त्यो कण बन्छ ।

त्यसोभए बादलबाट पानी कसरी पर्छ ? माथि उल्लेख गरेको जस्तै बादलमा पानीको सानो सानो लाखौं कणहरू हुन्छन् । त्यसमा पानीको ससाना कण आएर जोडिने प्रक्रिया निरन्तर चल्दै जान्छ । जसले गर्दा बादल बढ्दै बढ्दै गएको देखिन्छ ।

बादल बढ्ने क्रममा पानीका कणहरू पनि आफैं आफैंमा ठोक्किएर जोडिन्छन् । जसले गर्दा पानीको कण पहिलेको भन्दा ठूलो हुन्छ । जति ठूलो कणहरू ‍हुँदै गए बादल त्यति नै ठूलो हुन्छ । त्यसो हुँदा पानीको कण जोडिएर यस्तो अवस्था बन्छ, जहाँ त्यसको तौल धानिन मुस्किल हुन्छ । र जमिनमा खस्छ । जमिनमा झर्ने क्रममा हावाको तापक्रम कम छ भने हिउँका रूपमा भूईँमा झर्छ ।

यदि हावाको तापक्रम बढी छ भने असिनाका रूपमा झर्छ । त्यो भन्दा पनि हावाको तापक्रम बढी छ भने पानीका रूपमा जमिनमा झर्छ ।

त्यसोभए सिडिङ भनेको के हो, कसरी गरिन्छ बादलमा सिडिङ ? 

बादलबाट पानी बन्नका लागि त्यहाँ कन्डेन्सेसन हुनुपर्छ । त्यही कन्डेन्सेसन छिटो गराउनका लागि त्यहाँ विशेष किसिमको रसायन प्रयोग गरिन्छ । सामान्य अर्थमा भन्दा बादलमा रसायनको छर्ने काम नै क्लाउड सिडिङ हो ।

अमेरिकी वैज्ञानिक, रसायनशास्त्री तथा मौसमविद् विन्सेन्ट जे शेफरले सन् १९४३ मा क्लाउड सिडिङको आविष्कार गरेका थिए । वैज्ञानिक शेफरनले एउटा एक्सपेरिमेन्ट गर्दा गर्दा क्लाउड सिडिङ प्रविधि आविष्कार गरेका थिए ।

खासमा भएको के थियो भने उनले गरिरहेको अनुसन्धानमा एउटा कोल्ड बक्स (चिसो बक्स) प्रयोग गरिएको थियो । त्यसमा कति चिसो छ भनेर उनी बारम्बार त्यसभित्र आफ्नो टाउको लगेर तापक्रम मापन गर्थे ।

त्यही क्रममा उनको मुखबाट श्वास निस्किंदा त्यो बाफ बनेको देखे । त्यसलाई परीक्षण गर्दै जाँदा उनले बक्सलाई अझ चिसो बनाउन त्यसमा ड्राइ आइस (कार्बन डाइअक्साइडको ठोस अवस्था) राखे ।

यो -७८ डिग्री सेल्सियसको तापक्रममा मात्र अस्तित्वमा हुन्छ । साधारण तापक्रममा राख्दा पग्लिएर बाफ बन्छ । ती वैज्ञानिकले ड्राइ आइस त्यस बक्समा राखेर श्वास फेर्दा त्यो हावा माइक्रोस्कोपिक आइस क्रिस्टलमा परिणत भयो ।

उनले त्यस घटनाबाट के पत्ता लगाए भने यदि अचानक तापक्रम निकै कम बनाउने हो भने बादल चाँडो आइस क्रिस्टल बन्छ । र, त्यही पानीका रूपमा जमिनमा खस्छ । त्यही प्रक्रियाको वास्तविक परीक्षण गर्न उनले १३ नोभेम्बर १९४६ मा न्युयोर्कबाट प्लेन उडाए ।

प्लेनमा उनले आफ्नो साथमा ढाई किलोको ड्राइ आइसको टुक्रा लिएर गएका थिए । त्यसपछि उक्त प्लेन बादलको माथि लगे र त्यहाँबाट ठूलो टुक्राको ड्राइस आइसलाई टुक्राटुक्रा बनाएर बादलमा वर्षाए । त्यसपछि त्यहाँ साँच्चै पानी वर्षीयो ।

