वैदिक र वैज्ञानिक दृष्टिमा : सगोत्री र सपिण्डी विवाह ।

Sagarmatha Post
Sagarmatha Post २ मंसिर २०८२, मंगलवार
10 Min Read
Aa

नारायन घिमिरे(अथर्ववेदाचार्य)

काठमाण्डौं ।  हिन्दु समाजमा विवाह एक पवित्र संस्कार मानिन्छ। दुई व्यक्ति र परिवारलाई जोड्ने यो परम्परामा, विवाहका लागि योग्य र अयोग्य सम्बन्धहरू निर्धारण गर्न विभिन्न नियमहरू र प्रथाहरू विकसित भएका छ। त्यसमा सगोत्री विवाह (एउटै गोत्रमा विवाह) र सपिण्डी विवाह (एउटै पिण्ड अर्थात् शरीरको अंश) भएको नाता लाई नजिकको मान्दै विवाह (जस्तै मामाको छोरीसँग) निषेध छ। यी नियमहरू वैदिक / पौराणिक ग्रन्थहरू र आधुनिक विज्ञान दुवैको आधारमा उचित देखिन्छ। वेद, स्मृति र पुराणहरूमा उल्लिखित श्लोकहरू र आधुनिक विज्ञानका आनुवंशिक सिद्धान्तहरू बिच यस बारे सामञ्जस्यता भेटिन्छ।
गोत्र (Gotra) भनेको व्यक्ति कुन वैदिक ऋषिको प्रत्यक्ष पुरुष वंशजको हो त्यसको सूचना दिन्छ। पितृ वंशीय पहिचान दिने गोत्र को आधारमा एउटै गोत्रका सबै पुरुष सदस्यहरू एक साझा पुरुष पूर्वजबाट आएका हुन् भन्ने निधो हुन्छ। हिन्दु परम्परा अनुसार एउटै गोत्रका सदस्यहरू लाई भाइ-बहिनी मानिन्छ, र तिनीहरूबिच विवाह निषेध गरिएको छ। यसलाई गोत्र बहिर्विवाह (Gotra Exogamy) भनिन्छ। सपिण्डी (Sapinda) को शाब्दिक अर्थ “एउटै पिण्ड वा शरीरको अंश भएको” भन्ने हुन्छ। जसले व्यक्ति व्यक्ति बिचको रगतको सम्बन्धलाई जनाउँछ। धर्मशास्त्रहरूले सपिण्डी सम्बन्धमा विवाह गर्न कडा रूपमा निषेध गरेको देखिन्छ।
हिन्दु परम्परागत चलन लेखिएको ठानिने मनु स्मृतिमा विवाह वा मैथुनको लागि योग्य केटीको चयन कसरी गर्ने भनी उल्लेख भेटिन्छ।
मनु स्मृति ३.५ उल्लेख गर्दछ असपिण्डा च या मातुरसगोत्रा च या पितुः । सा प्रशस्ता द्विजातीनां दारकर्मणि मैथुने ॥ ५ ॥ जसको अर्थ हुन्छ “जो केटी आमाको सपिण्डी सम्बन्धकी होइनन् र पिताको गोत्रकी होइनन्, त्यही केटी द्विजातिहरू (दुई पटक जन्मिएकाहरू – जसको अर्थ हुन्छ भौतिक जन्म र ज्ञान प्राप्ति पछिको जन्म – ज्ञानी बने पछिकाहरुको लागि) विवाह र मैथुन प्रयोजनका लागि प्रशस्त (उत्तम) मानिन्छिन्।”
यो श्लोकले विवाहका लागि वा मैथुन कार्यका लागि चयन गरिने केटी आमाको तर्फबाट सपिण्डी हुनुहुँदैन। पिताको तर्फबाट सगोत्र हुनुहुँदैन भन्ने प्रस्ट गर्दछ। वृहस्पति स्मृतिले सपिण्डी सम्बन्धको सीमा निर्धारण गर्दै पिताको पक्षबाट सात पुस्ता र आमाको पक्षबाट पाँच पुस्ता सम्म विवाह गर्न उचित नहुने अवधारणा बनाएको छ। यसलाई स्पष्ट रूपमा सिफारिस गरेको छ। त्यसैले सनातन संस्कृतिमा कुनै पनि व्यक्तिले आफ्नो पिताको वंशमा सात पुस्ता र आमाको वंशमा पाँच पुस्ताभित्रका कुनै पनि नातेदारसँग विवाह नगर्न सल्लाह दिने गरिन्छ।
