प्रा.डा.हरुको निश्कर्षः मार्क्सवाद नेपालको माटो सुहाउँदो सिद्धान्त होईन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ जेष्ठ २०८१, मंगलवार
4 Min Read
Aa

काठमाडौं, २८ जेठ । एक्टिभ एकेडेमीमा समाजशास्त्र एमए तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुद्वारा आयोजित ‘मार्क्सवादः नेपालको प्रसंगता’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । (सोमबार) रिपोर्टर्स क्लब नेपालमा उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । सो अन्तरक्रिया कार्यक्रममा प्रा.डा. विजय मिश्र र प्रा.डा. गोपीलाल न्यौपानेले नेपालमा मार्क्सवादको सान्दर्भिकतबारे आ–आफ्नो धारणा राखेका थिए ।
उक्त अन्तरक्रिया कार्यक्रममा प्रा.डा.विजय मिश्रले मार्क्सले भनेको कुराहरु नेपालको माटो सुहाउँदो नरहेको दाबी गरे । उनले मार्क्सले मजदुरहरु नै आन्दोलनमार्फत शासक बन्छन् भनेपनि नेपालको सन्दर्भमा त्यो लागू नभएको बताए । उनले नेपालमा जातीय आधारमा राजनीति भइरहेको पनि बताए ।
‘मार्क्सले जे कुरा भन्नुभएको थियो, नेपालको माटो सुहाउँदो भन्नुभएको थिएन । कार्क्सको घोषणापत्रको कुरा गर्नुहुन्छ भने द्वन्द्वात्मक भौतिकवादको कुरा आउँछ । मजदुरहरु हुन्छन् । मजदुरहरुलाई उद्योगपतिहरुले शोषण गर्छन् । मजदुरहरुले आन्दोलन गर्छन् । ती मजदुरहरु नै शासक हुन्छन् । सामान्य भाषामा त्यही हो । तर, नेपालको सन्दर्भमा यहाँ जातीय कुरा हुन्छ । जातको आधारमा राजनीति हुन्छ । मार्क्सले जातको कुरा कहीँ पनि गर्नुभएको छैन,’– उनले भने ।
मार्क्सवादले मजदुरहरुलाई शासक बनाउनुपर्छ भनेपनि अहिलेसम्म नेपालको सन्दर्भमा कोही मजदुरहरु शासक नबनेको उनको भनाइ छ । उनले लेलिनका केही कुरा भने नेपालको सन्दर्भमा मेल खाने बताए । प्रा.डा मिश्रले नेपालका माओवादीहरुले चीनको माओवादीको सिद्धान्तसमेत प्रयोग नगरेको बताए । उनले नेपालका नेताहरु मजदुर संगठनको सिँढी चढेर आफैं सत्तामा पुग्ने गरेको बताए । जातीय राजनीति हुने देशहरुमा मार्क्सको सिद्धान्त लागू हुन नसक्न उनको भनाइ छ ।
त्यसैगरी, प्रा.डा. गोपीलाल न्यौपानेले नेपालले गलत सिद्धान्तको अनुसरण गरेको बताए । नेपालले बाटो विराएको उनको भनाइ छ । पुँजीवादको अन्त्य हुन्छ भन्ने मार्क्सको सिद्धान्तलाई उनले ‘फेल भइसकेको डकुमेन्ट’ को संज्ञा दिए । उक्त सिद्धान्त नेपालको सन्दर्भमा उपयुक्त नरहेको उनको भनाइ छ ।
प्रा.डा न्यौपानेले नेपालमा पुँजीवाद अझै नआएको बताए । उनले नेपालमा मार्क्सको सिद्धान्त नै लागू नभएको दाबी गरे । उनले कांग्रेस नेताद्वय वीपी कोइराला र प्रदीप गिरीलाई मार्क्सवादी नेताको रुपमा चित्रण गर्दै एमाले र माओवादी मार्क्सवादी बन्न नसकेको बताए ।
वर्तमान सरकारले ल्याएको बजेटमा मार्क्सले भनेको जस्तो कुनै पनि कुरा नसमेटिएको उनको टिप्पणी छ । ‘साथीहरुलाई भ्रम छ, मार्क्सको सिद्धान्त यहाँ लागू भएको छैन । ३३ वर्षदेखि मार्क्सवादीहरु सत्तामा हुनुहुन्छ । वीपी पनि मार्क्सवादी नै हो, प्रदीप गिरी पनि मार्क्सवादी नै हो । मार्क्सवादी पार्टी माओवादी, एमाले छदैछन् ।’ उनले भने, ‘हिजोअस्ती आएको बजेट पनि ठूला क्रान्तिकारीको बजेट होईन ? गरिब, बेरोजगारी, अभावलाई सम्बोधन गर्ने किसिमको बजेट आएको छ र ? नेपाल आयल निगम र विद्युत प्राधिकरणले गर्ने नाफा म गरिबलाई दिन्छु कहाँनेर भनेको छ ?’

पुष्पलालमार्फत नेपालमा मार्क्सवाद भित्रिएको ७० वर्षमा कुनै पनि राम्रो गर्न नसकेको उनको निश्कर्ष छ । युरोपमा उठ्नै नसक्नेगरी थन्किएको कम्युनिष्ट पार्टी नेपालमा भने जागिरहेको उनले टिप्पणी गरे । ‘युरोपमा उठ्नै नसक्ने गरी थन्किएको कम्युनिष्ट पार्टी नेपाल जागेको छ । बिडम्बना यही नै हो । दुनियाँबाट लखेटिएको चिज किन नेपालमा यसरी फैलियो ? एमएका मेरा विद्यार्थीहरुले यसैमा रिसर्च गरुन् । तपाईँलाई लाग्नसक्छ चीनमा फैलिएको छ । चीन माओ विचारबाट गाइडेड भएको देश हो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array