त्यही समयमा क्लाउड सिडिङको क्षेत्रमा काम गरिरहेका अर्का वैज्ञानिक थिए डाक्टर बरहार्ड वोनिगट । उनी शेफरले भन्दा फरक तरिकाले क्लाउड सिडिङको अनुसन्धान गरिरहेका थिए । हामीले चिसो मौसममा कुनै काँचको सतहमा श्वास फुक्यौं भने त्यो पानीमा परिणत भएको देख्छौं । अर्थात् बाफले ग्यास बाहेक अन्य किसिमको सतह पायो भने चाँडो पानी बन्छ ।

त्यसका लागि कि ठोस कि तरल सतह चाहिन्छ । यी दुई किसिमका सतह भएनन् भने ग्यासबाट पानी बन्न सक्दैन । प्राकृतिक रूपमा वायुमण्डलमा हुने धुलोको कणको तहले नै त्यस्तो सतहको काम गरेको हुन्छ । त्यसैले गर्दा बाफ पानीमा परिणत हुन्छ । सतह जति मजबुत भयो कन्डेन्सेसन प्रक्रिया त्यति नै छिटो हुन्छ ।

डा. बरहार्ड त्यही शैलीलाई बादलमा प्रयोग गर्न चाहन्थे । बादलमा नन ग्यासियस सतह बनाउनका लागि रसायन प्रयोग गर्न सकिन्छ भन्ने उनको विश्वास थियो । त्यसका लागि उनले सिल्भर र आयोडाइडलाई मिसाएर सिल्भर आयोडाइड बनाए । त्यही कम्पाउन्डले राम्रो सतहको काम गर्ने उनको निष्कर्ष थियो ।

सिल्भर आयोडाइडले आर्द्रता आफूतिर सोस्छ र त्यो पानीमा परिणत हुन्छ । यसरी आर्द्रता आफूतिर आकर्षित गर्ने कम्पाउन्ड धेरै हुन्छन् । त्यही कम्पाउन्डलाई क्लाउड सिड्स वा क्लाउड कन्डन्सियसन न्युक्लियाई  भनिन्छ । वैज्ञानिक शेफरले बादलमा ड्राई आइस वर्षाए जस्तै डा. बरहार्डले बादलमा सोडियम आयोडाइड वर्षाए । त्यसरी सोडियम आयोडाइड बादलमा वर्षाउँदा कन्डन्सियसनको प्रक्रिया छिटो भयो र बादल पानीमा परिणत भएर वर्षीयो ।

त्यसपछिका दिनमा विस्तारै क्लाउड सिडिङको प्रक्रिया स्तरीय हुँदै गयो । विमानमार्फत बादलमा क्यामिकल वर्षाएर पानी पार्ने तरिका महँगो भयो । त्यसको विकल्पमा जमिनबाटै रकेटमार्फत क्लाउड सिडिङ गर्ने तरिका खोजियो ।

त्यसैले कृत्रिम वर्षा गराउनका लागि त्यहाँ पहिले बादल हुनुपर्छ । जहाँ कुनै पनि बादल छैन, त्यहाँ क्लाउड सिडिङ गराउन सकिन्न । त्यसैले सबैभन्दा पहिला कृत्रिम वर्षा गराउन खोजिएको स्थानमा बादल छ कि छैन भन्ने विषय हेरिन्छ । यदि बादल छ भने कति उचाईमा छ र त्यस वरपरको वातावरणीय अवस्था के छ भन्ने कुरा पनि विचार गरिन्छ ।

त्यसपछि पूर्वानुमानको सहयोगमा वा मापन गरेर बादलमा कति पानी छ भन्ने पत्ता लगाइन्छ । त्यसपश्चात् बादलमा उपयुक्त स्थानमा सोडियम आयोडाइड (वा अन्य किसिमका केमिकल) राखिन्छ ।

उक्त केमिकलले बादलको माइक्रोफिजिकल प्रक्रिया (अर्थात् वर्षाको कण तथा बरफ) लाई तीव्र पारिदिन्छ । यसपछि वर्षाको रूपमा त्यो जमिनमा खस्छ ।

बादललाई इलेक्ट्रिक शक दिने एउटा अर्को विधि पनि छ । जसको प्रयोगबाट समेत वर्षा गराउन सकिन्छ । यो प्रक्रियामा ड्रोन प्रविधिको सहयोगमा बादलमा विद्युतीय झड्का दिइन्छ ।

कृत्रिम वर्षाको आवश्यकता

साधारणतया सुक्खा तथा बाढीको अवस्थासँग जुध्न लागि कृत्रिम वर्षा गराइन्छ । यस बाहेक जङ्गलमा भीषण आगलागी हुँदा, असहनीय गर्मी वा लु, तुफान तथा प्रदूषण कम गर्नका लागि पनि यसको प्रयोग गरिन्छ ।