ऋग्वेदको दसौँ मण्डलमा पाइने यम-यमी संवाद (ऋग्वेद १०.१०) मा पिण्ड विवाह निषेधको सबैभन्दा पुरानो सन्दर्भ पाइन्छ। त्यहाँको संवादमा, यमीले आफ्नो जुम्ल्याहा भाइ यमसँग विवाह गर्न प्रस्ताव गर्छिन्। तर यमले यसलाई “अजामि” (incest) अर्थात् हाडनाता करणी युक्त अनाचार भन्दै अस्वीकार गर्छन्।
ऋग्वेद १०.१०.१० मा उल्लेख छ “आ घा ता गच्छानुत्तरा युगानि यत्र जामयः कृणवन्नजामि । उप बर्बृहि वृषभाय बाहुमन्यमिच्छस्व सुभगे पतिं मत् ॥ जसको अर्थ हुन्छ – यम भन्छन् “जब बहिनीहरूले आफ्नो भाइ नभएको व्यक्तिलाई पतिको रूपमा छान्नेछन् तव मात्र मानवको लागि सुरक्षित भविष्य युग हुने छ। त्यसैले, हे सुभगे, म होइन आफ्नो भाइ नभएको व्यक्तिलाई पतिको रूपमा आफ्नो अँगालो देऊ।” यो संवादले भाइ-बहिनी बिचको यौन सम्बन्धले मानव अस्तित्व लाई सङ्कटमा पुर्याइदिने अपराध कर्म हुने प्रस्ट गर्दछ। शास्त्रले अज्ञानता लाई पाप मान्दछ। दुर्व्यवहार लाई अपराध।
मामाको छोरीसँगको विवाह पनि नजिकको नाता सम्बन्ध (first-cousin marriage) भित्र पर्दछ। यद्यपि केही समुदायमा यो चलन प्रचलित भए तापनि, धेरै धर्मशास्त्रहरूले यसलाई निषेध गरेका छन्। वशिष्ठ धर्मशास्त्रमा मातृ काकाको छोरीसँग विवाह गर्ने व्यक्तिले चान्द्रायण प्रायश्चित गर्नुपर्ने उल्लेख छ। चान्द्रायण प्रायश्चित को अर्थ पाप कर्मको शुद्धि गर्नु र आफूमा आध्यात्मिक शुद्धि ल्याउनु हो। त्यसको अर्थ हुन्छ नजिकको नाता सम्बन्ध (first-cousin marriage) भित्रको विवाह वा यौन सम्पर्क मानवीयताको विपरीत रहेको गहिरो रहस्यको ज्ञान लिने र आफू त्यसमा प्रस्ट बनी त्यसलाई आफ्नो व्यवहारमा लागु गर्ने।
तोकिए बमोजिम नजिकको नातामा हुने विवाह वा यौन सम्पर्क कसरी मानव अस्तित्व लाई सङ्कटमा पुर्याइदिने अपराध कर्म भयो र सो सम्बन्धमा चान्द्रायण प्रायश्चित गरिनु पर्ने किन शास्त्रमा उल्लेख गरियो भन्ने प्राचीन शास्त्रहरूमा उल्लिखित निषेधहरू तथ्य आधुनिक आनुवंशिक विज्ञानका आश्चर्यजनक निष्कर्षहरू थाहा पाए पछि हामीलाई बुझ्न सहज भएको छ। नजिकको नाता र रगत सम्बन्धमा हुने विवाह (Consanguineous Marriage) सन्तानको स्वास्थ्यका लागि जोखिमपूर्ण हुने विज्ञानको अनुसन्धानको नतिजाले प्रस्टाएको छ। Consanguinity को अर्थ रगतको सम्बन्ध भएका व्यक्तिहरू बिचको विवाह हो।
प्रत्येक व्यक्तिले आफ्ना आमाबाबुबाट जीनको एक-एक प्रति प्राप्त गर्दछ। केही आनुवंशिक रोगहरू recessive (अप्रभावी) जीनका कारण विकास हुन्छ। अर्थात् त्यस्तो रोग लाग्नको लागि बच्चाले आमा र बाबु दुवैबाट सो रोगको जीन प्राप्त गर्नुपर्छ। नजिकका नातेदारहरूमा एउटै प्रकारको दुर्लभ र हानिकारक recessive gene हुने सम्भावना अधिक हुन्छ। त्यसैले, नजिकको नातामा हुने सम्पर्कले आउने बच्चामा आमा र बाबु दुवैबाट दुवैबाट recessive जीन प्राप्त हुने र सन्तान रोगग्रस्त हुने जोखिम बढ्छ। नजिकका नातेदारहरू (जस्तै, first cousins) बिच हुने विवाहमा सन्तानमा Autosomal Recessive Disorders (अप्रभावी जीनबाट हुने आनुवंशिक विकार) को जोखिम उल्लेखनीय रूपमा बढ्ने विज्ञान मार्फत यकिन भएको छ।
आनुवंशिक विज्ञानमा Coefficient of Inbreeding (F) एक महत्त्वपूर्ण मापदण्ड हो, जसले कुनै व्यक्तिमा दुवै आमाबाबुबाट एउटै पूर्वजबाट आएको जीन (identical by descent) हुने सम्भावनालाई सङ्ख्यात्मक रूपमा मापन गर्दछ। यो गुणाङ्क जति उच्च हुन्छ, सन्तानमा आनुवंशिक विकार र जन्मजात दोषहरू देखा पर्ने सम्भावना त्यति नै बढी हुन्छ।
जब First Cousins (अर्थात् मामा, फुपू, वा काकाका छोराछोरी) बिच विवाह हुन्छ, तब Coefficient of Inbreeding F = 1/16 अर्थात् 6.25% हुन्छ। यसको अर्थ यो हो कि यस्तो विवाहबाट जन्मेको बच्चामा कुनै पनि जीनको दुवै प्रति (alleles) एउटै हजुरबा वा हजुरआमाबाट आउने सम्भावना 6.25% हुन्छ। यो आनुवंशिक समानताको दृष्टिकोणबाट उच्च मानिन्छ, किनकि यसले हानिकारक recessive जीनहरू सन्तानमा प्रकट हुने जोखिम उल्लेखनीय रूपमा बढाउँछ। मामाको छोरी वा काकाको छोरीसँग विवाह यही श्रेणीमा पर्दछ र यसैले यो सबैभन्दा जोखिमपूर्ण मानिन्छ।
यदि सम्बन्ध अलि टाढा छ भने, जस्तै First Cousins Once Removed (अर्थात् आफ्नो first cousin को छोरा वा छोरी, वा आफ्नो आमाबाबुको first cousin), तब Coefficient of Inbreeding F = 1/32 अर्थात् 3.125% हुन्छ। यो first cousins को तुलनामा आधा हो, र आनुवंशिक समानता मध्यम स्तरको मानिन्छ। यस्तो सम्बन्धमा पनि जोखिम रहन्छ, तर first cousin विवाहको तुलनामा केही कम हुन्छ।
Second Cousins (अर्थात् आफ्नो हजुरबा-हजुरआमाको भाइ-बहिनीका नातिनातिना) बिचको विवाहमा Coefficient of Inbreeding F = 1/64 अर्थात् 1.56% मात्र हुन्छ। यो आनुवंशिक समानताको दृष्टिकोणबाट कम मानिन्छ, र यस्तो विवाहबाट आनुवंशिक विकारको जोखिम पनि तुलनात्मक रूपमा धेरै कम हुन्छ। धेरै समाजहरूमा second cousin विवाहलाई सामान्यतया स्वीकार्य मानिन्छ।
अन्तमा, असम्बन्धित व्यक्तिहरू (जो एक अर्काका कुनै पनि प्रकारको नजिकको नातेदार होइनन्) बिचको विवाहमा Coefficient of Inbreeding लगभग शून्य (~ 0) हुन्छ, अर्थात् 0% को नजिक। यस्तो विवाहमा आनुवंशिक समानता नगण्य हुन्छ र सन्तानमा आनुवंशिक विकारको जोखिम सबैभन्दा कम हुन्छ। यही कारणले गर्दा, वैदिक शास्त्रहरू र आधुनिक आनुवंशिक विज्ञान दुवैले असम्बन्धित व्यक्तिहरू बिचको विवाहलाई सबैभन्दा सुरक्षित र स्वस्थ सन्तानको लागि उत्तम मान्दछन्।