विमानस्थलमा हुस्सु लाग्दा विमान उड्नै समस्या हुन्छ । त्यसैले हुस्सुको मात्रा कम गर्न पनि क्लाउड सिडिङको प्रयोग हुन्छ । त्यस्तै ठूला आकारका असिना पर्दा त्यसले पार्ने भौतिक क्षति बढी हुन्छ । असिनाको आकार घटाएर क्षति न्यूनीकरण गर्नका लागि पनि क्लाउड सिडिङको प्रयोग भइरहेको छ ।

इजरायल नियमित रूपमा कृत्रिम वर्षा गराउँछ, किनकि त्यहाँ प्राकृतिक वर्षा निकै कम हुन्छ । बुल्गेरिया देशमा पनि वर्षाको कारण हुने क्षति न्यूनीकरण गर्नका लागि क्लाउड सिडिङ गर्ने गरिएको छ ।

सबैभन्दा पहिला कहिले प्रयोगमा आएको थियो ?

अहिले यूएईले कृत्रिम वर्षा गराइरहेको भए पनि अन्य देशले पनि यसको प्रयोग गर्छन् । यूएईले क्लाउड सिडिङका लागि ड्रोनमार्फत बादलमा विद्युतीय झट्का दिएको बताइएको छ ।

यस प्रविधिका लागि यूएईले अर्बौं रकम खर्चेर अध्ययन तथा अनुसन्धान गरिरहेको थियो । सन् २०१७ मा संयुक्त राष्ट्र सङ्घको मौसमसँग सम्बन्धित सङ्गठनले ५० भन्दा बढी देशले हालसम्म क्लाउड सिडिङ गराइसकेको जनाएको थियो, जसमा अस्ट्रेलिया, जापान, इथियोपिया, जिम्बावे, चीन, अमेरिका र रुस समेत रहेका छन् । यहाँसम्म कि भारतले समेत यसको प्रयोग गरेको छ ।

प्रदूषणको मार झेलिरहेको चीन यसको अधिक प्रयोग गर्छ । सन् २००८ मा बेइजिङमा आयोजित ग्रीष्मकालीन ओलम्पिक खेल अघि चीनले पहिलो पटक क्लाउड सिडिङ प्रविधि प्रयोग गरेको थियो ।

त्यस्तै भारतले सन् १९८४ मा यसको पहिलो पटक प्रयोग गरेको थियो । त्यतिखेर तमिलनाडु भयङ्कर खडेरीको सामना गरिरहेको थियो ।

त्यसपछि तत्कालीन तमिलनाडु सरकारले १९८४-८७, १९९३-९४ को बीचमा क्लाउड सिडिङ प्रविधिको सहारा लिएको थियो । सन् २००३ र २००४ मा कर्नाटक सरकारले समेत क्लाउड सिडिङको प्रयोग गरेको थियो । सोही वर्ष महाराष्ट्र सरकारले समेत त्यसको सहयोग लिएको थियो ।

अहिलेसम्म क्लाउड सिडिङका नकारात्मक असरहरू देखिएका छैनन् । हुन त यूएईको घटनालाई नकारात्मक पक्षका रूपमा हेर्न सकिएला । तर, सो देशले ड्रेनेजको सिस्टम वर्षाको पानीले धान्न सकिने किसिमको बनाएपछि मात्र परीक्षण गर्न सक्थ्यो । त्यसलाई देशकै कमजोरीका रूपमा विज्ञहरूले औंलाएका छन् ।

त्यसको अलवा बादलमा खसाइने रसायनले पानीलाई प्रदूषित बनाउँछ कि भन्ने प्रश्न आउन सक्छ । तर, विज्ञहरूले त्यसमा रसायनको असर निकै कम हुने देखाएका छन् । यसको प्राकृतिक बेफाइदा के हुन सक्छ भने जुन ठाउँमा प्राकृतिक रूपमा वर्षा भइरहेको हुन्थ्यो त्यो ठाउँमा भने वर्षा नहुन सक्छ ।किनभने जुन बादल उडेर त्यस ठाउँको माथि पुगेर वर्षामा परिणत हुन्छ त्यो अन्त कतै परिणत हुँदा त्यस क्षेत्रमा बादल पुग्न सक्दैन । जसले गर्दा प्राकृतिक रूपमा कुनै क्षेत्रमा हुने वर्षा प्रभात हुन सक्छ ।

source: teachpana

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array