यसरी, Coefficient of Inbreeding ले हामीलाई विभिन्न प्रकारका नातेदार सम्बन्धहरूमा हुने विवाहको आनुवंशिक जोखिमलाई वैज्ञानिक रूपमा बुझ्न मद्दत गर्दछ, र यसले प्राचीन वैदिक नियमहरूको वैज्ञानिक आधारलाई पनि पुष्टि गर्दछ। Inbreeding Depression भन्नाले नजिकको रगत सम्बन्धमा प्रजनन हुँदा आनुवंशिक विविधतामा कमी आउनु र त्यसले गर्दा जनसङ्ख्याको समग्र जैविक फिटनेस (जस्तै, स्वास्थ्य, जीवन शक्ति, प्रजनन क्षमता) मा ह्रास आउनु हो। यसले हानिकारक जीनहरू जनसङ्ख्यामा फैलिन मद्दत गर्दछ र दीर्घकालीन रूपमा समुदायको आनुवंशिक स्वास्थ्यलाई कमजोर बनाउँछ।
विशिष्ट रोगहरूको सन्दर्भमा हेर्दा, पाकिस्तानमा गरिएको एक हालैको अध्ययन (Akhtar et al., 2025) ले first-cousin विवाहबाट जन्मेका बच्चाहरूमा β-thalassemia (थैलासेमिया) नामक रगतको गम्भीर आनुवंशिक रोगको व्यापकता ९६ प्रतिशतसम्म रहेको देखाएको छ। जुन एक अत्यन्त चिन्ताजनक तथ्याङ्क हो। त्यस्तै, Sickle Cell Disease (सिकल सेल रोग) को लागि पनि consanguinity लाई एक प्रमुख जोखिम कारक मानिन्छ (Rao et al., 2024)।
जन्मजात हृदय दोषहरू (Congenital Heart Defects) को सन्दर्भमा, Yunis et al. (2006) को अध्ययनले first-cousin विवाहबाट जन्मेका शिशुहरूमा यस्तो दोषको जोखिम १.८ गुणा बढी हुने देखाएको छ।
यसबाहेक, बौद्धिक अपाङ्गता (Intellectual Disabilities) भएका बच्चाहरूका आमाबाबुमा cousin marriage को दर उल्लेखनीय रूपमा उच्च रहेको पाइएको छ (Saad et al., 2014)। जसले मानसिक विकासमा पनि नजिकको नातामा विवाहको नकारात्मक प्रभाव रहेको पुष्टि गर्दछ।
यी सबै वैज्ञानिक अध्ययनहरूले एक स्पष्ट निष्कर्ष दिन्छन् कि नजिकको नातामा विवाहले सन्तानमा थैलासेमिया, सिकल सेल रोग, हृदय दोष, र बौद्धिक अपाङ्गता जस्ता गम्भीर र दीर्घकालीन स्वास्थ्य समस्याहरूको जोखिमलाई निकै बढाउँछ। यसैले यस्तो विवाहलाई मानव कल्याणको दृष्टिकोणबाट हानिकारक मानिनुपर्छ।
सनातन संस्कृतिको परम्परागत मान्यताको रूपमा स्थापित भएको व्यक्तिले आफ्नो पिताको वंशमा सात पुस्ता र आमाको वंशमा पाँच पुस्ताभित्रका कुनै पनि नातेदारसँग विवाह नगर्न र तिनीहरू बिच यौन सम्पर्क पनि कायम नगर्नु र गरेमा सन्तान लाई खती पुग्ने छ भन्ने सल्लाह लाई वैज्ञानिक सल्लाह ठानिनु पर्दछ।
अन्ततः, वैदिक ज्ञान र आधुनिक विज्ञान दुवै एउटै निष्कर्षमा पुग्छन्: सगोत्री र नजिकको नातामा विवाह मानव कल्याणको हितमा छैन। यी प्रथाहरूले भावी पुस्ताको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउँछन्। त्यसैले, स्वस्थ र सक्षम सन्तान सुनिश्चित गर्नका लागि यी प्राचीन नियमहरूको पालना गर्नु आज पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण छ।
Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्